कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चश्मामै भिडियो क्यामरा

दिनेश यादव

काठमाडौँ —  फोटो र भिडियोका साना क्लिप्सहरु खिच्न र त्यसलाई स्मार्टफोनमा हालेर साथीभाईलाई शेयर गर्न सकिने क्यामेरासहितको चश्मा बजारमा आएको छ । ‘स्न्याप’ नामक कम्पनीले अघिल्लो साता(२६ अप्रिल) मा उक्त चश्माको बिक्री वितरण सुरु गरेको हो । 

चश्मामै भिडियो क्यामरा

‘टेकन्युज वर्लड’ का अनुसार ‘स्पेक्ट्याकल्स स्पोर्ट’ नाम दिइएको उक्त चश्मामा ‘रे–बन’को जस्तै डिजाइन गरिएको छ । पातलो, हलुको र लगाउन पनि सजिलो यो चश्मा फेशनेवल पनि छ । यसलाई एउटा ‘वेयरेवल भिडियो क्यामेरा’ डिभाईस भन्न सकिन्छ ।


‘स्पेक्ट्याल्स’को केस(बटटा) लाई जार्चर डिभाइसको रुपमा उपयोग गर्न सकिने प्रविधि जडान गरिएको छ । यो पानीले नभिज्नेगरि बनाइएको छ । यस चश्मामा रहेको बटमलाई थिचेर १० सेकेण्ड सम्मको भिडियो र केही सेकेण्ड अझ थिचेर फोटो पनि खिच्न सकिन्छ । यसलाई दुई या तीन पटक थिचेर २०–३० सेकेण्डको भिडियो क्याच गर्न सकिन्छ । यसबाट खिचिएको फोटो र भिडियो उच्च कोटीको हुने गरेको दाबी कम्पनीको छ । फोटोको रिजोल्युशन १६४२ गुणा १६४२ र भिडियो रिजोल्युसन १२१६ गुणा १२१६ रहेको छ । यति मात्रै हैन, यसमा सेकेण्ड माइक्रोफोन पनि जडान गरिएको छ । चश्माबाट भिडियो खिच्दा, निस्किने आवाज या गरिने कुराकानीलाई रेकर्ड गर्न माइक्रोफोन जडान गरिएको कम्पनीले जनाएको छ । यो चश्मा लगाएपछि मानिसको आवाज पनि सजिलै सुन्न सकिन्छ । कम्पनीका अनुसार यो चश्मामा जडित क्यामेरा डिभाइसलाई एक पटक चार्ज गरेपछि ७० वटा भिडियो खिच्न र त्यसलाई फोनमा ट्रान्सफर गर्न सकिन्छ ।


स्न्यापले बजारमा उतारेको ‘स्पेक्ट्याकल्स’ चश्मा कम्पनीको दोस्रो संस्करण हो । आँखामा लगाएर मज्जाले फोटो खिच्न सकिने यो पानी प्रतिरोधी छ । सनग्लासका रुपमा प्रयोग गर्न सकिने यसलाई कम्पनीले फस्ट जेनेरेसन मोडेल भन्दा फरक बनाएको छ । यो पातलो र हलुका छ । कम्पनीले आफ्नो यो पछिल्लो अविष्कारलाई ‘स्पेक्ट्याक्ल्स डट कम’ मा अर्डर गरेर मगाउन सकिने सुविधा प्रदान गरेको छ । यसको मूल्य डेढ सय अमेरिकी डलरबाट सुरु हुन्छ । आफ्नो खल्तीको क्षमता अनुसार यो खरिद गर्न सकिनेछ । ‘टेकन्युज वर्ल्ड’ ले कम्पनीका अधिकारीहरुलाई उद्धृत गर्दै ‘स्पेक्ट्याकल्स’ हालका लागि अमेरिका, क्यानडा, बेलायत र फ्रान्समा उपलब्ध छ । केही दिनभित्रै युरोपलगायतका मुलुकमा पनि यसको बिक्री थालिने कम्पनीले जनाएको छ । गुगल एन्ड्रोइड ओएस र एप्पलको आईओएसका साथ यसलाई चलाउन सकिन्छ ।




