कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला टेम्पो चालक : अझै बनेन सहज 

विद्या राई

काठमाडौँ — कलंकीकी ३७ वर्षीय रुपा गिरी खड्काले सफा टेम्पो चलाउन थालेको डेढ दशक भयो । सुमित्रा दंगालले खुल्ला मञ्चमा सिकाएको देखेर रहर जागेको थियो, उनलाई । उनका बुवा सानैमा बितेका थिए ।

महिला टेम्पो चालक : अझै बनेन सहज 

दाजुसंग बिन्ती बिसाएर ७ हजार रुपैयाँ खर्च पाएपछि सिक्ने अवसर मिलेको थियो । जतिबेला समाजमा लैंीगक विभेद व्याप्त थियो । महिलाले चालक बन्नु ‘फलामको चिउरा चपाउनु’ सरह थियो । आरएनएसी–त्रिपुरेश्वर–कालीमाटी–छाउनी–स्वयम्भु रुटमा टेम्पो चलाउने उनी एक मात्र महिला चालक थिइन् । अन्य रुट गरेर ७ जना महिला चालक थिए ।

सुरुका बर्षहरुमा पुरुष चालकहरुले हेप्थे । ट्राफिक प्रहरीहरुले नियतबस अपशब्द बोल्थे । चालक भएको भनेर समाजले कुरा काट्थ्यो । ‘महिला चालक भएर बिक्न गाह्रो हुन्छ भन्ने गर्थे, आईमाईले चलाएको रहेछ भनेर टेम्पोमा चढेका यात्रु पनि ओर्लन्थे,’ उनी आफ्नो संघर्षहरु दिनहरु सम्झन्छिन् ।


मेहनत र निरन्तरताले गर्दा टेम्पो चालक अचेल पेशा बनेको छ उनका लागि र उनी जस्तै धेरै महिलाका लागि । चालकको काम गर्दागर्दै उनको विहे भयो । उनका पति माइक्रो चलाउँछन् । ८ र ५ बर्षका दुई छोरा छन् । छोराहरुलाई आफ्नै कमाइबाट बोर्डिङमा पढाएका छन् । ‘दुईचार पैसाका लागि कसैलाई माग्न परेको छैन, बच्चाहरुको फि तिर्न पतिको आश गर्नुपरेको छैन’ उनी गर्वका साथ भन्छिन् ।


विहे भएपछि घरपरिवारले पेशा छाड्न आग्रह नगरेका पनि होइनन् । ‘नन्दाआमाजुलाई बिक्न गाह्रो हुन्छ, आफन्तले कुरा काट्छन् भनेर घर पक्षबाट छाड्न भन्थे, मैले छाडिन,’ उनले बताइन् । परिवार, समाज र कार्यक्षेत्रसंग संघर्ष गर्नुपरेको बताउँछिन् । उनी चालकमा प्रवेश गर्दा महिला र पुरुषलाई तलबमा समेत विभेद थियो । पुरुषले ५ हजार रुपैयाँ मासिक पाउँथे । महिलाले ४ हजारमा चित्त बुझाउनु पर्‍थ्यो । पुरुष बराबर काम गरे पनि खट्न सक्दैनन् भनेर त्यसो गरिन्थ्यो ।


सुरुमा साहुको टेम्पो चलाउँथिन् । अचेल आफ्नै टेम्पो छ । पतिले चलाएको माइक्रो पनि आफैले किनेका हुन् । टेम्पो चलाएर उनी एक्लैले महिनामा ५० हजारसम्म कमाइ गर्छिन् । ‘पहिले माटोको सानो घर थियो पक्कि घर बनाएका छौ्र, यहि पेशाबाट,’ आफ्नो फेरिएको जीवनशैलीका बारे उनी भन्छिन् । महिला भएरपनि दृढताका साथ काम गरेको, यात्रुहरुको सेवा गरेको भनि समाज कल्याणले सम्मानसमेत गरेको थियो । जुन क्षण सबैभन्दा खुशीको क्षणका रुपमा उनी सम्झन्छिन् ।


दाङकी २९ बर्षिया बिष्णु रोका सितापाइला बसेर टेम्पो चलाउँछिन्, दुई वर्ष भयो उनले टेम्पो चलाउन थालेको । उनको रुट आरएनएसी–सितापाइला हो । दैनिक यहि रुटमा टेम्पो चलाउन व्यस्त भेटिन्छिन् । महिलाले चालकको काम गर्न थालेको बर्षौं बितेपनि उनको पालामा पनि लैगिक विभेद कायमै छ । पुरुष चालक, ट्राफिक प्रहरी र समाजले नकरात्मक दृष्टिले हेर्ने गरेको उनको अनुभव छ ।

घरको आर्थिक अवस्था कमजोर थियो । दुईकक्षा भन्दा बढि पढ्न पाइनन् । १७ बर्षकै उमेरमा उनको विवाह भयो । आयस्रोत केहि थिएन् । छोराछोरी जन्मिए । पति भारत गएका थिए । परिवारले छुट्टाएर एक्लै बसेकी थिइन्, छोराछोरी हुर्काएर । पतिसंगको सम्बन्ध पनि राम्रो थिएन । ८ बर्षअघि छोराछोरीलाई माइती दोलखामा छोडेर काठमाडौं आइन्, केही गर्ने इख लिएर । काठमाडौ उनका लागि सपनाको सहर थियो । कमाउनु पर्ने बाध्यता थियो ।


