कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङको शतप्रतिशत जित

काठमाडौँ — ओलावाले आफिजले एक गोल र दुई गोललाई अवसर सिर्जना गरेपछि मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार च्यासल युथ क्लबलाई ३–१ गोलले पराजित गरेको छ ।

मनाङको शतप्रतिशत जित

यो जितसँगै मनाङले जारी लिगमा आफ्नो शतप्रतिशत जित यात्रा कायम राखेको छ । ९ खेलबाट उसको अधिकतम २७ अंक भएको छ । दोस्रो स्थानको संकटासँग ३ अंक कम छ ।

एडेलाजा सोमिड, आफिज र विमल रानाले मनाङका लागि गोल गरे । देवेन्द्र तामाङले खेलको अन्तिम समयतिर सान्त्वना गोल फर्काएका थिए । च्यासल ९ खेलबाट १३ अंकसहित लिगको सातौं स्थानमा छ ।

खेलको १६ औं मिनेटमा आफिजको पास सदुपयोग गरी सोमिडले मनाङलाई १–० को अग्रता दिलाएका थिए । मनाङलाई अग्रता दोब्बर पार्न अरु १ घण्टा पर्खनुपर्‍यो । ७२ औं मिनेटमा अशोक बरालको पासमा आफिजले च्यासलका गोलरक्षक दिनेश थापामगरलाई बिट गरी गोल गरेका थिए ।

त्यसको दुई मिनेटपछि विमलले मनाङको लगातार नवौं जितका लागि तेस्रो तथा निर्णायक गोल गरे । अफिजको पास सदुपयोग गरेका विमलले गोलरक्षक दिनेश बिट भएपछि खाली पोस्टमा गोल गरेका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा च्यासलका लागि देवेन्द्र तामाङले पेनाल्टीमा गोल गरेका थिए । मोहम्मद आशिफले बक्सभित्र हयान्ड गरेपछि च्यासलले पेनाल्टी पाएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै भएको मंगलबारको पहिलो खेलमा एपीएफले मछिन्द्र क्लबलाई ३–१ ले पराजित गरेको थियो । जितपछि एपीएफ १३ अंकसहित लिगको आठौं स्थानमा छ । एपीएफ गोलअन्तरका आधारमा च्यासलभन्दा पछि रह्यो ।

लिगमा अहिलेसम्म जितविहीन मछिन्द्र ३ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । यद्यपि मछिन्द्रले लिगको नवौं चरणमा विपक्षी पोस्टमा गोल गर्न सफल भएको छ ।

आशिष लामा, युवराज खड्का र रुपबहादुर लामाले एपीएफका लागि गोल गरे । मछिन्द्रका विदेशी खेलाडी अलबा अदेमोला अदेरिबिबले एक गोल फर्काए । खेल सुरु भएको तेस्रो मिनेटमै आशिषको गोलमार्फत एपीएफले अग्रता लियो । युवराजले पेनाल्टी क्षेत्रमा मछिन्द्रका चार डिफेन्डरलाई बिट गरी आशिषलाई पास उपलब्ध गराएका थिए । उनले क्लोज रेन्जबाट गोल गरे ।

त्यसको आठ मिनेटपछि एपीएफले अग्रता दोब्बर बनायो । लेफ्ट विंग्स श्यामकुमार नेपालीको उत्कृष्ट क्रसमा युवराजले हेड गोल गरेका थिए । ३३ औं मिनेटमा अदेमोलाले मछिन्द्रका लागि एक गोल फर्काए र पहिलो हाफमा गोलअन्तर २–१ मा झारे ।

खेलको ८९ औं मिनेटमा रुपबहादुरले फ्रिकिकमा उत्कृष्ट गोलमार्फत एपीएफलाई ३–१ को जित सुनिश्चित गराए । उनले २५ यार्डबाट प्रहार गरेको फ्रिकिक दर्शनीय ढंगमा गोलमा परिणत भयो ।

प्रकाशित : पुस ४, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?