कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्खाइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानकाे

दीपक परियार

लेखनाथ — पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा तीन चिजको चर्चा भयो– मैदान । खदिलो पिच, एकनासे आउटफिल्ड र आँखै अघि हिमालका लस्कर । पोखरा रंगशाला क्रिकेट मैदानको चर्चा सर्वत्र भयो । पहिलोपल्ट क्रिकेटको भव्य प्रतियोगिता सकिएपछि पोखराले देखेको सपना हो, अन्तर्राष्ट्रिय क्रिकेट मैदान ।

पर्खाइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानकाे

तीन महिनाको मिहिनेतले तयार भएको मैदान जोगाउने चिन्ता पनि सरोकारवालाले व्यक्त गरेका छन् । मैदानको व्यवस्थापन जिल्ला क्रिकेट संघ कास्कीले गरिरहेको छ । मैदानमा आवश्यक तारबार नहुँदा दिउँसै स्याल पसेर पिच बिगार्छन् । मर्निङ वाक, जगिङ गर्नेले आउटफिल्डको बेवास्ता गर्छन् । ससाना प्रतियोगिता र अभ्याससमेत मैदानमा हुने तर मर्मतसम्भार नहुने हुँदा संरक्षणको चिन्ता थपिएको हो ।

दर्श वर्षअघि नेपाल क्रिकेट संघ (क्यान) ले पोखरामा क्रिकेट स्टेडियम बनाउन तदारुकता देखाएको थियो । ७० रोपनी जमिनमा तारबार गरेर मैदान बनाउने काम भयो । मैदान बनाउन स्थानीय बासिन्दाबाट एक करोड रुपैयाँ जुट्यो । पाँच पिचसहितको मैदान तयार भयो । यद्यपि मैदानमा घरेलु प्रतियोगिताबाहेक अन्य ठूला इभेन्ट हुन सकेन । कारण, व्यवस्थित स्टेडियम नहुनु । नेपाली क्रिकेटले सफलता पाउँदै जाँदा पोखरामा स्टेडियम बनाउने बहसले पुन: प्रवेश पायो । यहाँका खेलप्रेमी, प्राविधिक र विज्ञले अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाएर ‘न्युट्रल भेन्यु’ को रूपमा विकास गर्नुपर्ने अवधारणा अघि सारे ।

पीपीएल आयोजना भएपछि पुन: अन्तर्राष्ट्रिय मैदान पोखरामा बनाउनुपर्ने बहस चलेको छ । त्यसको लागि पहिला मैदानलाई नै जोगाउनुपर्ने सरोकारवाला बताउँछन् । तत्कालीन क्रिकेट मैदान निर्माण समितिका संयोजक डा. वीरेन्द्रसिंह गुरुङ अब मैदानलाई तत्कालै गतिलो तारबारले घेर्नुपर्ने बताउँछन् । ‘मैदान बन्यो तर अब यसलाई कसरी जोगाइराख्ने भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘यसको दुरुपयोग हुन नदिन चनाखो हुनुपर्छ ।’

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा नेपालका मैदानमध्ये पोखराको पिच उत्कृष्ट भएको बताउँछन् । पीपीएलपछि यसलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको उनले जनाए । ‘जिल्ला क्रिकेट संघले यसलाई जोगाउन विशेष पहल गर्नुपर्छ,’ उनी भन्छन्, ‘यहाँको स्थानीय र प्रदेश सरकारसँग बसेर योजना बनाउनुपर्छ ।’ पेभेलियन, बाथरुमको व्यवस्था हुनसके भविष्यमा अन्तर्राष्ट्रिय र राष्ट्रिय खेल समेत पोखरामा हुन सक्ने उनले औंल्याए । मैदान व्यवस्थापन गर्न आºनै ग्रास कटर मेसिन, मोटर रोलर लगायतका सामग्री जुटाउन क्यान कास्की सक्रिय बन्नुपर्ने उनले सुझाए ।

पीपीएलअघि तारबार गरेर राखिएको मैदानमा फाट्टफुट्ट स्थानीयस्तरका प्रतियोगिता हुन्थे । म्याच हेर्ने दर्शकको उपस्थिति नगन्य थियो । तारबार जीर्ण हुँदै गयो । मैदानको मर्मतसम्भार हुन सकेन । पीपीएल आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आºनै खर्चमा मैदान मर्मत गर्‍यो । क्युरेटर प्रदीप राउत रातदिन मैदानमा खटिए । पिच र आउटफिल्ड दुवै उत्कृष्ट बन्यो ।

