कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन इंग्लिसविरुद्ध तीन जर्मन क्लब

एपी

नियोन, स्वीट्जरल्यान्ड — फुटबलको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वी इंग्ल्यान्ड र जर्मन क्लबका ३–३ टोली यसपल्ट युरोपियन च्याम्पियन्स लिगको अन्तिम–१६ मा प्रतिस्पर्धा गर्दैछन् ।

तीन इंग्लिसविरुद्ध तीन जर्मन क्लब

सोमबार यूईएफएको हेडक्वार्टरमा गरिएको अन्तिम–१६ को ‘ड्र’ मा पाँचपल्टका विजेता लिभरपुल र बायर्न म्युनिख आमने सामने हुँदैछन् भने म्यानचेस्टर सिटीले साल्के र टोटेनहमले बुन्डेसलिगाको शीर्ष टोली बोरुसिया डर्टमन्डसँग खेल्नेछन् ।


‘वास्तवमै हाम्रा लागि कठिन हुनेछ । बायर्न शीर्ष टोली हो,’ लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भने, ‘मेरा लागि चाहिँ राम्रै हो, जोसँग म परिचित छु ।’ सन् २०१३ को फाइनलमा क्लोपले सम्हालेको डर्टमन्ड, बायर्नसँग पराजित भएको थियो ।


यो सिजन बायर्न बुन्डेसलिगाको तेस्रो स्थानमा छ । जबकि लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा छ । बायर्नका पूर्व विंगर जार्डन साकिरीले २ गोल गरेपछि आइतबार राति लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई २–० ले हराएको थियो ।


लिभरपुल र बायर्नबीच च्याम्पियन्स लिगको पहिलो लेग एनफिल्डमा फेब्रुअरी १९ मा हुनेछ भने मार्च १३ मा म्युनिखमा दोस्रो लेग हुनेछ ।


सन् १९५५ मा प्रतियोगिता सुरु भएपछि पहिलोपल्ट नौ पूर्व च्याम्पियन टोली अन्तिम १६ को ड्रमा सामेल थिए । ९ टोलीले ४० पटक युरोपियन क्लब फुटबलको उपाधि जितेका छन् ।


डिफेन्डिङ च्याम्पियन रियल म्यड्रिडले तीनपल्टको विजेता अजाक्ससँग प्रतिस्पर्धा गर्नेछ । म्याड्रिड र अजाक्सले ६३ संस्करणमध्ये १७ पटक उपाधि जितेका छन् । तर, अहिलेसम्म यी दुई टोली फाइनल भिडेका छैनन् ।


पहिलोपल्ट उपाधि जित्ने अभियानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले तीनपल्टको च्याम्पियन म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । उनीहरूबीच पहिलो लेग फेब्रुअरी १२ मा ओल्ड ट्राफोर्डमा हुनेछ । फ्रान्सेली लिग लिडर पीएसजी भने लिभरपुल र नेपोलीसम्मिलित सबैभन्दा कठिन समूहको विजेता भन्दै भाग्यवश नकआउट चरणमा पुगेको हो ।


‘ड्र’ पछि म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी डेनिस इर्विनले यूईएफए हेडक्वार्टरबाट भने, ‘यो समयमा हामीले राम्रो खेलिरहेका छैनौं । तर, हामीसँग त्यस्ता महान् खेलाडी र प्रशिक्षक छन्, जसलाई खेल कसरी जित्नुपर्छ थाहा छ र प्रतियोगिता कसरी जित्नुपर्छ पनि थाहा छ ।’


अन्य खेलमा बार्सिलोनाले लियोनसँग खेल्नेछ । सिरी ए मा अगाडि रहेको युभेन्टसले एट्लेटिको म्याड्रिड र एफसी पोर्टोले रोमासँग खेल्नेछ ।


च्याम्पियन्स लिगमा अहिलेसम्म उपाधि जित्न नसकेको म्यानचेस्टर सिटीले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी पाएको छ । बुन्डेसलिगामा साल्के १३ औं स्थानमा छ ।


रियल म्याड्रिड छाडेको केही महिनापछि नै एट्लेटिकोविरुद्ध खेल्न क्रिस्टियानो रोनाल्डो स्पेनिस राजधानी फर्कंर्दै छन् । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा जुन १ मा च्याम्पियन्स लिग फाइनल हुनेछ ।


अन्तिम–१६ को पहिलो लेग फेब्रुअरी १२ देखि २० सम्म र दोस्रो लेग मार्च ५ देखि १३ सम्म खेलाइने छ । च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो भएका ८ टोली युरोपा लिगको ड्रमा समावेश छन् ।


नेपोली र इन्टर मिलान क्रमश: जुरिच र र्‍यापिड भिएनाको सामना गर्न छिमेकी देशका लागि इटालीको सीमा पार गर्नुपर्नेछ । बेल बेरिभोभसँग खेल्न आर्सनल बेलारुस भ्रमणमा निस्कने छ । सन् २०१३ को च्याम्पियन चेल्सीले माल्मोसँग प्रतिस्पर्धा गर्दा साबिक विजेता सेभियाको लाजियोसँग हुनेछ ।


त्यस्तै रेन्नेसले रियल बेटिस, भिक्टोरिया प्लाजेनले डिनामो जाग्रेब, क्लब वर्गले साल्जबर्ग, सिल्भिया प्रागले जेन्क, क्रास्नोडरले बायर लेभरकुसन, शाख्तर डोनेस्कले फ्य्रांकफर्ट, सेल्टिकले भ्यालेन्सिया, ओलम्पियाकोसले डिनामो किभ, फेनरवाचले जेनिट सेन्ट पिटर्सबर्ग, स्पोर्टिङ लिस्बोनले भिल्लारियल र गालाटासारेले बेन्फिकासँग खेल्दैछन् ।


युरोपा लिग अन्तिम–३२ को पहिलो लेग सन् २०१९ को फेब्रुअरी १४ र दोस्रो लेग फेब्रुअरी १९ मा हुनेछ ।

प्रकाशित : पुस ३, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?