कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

इंग्ल्यान्डको प्रतिस्पर्धात्मक स्कोर

रोयटर्स

पल्लेकेले — साम क्युरानले ६ छक्का र जोस बटलरको आकर्षक ६३ रनको सहयोगमा इंग्ल्यान्डले माथिल्लो क्रमको ब्याटिङ धराशायी भए पनि श्रीलंकाविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङ्समा बुधबार २ सय ८५ रन बनाएको छ ।

इंग्ल्यान्डको प्रतिस्पर्धात्मक स्कोर

इंग्ल्यान्ड ८९–४ को स्थितिमा रहेपछि बटलरले इनिङ्स सम्हाले । र, त्यसपछि क्युरानले ६४ रन जोड्ने क्रममा ६ छक्का प्रहार गरेसँगै इंग्ल्यान्ड प्रतिस्पर्धात्मक स्कोरमा पुगेको थियो । जवाफमा श्रीलंकाले २६ रन जोड्ने क्रममा कौशल सिल्भालाई गुमायो । श्रीलंका दिनको समाप्तिमा २ सय ५९ रनले पछाडि छ । दिमुथ करुणारत्ने १९ रनमा ब्याटिङ गरिरहेका छन् भने अर्कोतर्फ १ रनमा मालिन्दा पुष्पकुमारा खेलिरहेका छन् ।


यसअघि इंग्ल्यान्डका कप्तान जो रुटले टस जित्दै अपेक्षाकृत रूपमा ब्याटिङ रोजेका थिए । पाहुना टिमले तीन टेस्टको शृंखलामा १–० ले अगाडि छ । गत साता गेलमा इंग्ल्यान्डले जित हात पारेको थियो । घरेलु स्पिनरले शीर्ष वरीयताका ब्याटसम्यानहरूलाई धराशायी पार्नुअघि कार्यवाहक कप्तान सुरंगा लकमलले क्रियटन जेनिङ्सलाई पाँचौं ओभरमा पिचबाट हटाएका थिए ।


पुरानै टिमलाई उतारेर पनि इंग्ल्यान्डको ब्याटिङ लाइनअप समस्यामा पर्‍यो । बेन स्टोक्स (१९ रन) ले तेस्रो नम्बरमा उक्लिनुलाई न्याय दिन सकेनन् । यी अलराउन्डर रिभ्यूमा बचेर पनि दिलरुवान परेराको एलबीडब्लु धरापमा परेका थिए । परेराले ६१ रन दिएर चार विकेट लिए ।


बाँया हाते स्पिनरविरुद्ध रुटको संघर्षसँगै इंग्ल्यान्डको संकट सुरु भएको थियो । यी कप्तानलाई गेलमा अन्तिम टेस्ट खेलेका रंगना हेराथले दुईपल्टै आउट गरेका थिए । उनी १४ रन जोडेपछि पुष्पकुमारा (३–८९) को बलमा असफल भएका थिए ।


रोरी बर्नले स्लिपमा क्याचआउट हुनुअघि ४३ रन बनाएका थिए । उनीसँगै इंग्ल्यान्डले लन्च ब्रेकअघि नै चार विकेट गुमाएको थियो । त्यसपछि आक्रामक देखिएका बटलरले बलिङमा शंकास्पद पाइए पनि खेल्न अनुमति दिइएका अकिला धनञ्जयविरुद्ध लगातार तीन चौका प्रहार गरे । उनी तीव्र गतिमा ६३ रनमा पुगेको बेला पुष्पकुमाराको बलमा रिभर्स स्वीप गर्ने क्रममा आउट भएका थिए ।


बेन फोक्स आफ्नो गेलको उत्कृष्ट प्रदर्शन दोहोर्‍याउन असफल रहे । उनी १९ रनमा समातिए । त्यसपछि क्युरानले ठूला सट प्रहार गर्दै पाँचौं छक्कासहित टेस्टमा तेस्रो अर्धशतक पूरा गरे । यी बायाँहाते ब्याटसम्यानले अन्तिम विकेटका लागि जेम्स एन्डरसनसँग ६० रनको साmभेदारी गरे, जुन इंग्ल्यान्डको इनिङ्समा ५० रन बढीको एकमात्र सहकार्य हो । उनी अन्तिम विकेटका रूपमा बाहिरिए ।


श्रीलंकाले टिममा दुई खेलाडी परिवर्तन गरेको छ । रंगना हेराथले सन्यास लिए भने नियमित कप्तान दिनेश चन्डिमल ग्रोइन इन्ज्युरीको कारण बाहिरिए । तीन टेस्टको शृंखला जोगाउने अभियानमा घरेलु टिमले पुष्पकुमारा र रोशन सिल्भालाई भित्र्यायो ।

प्रकाशित : कार्तिक २९, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?