कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मछिन्द्र अझै गोलविहीन

राजु घिसिङ

काठमाडौँ — पछिल्लोपल्ट २०७० सालमा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र उपविजेता भएको थियो । स्वीडिस प्रशिक्षक योहान कालिनले सम्हालेको मछिन्द्र उपाधि होडमा मनाङसँग एक अंकले मात्र पछाडि परेको थियो ।

मछिन्द्र अझै गोलविहीन

साढे चार दशक पुरानो क्लबको माथिल्लो डिभिजनको लिगमा त्यो नै सबैभन्दा राम्रो नतिजा हो । उसले त्यस लयलाई निरन्तरता दिने अपेक्षा गरिएको थियो । तर, ५ वर्षपछि आयोजित उपत्यकाको ए डिभिजन लिगमा मछिन्द्रको प्रदर्शन अनपेक्षित रहेको छ । अझ भनौं, लाजमर्दो । उसले आठौं चरण समाप्तिसम्म गोलको खाता पनि खोलेको छैन । गोल नगरेपछि खेल जित्ने त कुरै भएन ।


‘क्लबले शतप्रतिशत दिइरहेको छ । खेलाडीले पनि मिहिनेत गरिरहेका छन् । सुटिङ (पोस्टमा आक्रमण) पनि भइरहेको छ । किन हो गोल भने भएको छैन । यसलाई हाम्रै गल्ती मान्नुपर्छ,’ हल्चोकमा शनिबार थ्रीस्टारविरुद्ध १–० ले पराजित भएपछि मछिन्द्रका प्रशिक्षक निशान श्रेष्ठले भने ।


२१ वर्षे उनले तीन खेलयताले मुख्य प्रशिक्षक धनेश्वर प्रजापतीको स्थान लिएका हुन् । तर, उनी ‘कम्तीमा एएफसी बी लाइन्सेन्सवाला प्रशिक्षक हुनैपर्ने’ लिगको नियमानुसार भने टिम हाँक्न अयोग्य छन् । किनभने उनले प्रशिक्षक लाइसेन्स लिएका छैनन् ।


‘कोचिङ कोर्स लिग बाँकी छ,’ समाज कल्याणबाट चार सिजन सी डिभिजन लिग खेलेको बताउने श्रेष्ठले भने, ‘अर्को कोच नभएपछि मछिन्द्रको हेड कोच मै हो ।’ यसबारे मछिन्द्र क्लबका अध्यक्ष प्रबोधवीर कंसाकारले भने, ‘पुराना (धनेश्वर) ले फुर्सद छैन भनेपछि समझदारीमा नयाँ प्रशिक्षक ल्याइएको हो । उनी फेरि आउँछन् होला । निशान झन्डै झन्डै कार्यवाहक हुन् ।’


ए डिभिजन लिगको इतिहासमै आठ खेलसम्म गोल गर्न नसक्ने दुर्लभ टिम बनेको छ, मछिन्द्र । यो लिगका १४ क्लबमध्ये मछिन्द्र र वार्षिक करोड रुपैयाँ बढी आम्दानी भएको एनआरटीले मात्रै कुनै पनि खेल जित्न सकेको छैन । रेलिगेसन नहुने लिगको फाइदा उनीहरूले लिएको हुनसक्छ ।


मछिन्द्रले लिगमा आर्मी, एपीएफ, एनआरटी, जावलाखेल र सरस्वतीविरुद्ध खेल्न बाँकी छ । तर, मछिन्द्रका अध्यक्ष कंसाकार राम्रै टिम बनाएको दाबी गर्छन् । ‘टिम त राम्रो छ,’ उनले भने, ‘जाली हल्लिनुपर्‍यो तर हामीले हल्लाउन सकेको छैन । टिम राम्रो भएरमात्र हुँदैन रहेछ । अरु हिसाबले ठीकै छौंजस्तो लाग्छ ।’ उनले थपे, ‘हाम्रो टिमको गेम हेर्दा राम्रो छ तर रिजल्ट आएको छैन । लिगमा स्ट्राइकर कमजोर देखिएको छ, त्यसमध्ये मछिन्द्रको झनै कमजोर । हाम्रो टिमले चाहिने कुरा (गोल) गर्न सकेन ।’


उनका अनुसार तीन अफ्रिकीसहित २६ खेलाडीका लागि क्लबले ५० लाख रुपैयाँ बढी लगानी गरेको छ । त्यसमध्ये २० लाख अखिल नेपाल फुटबल संघ (एन्फा) र ९ लाख ५० हजार काठमाडौं महानगरले उपलब्ध गराएका हुन् ।


सरसर्ती खेलाडीलाई हेर्ने हो भने मछिन्द्रको टिमलाई त्यस्तो कमजोर भन्ने अवस्था छैन । विशाल राई (ए), खामिर गिल्सन कन्दङा, सौरभ मगर, सन्जय राजवाहकलगायत घरेलु फुटबलमा राम्रै छाप छासिकेका खेलाडी पनि मछिन्द्रमा रहेका छन् । तर, नतिजा भने गोल र जितिविहीन यात्रामै दौडिरहेको छ ।


पहिलोपल्ट ए डिभिजन लिमा सहभागी च्यासलससहित जावलाखेल र सरस्वती युवा क्लबले गोलविहिन यात्रा तेस्रो चरणमै टुंग्याएका थिए । सुरुका दुई खेलमा च्यासल र पुलिसविरुद्ध अंक लिएर पनि मछिन्द्रले अहिलेसम्म गोल गर्न सकेको छैन । ब्रिगेड ब्वाइजसँग पनि अंक बाँडेको मछिन्द्र ३ अंकसहित पुछारबाट दोस्रोमा छ ।


रन्जितको सातौं गोल

रन्जित धिमाल थ्रीस्टारका डिफेन्डर हुन् । र, यो लिगका सर्वाधिक गोलकर्ता पनि । उनले पेनाल्टीमा गोल गरेपछि थ्रीस्टारले मछिन्द्रलाई १–० ले हराएर शीर्षस्थानको मनाङसँगको दुरी ३ अंकमा छोटयायो ।


उनले ११ औं मिनेटमा गोल गरे । यो उनको सातौं गोल हो र त्यसमध्ये पेनाल्टीमा गरेको छैटौं । त्यसमा पेनाल्टी दिने रेफ्रीको निर्णयप्रति भने मछिन्द्रका प्रशिक्षक निशान श्रेष्ठले आपत्ति जनाए ।


दिनको पहिलो खेलमा च्यासलले ब्रिगेड ब्वइजलाई २–० ले हरायो । शन्तबहादुर गुरुङ र सन्जोक राईले दोस्रो हाफमा गोल गरे । आठौं चरण समाप्तिमा मनाङ (२४), संकटा (२१), थ्रीस्टार (२१), आर्मी (१७) र पुलिस (१४) शीर्ष पाँचभित्र छन् । च्यासलले १३, हिमालयन शेर्पाले ११, एपीएफले १०, सरस्वतीले ९, जावलाखेलले ७, फ्रेन्ड्सले ५, ब्रिगेड ब्वाइजले ४, मछिन्द्रले ३ र एनरआटीले १ अंक जोडेका छन् ।


जारी लिगमा मछिन्द्र

गोल प्रतिद्वन्द्वी

०–० च्यासल

०–० पुलिस

०–२ संकटा

०–२ हिमालयन शेर्पा

०–३ फ्रेन्ड्स

०–० ब्रिगेड ब्वाइज

०–१ मनाङ

०–१ थ्रीस्टार

प्रकाशित : पुस १, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?