कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विजुलीको तार भूमिगत बनाउने प्राधिकरणको तयारी 

विद्या राई

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ६० प्रतिशत सवारी दुर्घटना बिजुलीका पोल र अस्तव्यस्त तारका कारण हुने गर्छ । यसैगरी तारैतारले काठमाडौको सौन्दर्यलाई समेत कुरुप बनाएको छ ।

विजुलीको तार भूमिगत बनाउने प्राधिकरणको तयारी 

– गएको असारमा गोकर्णेश्वर नगरपालिका १ रुप्सेटारमा विद्युत सर्ट भई ओम कृषि फार्ममा आगलागी भयो । पेशाले विश्वविद्यालयको उप—प्राध्यापक रहेका फार्म सञ्चालक बाबुराम कार्कीको गाई पाल्ने रहर आँखै अगाडी दुई घण्टामा खरानी भयो । ६० बढि गाई मरे । दाना, जेनेरेटर, डेढ सय गाईलाई ओछ्याउने म्याट जलेर नष्ट भए । २ सय २० फिट लम्बाई र ४० फिट चौडाई रहेको गोठ पूरै जल्यो । आगलागीबाट झन्डै चार करोडको क्षति भएको थियो । फार्ममा ७५ दुहुना, २२ ब्याउने र बाच्छाबाच्छी समेत गरि एक सय २२ गाई थिए । शनिबार बिहान करिब ११ बजे सुरु भएको आगो निभाउन सेना, प्रहरीलाई दुई घण्टा लागेको थियो ।


– चैत पहिलो साता काठमाडौं महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेस्टुरेन्टमा आगलागी भयो । आगलागीमा परेर उदयपुरकी कल्पना मगर र दाङका जयराम डगौरा घाइते भए । विद्युत् चुहिएर आगलागी भएको महानगरीय प्रहरी परिषर रानीपोखरी स्रोतले जानकारी दियो । अनुप अग्रवाल समूहलेसञ्चालनमा गरेको उक्त रेस्टरेन्टमा भएको आगो निभाउन १० वटा दमकललाई करिब दुई घण्टा लागेको थियो । साँझ ६ बजे सुरु भएको आगो पूर्णरुपमा नियन्त्रणमा ल्याउन प्रहरीले ८ बजेसम्म खटेका थिए ।


काठमाडौं उपत्यका भित्र विद्युत प्राधिकरण तथा दूरसञ्चार सेवा प्रदायकले पोलमा भुईसम्म लतारिने गरी तार विस्तार गर्दा यस्ता घटना बर्षेनी दोहारीने गर्छन् । घना बस्तीमा नांगा तार तथा स्थानीयहरुको लापारबाह प्रयोगले करोडौंको धनमाल जलेर नष्ट हुन्छ । कतिपय मानिसले अकालमा ज्यान गुमाउँछन् । कतिपय घाइते तथा अंगभंग हुन्छन् । महानगरीय प्रहरी परिसर रानीपोखरी स्रोतका अनुसार काठमाडौंमा आव ०७२/०७३ देखि चालु आव भित्र विद्युत सर्ट भई आगलागी हुँदा १४ जनाले ज्यान गुमाए । दुई घाइते भए । २२ करोड ९४ लाख ७२ हजार पाँच सय रुपैयाा बराबरको धनसम्पत्ति जलेर नष्ट भयो ।


उपत्यकामा सवारीसाधनका दुर्घटनाको मुख्य कारण पनि यहि नै हुने गर्छ । यहाँका विभिन्न स्थानका सडकको मध्यभागमै पर्ने गरी बिजुलीका पोल ठडिएका छन् । अधिंकाशं स्थानमा तार भुइसम्म लत्रिएका छन् ।


दुर्घटना रोक्न तथा काठमाडांैको विद्युत आपुर्तीलाई सहज बनाउन नेपाल विद्युत प्राधिकरणले सुदृढिकरण योजना अघि सारेको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि सुधार सम्बन्धी नीति र कार्ययोजना बनेको बताइएको छ ।