कम्पनीले यसअघि बनाएको मोडेल भन्दा २० अमेरिकी डलरले पछिल्लो चश्मा महंगो छ । पहिलो संस्करण नै महंगो थियो । तर समीक्षकहरुले त्यसको लोभलाग्दो डिजाइनको प्रशंसा गरेपछि बजारमा त्यसको मांग हवात्तै बढेको थियो । स्न्यापले डेढ लाख भन्दा बढी सेट बनाएर बिक्री गरेको थियो । कम्पनीले त्यो बेचेर ४० मिलियन अमेरिकी डलर भन्दा बढीको कमाई गर्न सफल रहेको थियो । बजारमा सीमित मात्रामा ल्याएको उक्त स्पेक्ट्याकल्स त्यस्ताका धेरैले चाहेर पनि खरिद गर्न सकेनन् । तर खरिद गरेर लगेकाहरुले पनि लामो समयसम्म प्रयोग गर्न सकेका थिएनन् । ‘बिजनेस इन्साइडर’ का अनुसार स्पेक्ट्याकल्सको पहिलो मोडेल खरिद गरेको एक महिनासम्म आधा भन्दा बढी ग्राहकले मात्रै राम्ररी प्रयोग गर्न पाएका थिए । उपयोगकर्ताहरुले संचारको भविष्यका रुपमा त्यसलाई लिएका थिए, तर त्यो खेलौना जस्तै बन्न पुगेको थियो । दराजमा थन्काउनुअघि केहीले भने स्पेक्ट्याकल्सको प्रयोग गरेपनि धित मार्न भने सकेका थिएनन् ।


पहिलो संस्करणको हार्डवेयरमै ठूलो संघर्ष गरेको स्न्यापले फेरी त्यही उपकरण बजारमा ल्याउने प्रयास किन गरेको हो ? यो धेरैको चासोको विषय बनेको छ । यसका कारण खोतल्ने प्रयास गरिदैछ । ती मध्ये सफ्टवेयरको तुलनामा स्न्यापको लागि हार्डवेयर एउटा राम्रो व्यावसाय हुन सक्ने सम्भावना पनि हो । यसले नयाँ सेवा प्रदान गर्छ, यसको बिक्री गर्दा नाफाको मार्जिन धेरै छ र प्रतिद्वन्द्वी कम्पनीहरुले यसको नक्कल गर्न सक्ने अवस्था पनि छैन । हार्डवेयरलाई राम्ररी उपयोग गर्नु गाह्रो छ, तर स्न्यापले यसलाई केही दिन बजारमा तान्न र धान्न सकेमा उसको व्यापार राम्रो हुने देखिन्छ । गत वर्ष ७ सय २० मिलियन डलर घाटा बेहोरेको कम्पनी यसपालि भने अलिक सचेत देखिएको छ । पछिल्लो संस्करण ल्याउनु अघि स्न्यापले ग्राहक र आफ्नै कर्मचारीहरुको यो सेटबारे गुनासाहरुको सूची तयार पारेको थियो । ती गुनासाहरुको निराकरण गर्दै अघि बढ्ने सोच कम्पनीले बनायो । स्पेक्ट्याकल्समा तीन वटा महत्वपूर्ण सुधारहरु कम्पनीले गरेको छ ।


पहिलो हो, पछिल्लो स्पेक्ट्याकल्सलाई अत्यन्तै पातलो बनाइएको छ । यसलाई आफनो पेन्टको खल्तीमा सजिलै राख्न सकिन्छ या आफ्नो टीसर्टको अगाडि मज्जाले झुन्ड्याउन सकिन्छ । यो सेट राख्ने बट्टा पनि सानो बनाइएको छ, ब्यागमा थोरै मात्र ठाउँ ओगट्छ । अनुहारमा क्यामेरा भन्दा पनि यसले सनग्लासकै रुपमा प्रयोग गर्न सकिने सुखानुभूति दिन्छ ।


दोस्रो सुधार भनेको स्न्यापले स्पेक्ट्याकल्स र फोन सेटमा डेटा स्थानान्तरणको गतिमा सुधार गर्नु रहेको छ । पहिलो संस्करणमा डेटा ट्रान्सफर धेरै मन्द गतिमा हुने गरेको थियो । कम्पनीका अनुसार डाउनलोड गति हाल तीनदेखि चार गुणासम्म तीव्र पारिएको छ । वाईफाई नेटवर्किङमा भने डाउनलोडको गति अझै बढाउनु पर्ने आलोचकहरु बताउँछन् । क्यामेरा रोल स्वचालित रुपमा आईक्लाउड वा गुगल फोटोमा डाउनलोड हुने जमानामा स्पेक्ट्याकल्स यसमा अझै कमजोर देखिएको ‘दि भर्ग’ अनलाइनले जनाएको छ ।


स्पेक्ट्याकल्समा स्न्यापले गरेको तेस्रो सुधार हो, यो सेटलाई पानीबाट सुरक्षित बनाउनु हो । हो, यसलाई पानी प्रतिरोधी बनाइएको छ । क्यामेरायुक्त यो चश्मा लगाएर तपाई विभिन्न जलाशयहरुमा पौडी खेल्न सक्नु हुनेछ, समुद्रमा डाइभ लगाउन सक्नु हुनेछ ।

प्रकाशित : वैशाख १६, २०७५ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?