कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन क्रिकेटरलाई दिल्लीमा प्रशिक्षण

काठमाडौँ — तीन युवा क्रिकेटरले भारतका पूर्व क्रिकेटर वीरेन्द्र सेवागको एकेडेमीमा प्रशिक्षण लिने भएका छन् । सुशील कोइराला मेमोरियल फाउन्डेसनले नेपाली यू–१९ का ब्याट्सम्यानद्वय तृतराज दास र रीत गौतम तथा नयाँ खेलाडी भूपेन्द्रकुमार उप्रेतीलाई दिल्लीमा प्रशिक्षणको व्यवस्था मिलाइदिएको हो ।

तीन क्रिकेटरलाई दिल्लीमा प्रशिक्षण

तीनै युवा क्रिकेटर बिहीबार एकमहिने प्रशिक्षणका लागि दिल्ली लाग्ने छन् । तृतराज र रीतले दुई महिनाअघि बंगलादेशमा सम्पन्न एसीसी यू–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए । भूपेन्दलाई उनको चाहनाबमोजिम खेल हेरेर प्रशिक्षणका लागि पठाउन लागिएको फाउन्डेसनले जनाएको छ ।


क्रिकेटलाई एउटा माध्यम बनाउन सकियोस् भनेर यो पहल गरिएको र यू–१९ टोलीका प्रशिक्षक विनोद दासको माध्यमबाट खेलाडी छनोट गरिएको फाउन्डेसनका सदस्य–सचिव अतुल कोइरालाले बताए । यू–१९ का उपलब्ध भएका उत्कृष्ट खेलाडी प्रशिक्षणलाई पठाउन लागिएको दासले बताए । पहिला आफूहरूले विशाल केसी र कुशल मल्ल यो प्रशिक्षणलाई लिएको तर उनीहरू उपलब्ध नभएकाले तृतराज र रीतलाई लिइएको दासको भनाइ थियो । ‘आईसीसी यू–१९ विश्वकप छनोट पनि आउँदै छ, त्यसैलाई हेरेर हामीले दुई ब्याट्सम्यान छनोट गरेका हौं,’ दासले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘जनवरी पहिलो सातादेखि सबै खेलाडीका लागि यू–१९ विश्वकप छनोटको व्यक्तिगत तयारी सुरु गरिने छ ।’


दिल्लीमा एकेडेमीका लागि प्रशिक्षण गर्दा लाग्ने खर्च फाउन्डेसनले आधा बेहोर्ने छ । आधा खर्च वीरेन्द्र सेवाग एकेडेमीले बेहोर्ने छ । अहिले व्यक्तिगत त्यहाँ पुर्‍याइएको र हरेक वर्ष पठाउन सकियो भने युवा प्रतिभालाई प्रोत्साहन मिल्ने दासले बताए । उनले अहिलेको स्थितिमा क्रिकेट खेल्न पाउनु ठूलो विषय भएको र नेपालका लागि ब्याटिङमा केन्द्रित हुन जरुरी रहेको जनाए । रीतले आफूहरूका लागि यो ठूलो अवसर भएको र यसले आफ्नो खेलमा धेरै सुधार ल्याउने आस लिएको सुनाए ।

प्रकाशित : पुस ४, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?