मंगल ग्रहमा हावा बहेको आवाज सुनियो 

दिनेश यादव

काठमाडौँ — अमेरिकी अन्तरिक्ष नियोग नासाको ‘इन्साइट ल्याण्डर’ ले मंगल ग्रहमा हावा भएको पुष्टि गरेको छ । ल्याण्डरले त्यहाँ हावा बहेको आवाज रेकर्ड गरी पृथ्वीमा पठाएको छ ।

यो आवाज सुनेर वैज्ञानिकहरु उत्साहित छन्। उनीहरुले मंगल सतहमा भएको हावालाई पहिलो पटक सुनेको दाबी गरेका छन्।

‘इन्साइट’को सेन्सरले उत्तर–पश्चिमदेखि दक्षिण पूर्वसम्म १० देखि १५ माइल प्रतिघन्टाको गतिमा हावा चलेको रेकर्ड गरेको हो। हावाको यो आवाज मानिसले सुन्न सक्ने ध्वनीको क्षमताभित्रै पर्छ। यो सफलताप्रति बेलायतको लन्डनस्थित इम्पेरियल कलेजका अन्तरिक्षविद् तथा प्रमुख अनुशन्धानकर्ताले भने,‘इन्साइडरले पठाएको आवाज कुनै झन्डा फहराउँदा निस्किने आवाजसँग मिल्दो छ। ’

इन्साइटले कैद गरेको मंगल रहेको हावालाई नासाको वेबसाइटमा सुन्न सकिन्छ। डिसेम्बर १ मा हावाका कारण उत्पन्न भएको तरंगलाई इन्साइटले कैद गरेको हो।

क्यालिफोर्नियाको प्यासाडेनास्थित नासाको जेट प्रोपल्सन ल्याबोरेटरी(जीपीएल) मा कार्यरत इन्साइटका प्रमुख शोधकर्ता ब्रुस ब्यानर्डटले भने,‘मंगल ग्रहमा रहेको हावाको आवाज रेकर्ड गर्नेबारे हामीले सोचेका थिएनौँ। तर मंगलमा भइरहेको गतिविधिलाई नियाल्ने उद्देश्य चाही यो मिसनको हो। ल्यान्डरले हावा कैद गरेकोमा हामी अति उत्साहित भएका छाँै। ’

सन् २००४ मा मंगल ग्रहमा जमिन रहेको पुष्टि गर्ने ‘क्युरिओसिटी मिसन’ कै नजिक ‘इन्साइट’ को अवतरण भएको छ। उक्त क्षेत्रलाई ‘इलाइसियम प्लानिटिया’ नाम दिइएको छ। मंगल ग्रह मिसन अन्तर्गत सन् १९७६ मा ‘भाईकिङ १’ र ‘भाइकिङ–२’ ल्यान्डर मंगलमा पुगेको थियो। त्यस्ताका यी ल्याण्डरहरुले पनि मंगल ग्रहमा हावा रहेको संकेत गरेको थियो।

त्यसको एक वर्षपछि सन् १९९७ मा ‘पाथपाइन्डर’ मंगलमा पुगेको थियो। मिसनको सबैभन्दा व्यस्त वर्ष चाही सन् २००४ रहयो। त्यो वर्ष ‘अपरच्युनिटी’, ‘क्युरिओसिटी’ र ‘स्प्रिट’ गरी तीन वटा यान अवतरण गराइएको थियो। सन् २००८ मा ‘फोनिक्स’पछि इन्साइटको अवतरण भएको हो।

‘इन्साइट’लाई अघिल्लो महिना मात्रै मंगल ग्रहमा पढाइएको थियो। मंगलको भित्रको अध्ययन गर्नका लागि यो त्यहाँ पठाइएको हो। यसमा भूकम्पबारे थाहा पाउनका लागि र अन्य ग्रहको माथिल्लो सतहबाट निस्कने तापको अध्ययन गर्न पनि ‘इन्साइट’ कोशेढुंगा सावित हुने दाबी नासाका अनुशन्धानकर्ताहरुको छ।

रातो ग्रह भनेर समेत चिनिने मंगलमा ‘इन्साइट’ ल्याण्डर नोभेम्बर २६ मा ३ सय मिलियन माइलको यात्रा पुरा गरी पुगेको हो। उक्त दुरी पार गर्न उसलाई ६ महिनाजति लागेको छ।