बालुवा चालिन्, सिमेन्ट राखेर मसला घोलिन्, रंग लगाइन्, ज्यामी काम गरिन् । ‘बाँसको खटहरु चढेर पनि रंगको काम गरेको थिएँ, तर सधै काम पाइदैनथ्यो, महिलाहरुले पनि टेम्पो चलाएको देख्थें, मलाई नि चलाउने रहर भयो,’ उनलाई जुनसुकै काम गर्ने इच्छा हुन्छ भन्छिन्, ‘ज्यामीको काम गर्दा पुरुषहरुले मिस्त्रीको काम गर्थे, महिलाले छुन हुदैन भन्थे, उनीहरु काम छोडेर खाजा खान गएको बेला मिस्त्रीको काम गर्न समेत सिक्थें ।’ अचेल विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म व्यस्त हुन्छिन् ।


मजदुरीको कमाइले माइतमा बस्दै आएका १२, ११ र ९ बर्षका छोराछोरीको पढाइ खर्च धानेकी छन् । सितापाइला मासिक तीन हजार रुपैयाँ कोठाभाडा तिर्नुपर्छ । पतिसंगको सम्बन्ध पनि सुध्रिएको छ । उनी खाडी मुलुक गएका छन् । ऋण दुवै मिलेर तिरे । उनको कमाइले घरखर्च धान्छिन् । पतिको कमाइ बचत गर्छन् । घर परिवार समेत खुशी छन् । भन्छिन्, ‘कुनैदिन कालीमाटी चोकसम्म ल्याउदा पनि अहाँ मैले यो काम गर्न सक्दिन लाग्थ्यो, भिडभाडमा चलाउन एकदम डर लाग्थ्यो, अचेल ढुक्कले चलाउँछु, बालबच्चा पढाएको छु, कुनैदिन यो काम गरेकोमा मेरो परिवार दुखी थियो अहिले खुसी छ, कमाइ नै रहेछ ठुलो कुरा ।’


असम्भव केहि छैन

चालकको काम गर्नुलाई पहिले पुरुषले मात्रै गर्न सक्ने काम भनिन्थ्यो । महिलाले चालक बन्छु भन्दा मात्रै पनि घृणाले हेरिन्थ्यो । तर महिलाले चाहँदा परिवार, समाज र कार्यक्षेत्रमा संघर्ष गरेर जीवनशैली फेर्न सक्छन् भन्ने गतिला उदाहरण हुन् खड्का र रोका । एक सेट चलाउँदा मासिक ६ हजार तलब पाउछन् । एकदिन चलाएपछि साहुलाई ४ सय १० बुझाउनुपर्छ । कहिलेकाही एकट्रिपमा ६ सयसम्म कमाइ हुन्छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बाग्मती अञ्चलका सचिव तथा सफ टेम्पोका संयोजक कमल सापकोटाका अनुसार महिलाहरुलाई काम गर्न र अर्थोपार्जनमा टेवा पुगेको छ । ‘एकल महिला, दु:ख भोगेकाहरुलाई राहत मिलेको छ, यहि आश्रयबाट बालबच्चा पढाएका छन्,’ उनले भने ।


पीडा सबैको उस्तै

सफा टेम्पो समितिका अनुसार अनुसार काठमाडांै र ललितपुरमा ७ सय २० वटा टेम्पो चल्छन् । चालक एक हजार छन् । पुरुष चालक ६ सय ५० र महिला चालक ३ सय ५० छन् । महिला चालक मैत्री बनाउन सफा टेम्पोको अवधारणा ल्याइएको थियो । तर महिला चालकलाई हेर्ने दृष्टिकोण अझै फेरिएको छैन । पुरुष यात्रुहरु अगाडी बस्न चाहने, असहज तरिकाले बस्दिने, जिस्किन चाहने, कतिपयले भाडा तिर्नै नचाहने महिला चालकहरुको गुनासो छ । टेम्पो बिग्रिएका बेला पुरुष चालकहरुले सहयोग नगर्ने, अपशब्द बोल्ने, ट्राफिक प्रहरीले पनि अनेक शब्द बोलेर गालीगलौच गर्छन् । पुरुष चालकहरु दिउँसै मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, हेपेर महिलाले चलाएको टेम्पोलाई पेल्न खोज्ने, दुर्घटनाको जोखिम हुने गरेको छ । टेम्पो चलाएर महिलाहरुलाई अर्थोपार्जनमा सहज भएपनि सामाजिक तथा मानसिक रुपमा कार्यक्षेत्रमा अझै सहज भने भइसकेको छैन ।


स्वास्थ्यमा समस्या

महिला चालकहरुका अनुसार सफा टेम्पो विद्युतबाट चल्ने भएका कारण दिनभर करेन्टसंगै काम गर्नुपर्छ । करेन्टले गर्दा कमजोरी हुने, पाठेघरको समस्या, धुलोधुवाले किड्नीको समस्या हुने गर्छ । ब्रेक लगाइरहनुपर्ने कारण घुडा दुख्ने हुन्छ । महिनावारी भएको बेला धेरै गाह्रो हुन्छ । यस्तो बेला साहुको टेम्पो चलाउने चालकहरुलाई काम गर्न नसकेर जागिर जाने डर हुन्छ । कतिपय रुटमा सार्वजानिक शौचालय छैनन् । सितापाइलादेखी स्वयम्भु पुग्दा निक्कै समस्या छ । शौचकै लागि खान मन नलागेर पनि होटलको खाना खाइदिनुपर्ने उनीहरुको गुनासो छ ।




प्रकाशित : फाल्गुन ६, २०७४ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?