कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टी–१० खेल्न उत्साहित सन्दीप

काठमाडौँ — क्रिकेटको पछिल्लो फर्म्याट टी–१० लिग खेल्न नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आइतबार दुवई प्रस्थान गर्दैछन् । टी–१० लिगमा सन्दिपले केरला किङसबाट खेल्दैछन् । केही समयअघि भएको अक्सनमा केरलाले उनलाई ३० हजार डलरमा अनुबन्धित गरेको थियो । 

टी–१० खेल्न उत्साहित सन्दीप

विश्व क्रिकेटका हस्तीसाग क्रिकेट खेलेको अनुभव त उनीसँग छ तर, एक वर्षअघि देखि सुरु भएको क्रिकेटको सबैभन्दा छोटो संस्करण उनले अहिलेसम्म खेलेका छैनन् । ‘क्रिकेटको नयाँ र छोटो फम्र्याटमा पहिलो पटक खेल्दैछु, एउटा उत्साह छ र सँगसँगै चुनौति पनि,’ सन्दिपले भने, ‘२ ओभर बलिङ गर्न पाइन्छ, त्यसैले हरेक ओभर डेथ ओभर हुनेछ ।’


सन्दिपले विश्वस्तरीय खेलाडीसँग खेल्दा हरेक पटक शून्यबाट सुरु गर्ने बताए । टी–१० लिगमा पनि उनको टोली केरलाबाट इयोन मोर्गन मार्की खेलाडी तथा कप्तानको रुपमा छन् भने क्रिस गेल, केरोन पोलार्ड, उपुल थारंगा, वायन पार्नेल लगायतका खेलाडी छन् । केरला गत संस्करणको च्याम्पियन पनि हो । सन्दिपले गएको अक्टोबरमा युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए । नान्ग्राहर लियोपार्डका लागि लिगमा मात्र एक खेल खेल्न पाए । इण्डियन प्रिमियर लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले हालै सन्दिपलाई ‘रिटेन’ गरेको छ ।


गत वर्ष नेपालबाट आईपीएल खेल्ने पहिलो क्रिकेटर बनेका सन्दिपले दिल्ली डेयरडेभिल्सबाट न्यूनतम मूल्य २० लाख भारु पाएका थिए । यस सिजन पनि दिल्लीमै रहने भएपछि उनको मूल्य बढ्ने अनुमान गरिएको छ । यद्यपी यसबारे आफूले औपचारिक जानकारी नपाएको सन्दिपले बताए । सन्दिपले भने, ‘सायद रिटेन गरिएका खेलाडीको नयाँ सम्झौता पनि नयाँ सिजनका लागि अक्सन सकिएपछि हुनेछ, क्लवको कोचिङ स्टाफ पनि परिवर्तन हुँदैछ भन्ने सुनेको छु ।’


नोभेम्बर २१ देखि डिसेम्बर २ सम्म हुने दोस्रो संस्करणको टी–१० लिगमा अघिल्लो संस्करणमा भन्दा दुई थपेर ८ फ्रेन्चाइजी टोली छन् । केरला किङस, मराठा अरेवियन्स, पाख्तून्स, पञ्जावी लेजेण्ड्स, करााचियन्स, नर्दन वारियर्स, राजपूत्स र बंगाल टाइगर्स छन् । सन्दिपको टोलीले पहिलो खेल पाख्तून्सबिरुद्ध खेल्नेछ । प्रतियोगिताका खेलहरु शारजाँह क्रिकेट रंगशालामा हुनेछ ।


डिसेम्बर ३ मा नेपाल फर्किएपछि सन्दिप यो वर्षभरि नै व्यस्त हुनेछन् । सन्दिपले ललितपुर प्याट्रियट्सबाट एभरेष्ट प्रिमियर लिग खेल्नेछन् । त्यसलगत्तै बिग ब्यास लिगका लागि उनी अष्ट्रेलिया प्रस्थान गर्नेछन् । सन् २०१९ को जनवरी ५ मा बंगलादेश प्रिमियर लिगका लागि ढाका आउनेछन् । प्रतियोगिता सकाएर पुन: अष्ट्रेलिया जानेछन् ।

पाकिस्तान प्रिमियर लिगको अक्सन मंगलबार हुादैछ । अक्सनबाट छनोट भएमा उनी बिगब्यास पछि पाकिस्तान प्रिमियर लिगका लागि दुवई जानेछन् । त्यसो नभएमा उनी आईपीएलका लागि व्यस्त हुनेछन् ।


शुट द्‌याट फिट्ससँग प्रायोजन सम्झौता


सन्दिप नेपाली खेलकुदकै सबैभन्दा ठूलो ‘ब्राण्ड’ मध्येका एक हुन् । गत वर्षको आईपीएलमा दिल्लीबाट डेब्यू गरेयता विश्वभरका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेपछि चर्चासागै उनको मूल्य पनि बढेको छ । टी–१० लिग खेल्न जानुअघि सन्दिप शुट द्याट फिट्सको ब्राण्ड एम्बासडर बनेका छन् । शुट द्याट फिट्सका सीईओ ओमभक्त योगीले नेपाललाई विश्व क्रिकेटमा स्थापित गर्न सक्षम भएकोमा प्रोत्साहनस्वरुप ब्राण्ड एम्बासडर बनाइएको जानकारी दिए ।


सम्झौता पाँच वर्षको हुनेछ । तर, सम्झौताको सर्तहरु भने गोप्य राखिएको छ । सम्झौतापछि सन्दिपले यस्तो सम्मान र प्रोत्साहनले अझै राम्रो गर्न हौसला मिलेको भन्दै भविश्यमा अन्य नेपाली क्रिकेटरसँग पनि यस्तो सम्झौता हुने आशा व्यक्त गरे ।


प्रकाशित : मंसिर १, २०७५ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?