ल्यान्डरभित्र रहेको एउटा वायु चाप सेन्सर र ल्यान्डरको डेकमा रहेको सिस्मोमिटरले त्यहाँको हावाको तरंगहरुलाई कैद गर्न सफल भएको हो। नासाले अगामी वर्षहरुमा मंगलबाट ध्वनिहरु अझ स्पष्टताका साथ सुन्न सकिने गरी योजना बनाइरहेको छ। उसले ‘मार्स २०२० रोभर’ लाई दुई वटा माइक्रोफोन जडान गरी पठाउने तयारी गरिरहेको छ।

अघिल्लो महिना मात्रै नासाले उक्त रोभरको मंगल ग्रहमा अवतरको लोकेसन घोषणा गरेको थियो। ‘रोभर सम्भवत: मगंल सतहमा १८ फेब्रुअरी २०२१ मा अवतरण हुने अपेक्षा हाम्रो हो’ नासाले भनेको छ।

नासाले सन् २०३० को दशकसम्म मानवयुक्त यान मंगलमा पठाउने दीर्घकालिन लक्ष्यका साथ अघि बढिरहेको छ। तथापि पूर्व अन्तरिक्षयात्री बज्ज अल्ड्रिनले सन २०४० सम्ममा मंगलग्रहको वास्तविकता थाहा हुने बताए। उनले फक्स पत्रिकासँगको साक्षात्कारमा भने,‘ सन २०४० सम्ममा अन्तरिक्ष यात्री मंगलमा पुग्नेछन्। ’

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित : मंसिर २६, २०७५ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हुवावेकी कार्यकारीलाई अदालतबाट जमानत

एएफपी

भ्यानकुभर,क्यानाडा — क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई म‌ंगलबार शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ परेकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाव सिर्जना भएको थियो । 

अदालतले मेङमाथि ७५ लाख अमेरिकी डलर जमानत माग गरेको छ। साथै, पासपोर्ट क्यानाडेली सरकारलाई बुझाउन र विद्युतीय अनुगमन गरिने अदालतको आदेश छ।
चीनले मेङको गिरफ्तारीलाई लिएर कडा शब्दमा भर्त्सना गर्नुका साथै चीनस्थित अमेरिका र क्यानाडाका राजदूतलाई बोलाएर विरोध जनाएको थियो। साथै, अदालतबाट भएको शर्त सहितको जमानतप्रति पनि चीनले आपत्ति जनाएको छ।

अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरुको चिनीया कम्पनी हुवावेले उल्लंघन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ। उनलाई अदालतको आदेश प्राप्त गर्नासाथ रिहा गरिनेछ। भ्यानकुभरमा उनका पति लिउ झाओझोङको निवासमा बस्न मेङलाई अनुमति दिइएको छ। अदालतमा उपस्थित मेङका समर्थकहरुले न्यायाधीशको आदेशपछि खुशीयाली मनाएका थिए।

मेङलाई डिसेम्बर १ तारिखमा भ्यानकुभरमा प्रहरीले पक्राउ गरेको थियो। अमेरिकी अधिकारीहरुले मेङको गिरफ्तारी चीनसँगको व्यापार वार्तासँग सम्बन्धित नरहेको बताएका छन्।

हुवावे प्रविधिको क्षेत्रमा चीनको विश्वव्यापी पहुँच रहेको मुख्य कम्पनी हो, तर हुवावेले उपलब्ध गराएका कतिपय सेवाहरुमाथि संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड र बेलायतले सुरक्षाको कारण दर्शाउँदै प्रतिबन्ध लगाएका छन्।

हुवावेका संस्थापककी छोरी मेङमाथि इरान विरुद्धका अमेरिकी प्रतिबन्धहरुलाई बेवास्ता गरी व्यापारिक सम्बन्ध कायम राखेको र बैंकहरुलाई ढाँटेको आरोप लागेको छ। यदि मेङ दोषी ठहरिए उनलाई ३० वर्षभन्दा बढी जेल सजाय हुन सक्नेछ।

आगामी फेब्रुअरी ६ बाट मेङलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया सुरु हुनेछ। तर कानुनी जटिलताका कारण यो प्रक्रिया पूरा हुन महिनौं, वर्षौं लाग्न सक्ने बताइएको छ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : मंसिर २६, २०७५ १४:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT