कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

एसीसी प्रिमियर कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

विनोद पाण्डे

काठमाडौँ — नेपाल एसीसी प्रिमियर कप ट्वान्टी २० क्रिकेटमा शतप्रतिशत विजयका साथ सेमिफाइनलमा पुगेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार समूहचरणको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।

एसीसी प्रिमियर कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

पहिलो तीन खेल जितेर नेपाल यस खेल अगाडि नै समूह ‘ए’ को विजेता भएर सेमिफाइनलमा पुगिसकेको थियो । साउदी अरेबियाको जितले नेपालले शतप्रतिशत विजयलाई कायम राखेको हो । नेपालले पहिलो तीन खेलमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो ।

अघिल्लो दिनको वर्षाका कारण मैदान भिजेका कारण ८–८ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गरेको साउदीले निर्धारित ओभरमा ७ विकेट गुमाई ७३ रन बनाएको थियो । अब्दुल वाहिदले ३७ रन बनाउनु बाहेक साउदीबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । उनले १६ बल खेली समान ३ चौका र छक्का प्रहार गरे ।

मस्कटस्थित अल अमरात मैदानमा नेपालबाट करण केसीले २ ओभरमा २१ र अविनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २–२ विकेट लिए । ललित राजवंशीले २ ओभरमा २१ र प्रतिश जिसीले १ ओभरमा १० रन खर्चेर १ विकेट लिए ।

गुलशन झाले अविजित ३२ रन बनाएपछि नेपालले ४ बल अगाडि नै ७५ रन बनायो । प्लेयर अफ द म्याच गुलशनले १९ बल खेली समान २ चौका र छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ७ बल खेली १–१ चौका र छक्का प्रहार गर्दै १६ रनमा अविजित रहे । कुशल भुर्तेल शून्य, आसिफ शेख र कुशल मल्ल २–२ तथा दीपेन्द्रसिंह ऐरी ९ बल खेली ३ चौका प्रहार गरी १७ रनमा आउट भएका थिए । साउदीका इस्तियाक अहमदले २ ओभरमा ७ रनमात्र खर्चेर २ विकेट लिए ।

हङकङ समूह ‘ए’ को उपविजेता टोलीको हैसियतमा सेमिफाइनलमा प्रवेश गरेको छ । हङकङले बुधबार भएको अर्को खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्यो । हङकङ र कतारको समान ४ अंक भए पनि हङकङ राम्रो रन रेटका कारण सेमिफाइनलमा पुगेको हो ।

पहिला ब्याटिङ गरेको मलेसियाले १४०–९ को स्कोर बनाएको थियो । हङकङले कतारलाई रन रेटमा उछिन्न मलेसियालाई ठुलो अन्तरमा पराजित गर्नु पर्ने थियो । बाबर हायतले ३५ बलमा ८३ रन बनाएपछि हङकङले १२.१ ओभरमै लक्ष्य पुरा गर्यो । प्लेयर अफ द म्याच बाबरले २ चौका र ९ छक्का प्रहार गरे । कप्तान निजाकत खान २६ बल खेली ४ चौका र २ छक्का प्रहार गरि ४७ रन बनाई अविजित रहे ।

बुधबार नै भइरहेको समूह ‘बी’ को खेलपछि सेमिफाइनल समिकरण पुरा हुने छ ।

प्रकाशित : वैशाख ५, २०८१ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?