कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्पोरेट क्रिकेट मंसिर १० देखि

कान्तिपुर संवाददाता

काठमाडौँ — सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको पाँचौं संस्करण मंसिर १० गते देखि १५ सम्म आयोजना हुने भएको छ । एसएस इभेन्ट्स प्रालिको आयोजनामा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगितामा २४ टोलीले सहभागिता जनाउने अपेक्षा आयोजकको छ । 

एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन सिवाकोटीले अहिलेसम्म १७–१८ टोलीले प्रतियोगितामा सहभागिता निश्चित गरिसकेको र थप टोलीको छिट्टै टुंगो लगाउने जनाए । सहभागी २४ टोलीलाई ८ समूहमा विभाजन गरिने र प्रत्येक समूहका शीर्ष दुई टोली प्रिक्वार्टरफाइनलमा पुग्ने आयोजकले जनाएको छ ।


यस प्रतियोगितामा बैंक, वित्तीय संस्था, दूतावास, मिडिया हाउसले सहभागिता जनाउँदै आएका छन् । प्रतियोगितामा खेल्ने खेलाडी पनि त्यही संस्थामा आबद्ध हुने मात्र खेल्न पाउने प्रावधान छ । गत वर्ष सिभिल बैंकले आईसीएफसी फाइनान्सलाई पराजित गरी प्रतियोगिताको जितेको थियो । प्रतियोगिताको कुल बजेट ३२ लाख रहेको छ ।


‘क्रिकेटमा कर्पोरेट हाउसको उत्तरदायी कत्तिको छ भनेर सबैलाई थाहा नै छ । यो प्रतियोगिताले पनि क्रिकेटको कर्पोरेट हाउससँगको सम्बन्धलाई निरन्तरता दिने विश्वास छ,’ सिवाकोटीले आगामी दिनमा कलेज प्रतियोगिता पनि आयोजना गर्ने सोचाइ रहेको जनाए । राष्ट्रिय क्रिकेट खेलाडी सुवास खकुरेल एसएस इभेन्ट्सका सद्भाव दूत हुन् ।


प्रतियोगितालाई सेन्चुरी बैंकले प्रायोजन गर्दै आएको छ र त्यसलाई यो वर्ष पनि निरन्तरता दिन लागिएको बैंकका सहायक कार्यकारी प्रमुख जीवन भट्टराईले बताए । प्रमुख प्रायोजक भएबापत बैंकले आयोजकलाई ९ लाख प्रदान गरेको छ ।


नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र भलिबलकी महिला राष्ट्रिय खेलाडी प्रतिभा माली सेन्चुरीको सद्भावना दूत रहेको स्मरण गर्दै भट्टराईले क्रिकेटबाट भाइचारा सम्बन्ध कायम गर्न सहज हुने जनाए ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?