कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोड्रिचलाई बालोन डी’अर : मेसी र रोनाल्डोको राज तोडियो

एएफपी

पेरिस — आयोजक फ्रान्सका विश्व विजेता टोलीका स्टार खेलाडीलाई पछाडि पार्दै रियल म्याड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोड्रिचले सोमबार बालोन डी’अर–२०१८ अवार्ड जितेका छन् । जसले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको १० वर्षे साम्राज्य तोडिदिएको छ ।

मोड्रिचलाई बालोन डी’अर : मेसी र रोनाल्डोको राज तोडियो

३३ वर्षीय मोड्रिचलाई फ्रान्समा आयोजित विशेष समारोहमा प्रतिष्ठित अवार्ड विजेताका रूपमा घोषणा गरियो । रोनाल्डो दोस्रो स्थानमा रहे भने फ्रान्स र एट्लेटिको म्याड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजमन तेस्रो बने ।


पेरिस सेन्ट जर्मेनका किशोर स्ट्राइकर केलियन एमबाप्पे चौथो स्थानमा रहँदा मेसी पाँचौं स्थानमा रहे । अर्का एक फ्रान्सेली तथा मोड्रिचका टिम सहकर्मी राफेल भारोन लिभरपुल तथा मिश्रका स्ट्राइकर मोहम्मद सलाहभन्दा पछि सातौं स्थानमा रहेका थिए ।


‘एक बच्चाको रूपमा हामी सबैसँग सपना हुन्छ । मेरो सपना एउटा ठूलो क्लबका लागि खेल्नु थियो र महत्त्वपूर्ण ट्रफी जित्नु थियो,’ मोड्रिचले भने ‘बालोन डी’अर मेरा लागि एक सपनाभन्दा माथि थियो र यो ट्रफी बोक्न पाउनुमा मैले आफूलाई धन्य महसुस गरेको छ ।’


एमबाप्पे । उनी अर्को महिनाको अन्त्यमा २० वर्ष लाग्दै छन् । उनले सर्वश्रेष्ठ युवा खेलाडीका रूपमा कोपा ट्रफी जिते । यो समारोहले पहिलोपल्ट वुमन्स बालोन डी’अर पनि घोषणा गर्‍यो । ओलम्पिक लियोन्स तथा नर्वेकी स्ट्राइकर एडा हेगरबर्ग यो अवार्डको हकदार बनिन् ।


सन् २००६ मा फाबियो कानाभारो (३३) पछि बेलोन डी’अर पाउने पाका खेलाडी बनेका मोड्रिचले गएको सिजन रियल म्याड्रिडका लागि च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने क्रोएसियालाई विश्वकपको फाइनल पुर्‍याउन निर्णायक भूमिका खेलेका थिए । जुलाईमा क्रोएसियाले फ्रान्ससँग मस्कोमा ४–२ गोलको पराजय बेहोरेर विश्वकप ट्रफी गुमाएको थियो ।

मोड्रिचले विश्वकपमा गोल्डेन बलपछि सिजनका लागि यूईएफए प्लेयर अफ द इयर तथा सेप्टेम्बरमा फिफा बेस्ट प्लेयरको अवार्ड जितेका थिए ।


फ्रान्सेली फुटबल म्यागजिनद्वारा प्रदान गरिने बेलोन डी’अरमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोसहित अन्तिम मनोनयनमा परेका ३० खेलाडीलाई विश्वभरका १ सय ८० पत्रकारले मतदान गरेका थिए । मोड्रिचसँगै रियल म्याड्रिडका लागि च्याम्पियन्स लिग जितेका रोनाल्डो र बार्सिलोनाका लागि मेसीले उत्कृष्ट सिजन गुजारेका थिए । यो जोडीले पछिल्लो दशकमा ५–५ पटक यो पुरस्कार जितेका छन् । तर दुवै ३० को उमेरमा छन् अनि विश्वकपमा आफ्नो अधिकार सुरक्षित गर्न चुकेका थिए ।


पछिल्लो पटक फ्रान्सेली फुटबलरले बालोन डी’अर जितेको सन् १९९८ मा हो । जतिबेला फ्रान्सलाई विश्व विजेता बनाएवापत जिनेदिन जिदान यो अवार्डको हकदार बनेका थिए । तर, सम्भवत: एकभन्दा बढी फ्रान्सेली दाबेदार खेलाडीका कारण यस वर्षको अवार्ड मोड्रिचका लागि सहज भयो । गोलरक्षक ह्युगो लोरिस, पाउल पोग्बा र एनगोलो कान्टे पनि यो अवार्डको दौडमा थिए । विश्वकपका सर्वाधिक गोलकर्ता इंग्ल्यान्डका ह्यारी केन पनि दौडमा सामेल थिए ।


‘मैले युरोपा लिग र विश्वकप जितेको थिएँ । त्यसैले यो मेरा लागि उत्कृष्ट वर्ष हो । तर, यो सत्य यो पनि हो कि म यो अवार्डको हकदारका लागि केही पछि भएँ,’ ग्रिजमनले भने ।


सन् २०१२ मा रियल म्याड्रिडमा अनुबन्ध भएयता मोड्रिचले चार च्याम्पियन्स लिगसहित १४ ट्रफी जितेका छन् । यसै महिनाको अन्त्यमा हुने क्लब विश्वकप जितेमा मोड्रिचले निकट भविष्यमै अर्को उपाधि थप्नेछन् ।


२३ वर्षीया हेगरबर्गले फ्रान्सेली क्लब लियोन्सका लागि च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । साथै घरेलु लिगमा लियोन्सलाई लगातार १२ औं पटक विजेता बनाएकी थिइन् ।


‘हाम्रा प्रशिक्षक र हाम्रा अध्यक्ष जिन मिचेल ओउलाससँगै म आफ्नो सहकर्मीलाई सम्झन चाहन्छु, किनभने उनीहरूबिना यो सम्भव हुँदैनथ्यो,’ उनले भनिन्, ‘म फ्रान्स फुटबललाई पनि धन्यवाद दिन चाहन्छु । यो महिला फुटबलका लागि ठूलो कदम हो ।’


प्रकाशित : मंसिर १९, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?