कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिग भलिबल प्रतियोगिता: विभागीयको विजयी सुरुआत

दीपक परियार

लेखनाथ — चौथो आरबीबी एनभीए राष्ट्रिय पुरुष क्लब स्तरीय लिग भलिबल प्रतियोगितामा विभागीय टिमले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेल भए । 

लिग भलिबल प्रतियोगिता: विभागीयको विजयी सुरुआत

साबिक विजेता त्रिभुवन आर्मी क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा पराजित गर्‍यो । आर्मीले जावलाखेललाई २५–१९, २५–१५ र २५–११ को सेटमा पराजित गर्दै तीन अङ्क जोड्यो ।


उपाधिको दाबेदार मानिएको हेल्प नेपाल स्पोटर्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौंलाई ३–१ को सेटले पराजित गर्‍यो । भारतीय खेलाडीलाई प्लेइङ सेटमा उतारेपनि समन्वयको अभावले हेल्प नेपालले २५–१८, १७–२५, २७–२५ र २५–१४ ले जीत निकाल्दै तीन अङ्क जोड्न सफल भएको छ । अर्को खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई सोझो सेटमै पराजित गर्‍यो । पुलिसले २५–२०, २५–१२ र २५–२१ ले हराउँदै तीन अङ्क बटुल्न सफल भयो ।


आइतबारको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नयाँ बजार स्पोर्ट्स क्लब काठमाडांैलाई सोझो सेटमा पराजित गर्दै तीन अङ्क जोड्यो । एपीएफले नयाँबजारलाई २५–२०, २५–१२ र २५–२१ को सेटले पराजित गर्‍यो । प्रतियोगितामा सोमबार ५ खेल हुनेछन् ।


नेपाल भलिबल सङ्घको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रस्थित कोर्टमा सुरु भएको प्रतियोगितालाई मुख्य प्रायोजक नेपाल राष्ट्रिय वाणिज्य बैङ्कका अध्यक्ष मेहन्द्रमान गुरुङले उद्घाटन गरेका थिए । क्लबस्तरीय भलिबल लिग पहिलोपल्ट काठमाडौँ बाहिर भएको हो ।


प्रतियोगितामा चौथो एनभीए राष्ट्रिय च्याम्पिएनसिपमा सहभागी १२ मध्ये उत्कृष्ट ८ भित्र पर्न सफल टिमले प्रतिस्पर्धा गरेका छन् । पुस ७ सम्म हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा खेलाइएको छ ।


प्रतियोगिता संयोजक राजकुमार गुरुङका अनुसार विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पाउनेछन् । तेस्रो र चौथो हुनेले ५० र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र प्रशिक्षकले जनही ५–५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित : पुस १, २०७५ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?