क्यान कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देल क्युरेटरलाई तलब दिएर राख्न सके मैदान जोगिने बताउँछन् । ‘हामीसँग अहिले कर्मचारीकै अभाव छ,’ उनी भन्छन्, ‘क्युरेटरसहित मैदानमा पानी हाल्ने, घाँस काट्ने, रेखदेख गर्ने कर्मचारी हुने हो भने मैदान जोगिन्छ ।’ साना, ठूला प्रतियोगिता भइरहे पनि मैदान व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । अन्तर्राष्ट्रियस्तरमो खेलाडीको सुरुक्षा व्यवस्थालाई महत्त्वका साथ हेरिने भएकोले मैदान छेक्ने गरी तारबार अत्यावश्यक भएको उनले बताए । उनका अनुसार क्यान कास्कीले विद्यालय र क्लबस्तरका क्रिकेट प्रतियोगिता नियमित आयोजना गर्नेछ । उनी भन्छन्, ‘पानी बग्न ढल बनाउने र बार बन्देज गर्ने हो भने अहिले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्छौं ।’

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का पोखराको मैदानले नै धेरै दर्शक तानेको स्विकार्छन् । ‘पोखरामा क्रिकेटले प्रवेश पाएको छ । राम्रो खालको प्रतियोगिता गर्ने हो भने भने दर्शक सपोर्ट गर्न आउँछन्,’ उनी भन्छन्, ‘दर्शकका लागि सुविधासम्पन्न ग्राउन्ड पनि बनाउन आवश्यक छ ।’ राष्ट्रिय टिमको बन्द प्रशिक्षण पोखरामा ल्याउने सम्भावना रहेको उनले उनले औंल्याए । भने, ‘पहल भइरहेको छ । सबैको आँखा खुलेको छ । आगामी दिनमा जसरी हुन्छ ग्राउन्डको संरक्षण गरेर यसलाई जोगाउन लाग्नैपर्छ ।’

त्यसो त पोखरा रंगशालामा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ४० लाख रुपैयाँ डीपीआरमा मात्रै छुटयाएको थियो । जिम्मा पाएको कन्सल्टेन्सीले ६ महिनाअघि नै राखेपलाई डीपीआर हस्तान्तरण गरिसकेको छ । डीपीआरमा २२ हजार दर्शक क्षमताको स्टेडियम बनाउन १ अर्ब ५६ करोड रुपैयाँको लागत अनुमान गरिएको छ ।

प्यारापिट, पेभिलियन, भूमिगत ढल

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल डीपीआर बने पनि बजेट विनियोजन नभएको बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षमा क्रिकेट मैदानलाई १० लाख रुपैयाँ मात्रै छुट्टिएको छ । खर्च गर्ने अख्तियारी समितिलाई आएकोले तिहारपछि उपभोक्ता समिति बनाएर मैदान संरक्षणमा लाग्ने उनले बताए । ‘अहिले तारबार वा स्थायी खालको शौचालय बनाउने हाम्रो सोच छ,’ उनले भने, ‘आवश्यकता हेरेर योजना बनाउँछौं ।’

गण्डकी प्रदेश सरकारले समेत पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन चासो देखाएको छ । आर्थिक वर्ष ०७५/७६ को बजेट, नीति तथा कार्यक्रममा क्रिकेट स्टेडियम बनाउने उल्लेख छ । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा निर्वाचित भएपछि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दा समेत ‘न्युट्रल भेन्यु’ को अवधारणालाई प्रमुखता दिएका थिए ।

यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेपछि पोखरालाई पनि विकल्पका रूपमा हेरिएको थियो । खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीको कार्यभार सम्हालेपछि पहिलोपल्ट पोखरा आउदा पोखरामा कुनै हालतमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने बताएका थिए । उनको गृहजिल्ला कास्की नै भएकोले पोखरा आउँदा क्रिकेट स्टेडियम बनाउने सन्दर्भ छुटाउँदैनन् ।

प्रकाशित : कार्तिक २२, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?