दुई वर्षअघि थालिएको यव् प्रयास अहिले आएर कार्यान्वयनको चरणमा छ । यसका लागि नेपाल सरकार र एडीबीबीच सन् २०१७ जुनमा करिव साढे ५ अर्ब रुपैयाँको ऋण सम्झौता भइसकेको छ । विद्युत वितरण प्रणाली सुदृढिकरण गर्ने, तार भुमिगत गर्ने र वितरण प्रणाली स्वचालित गर्ने कामलाई यस आयोजनाले प्राथमिकतामा राखेको छ । तत्कालका लागि महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रमा उक्त काम सुरु हुने भएको छ । आयोजना व्यवस्थापन निर्देशानलय मातातिर्थ अन्तर्गत महाराजगञ्ज वितरण केन्द्रले काठमाडांैको उत्तर तथा मध्यपूर्व तथा रत्नपार्क वितरण केन्द्रले दक्षिण तथा पूर्वमा उक्त कार्य गर्नेछ । महाराजगञ्ज क्षेत्रमा १९ वटा फिडर छन् । रत्नपार्क क्षेत्रमा २८ वटा फिडर छन् । जसअन्तर्गत संरचना निर्माण, विस्तार तथा व्यवस्थापनका काम हुने आयोजना प्रमुखहरुले जनाएका छन् ।


प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार आयोजनाका लागि ग्लोबल टेन्डर आह्वान गरेर प्राविधिक मूल्यांकनका लागि एक महिनाअघि एडीबीलाई पठाइसकिएको छ । भूमिगत वितरण प्रणालीको डिजाइन, सामान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने लगायत पक्ष प्राधिकरणको बोलपत्रमा समावेश छ । १८ वटा ठेक्का प्रस्तावहरु आएका थिए । प्रस्तावहरुको मुल्यांकनको नतिजा आएपछि करारमा ठेक्का सम्झौता हुन्छ । सम्झौता भएलगत्तै ठेकेदारले आयोजना थाल्नुपर्ने हुन्छ । काम सम्पन्न गर्न उनीहरुलाई ३० महिनाको अवधि हुन्छ । ठुलो बजेटको आवश्यकता पर्ने र एकैचोटी निर्माण सम्पन्न गर्न गाह्रो हुने हुँदा चरण–चरणमा आयोजना सञ्चालन गर्न लागिएको छ ।


प्राधिकरणले मुख्य सडकमा ११ केभी र चार सय भोल्टको विद्युतीय प्रणालीलाई भूमिगत रूपमा व्यवस्थापन गर्न लागेको छ । पहिलो चरणमा रत्नपार्क, असन, इन्द्रचोक, क्षेत्रपाटी, सिंहदरबार, पुतलीसडक, न्युरोड, जमल, लाजिम्पाट, दरबारमार्ग, महाराजगन्ज, चक्रपथलगायत उत्तरी क्षेत्रमा तार भुमिगत गरी सेवाग्राहीलाई विद्युत वितरण गरिनेछन् । पहिलो चरणमा यस क्षेत्रका एक लाख बढि घरले भूमिगत तारमार्फत वितरित बिजुली उपयोग गर्न सक्नेछन् ।


यसका लागि काठमाडौं महानगरपालिका, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकहरु, खानेपानी, सहरी विकास, भौतिक योजना, गृह, अर्थलगायत मन्त्रालयहरुसंग समन्वय भएको छ । प्राधिकरणले भूमिगत तारसंगै स्मार्ट मिटर र स्मार्ट ग्रिडको काम पनि एक साथ अघि बढाउँदैछ । स्मार्ट मिटर र स्मार्ट ग्रिड लागु गरेपछि प्राधिकरणको जनशक्ती खपत घट्नेछ । अहिले कसैले बिजुलीको बिल नतिरेमा लाईन काट्न पोलमा चढ्नुपर्छ । स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै लाईन काट्न मिल्छ । यसले चुहावट नियन्त्रण हुनुका साथै दुर्घटनाको जोखिम पनि कम गर्छ । विजुली तारसंगै अप्टिकल फाइबर बिछ्याइनेछ । फाइबर बिछ्याएपछि टेलिफोन र केबलहरुका तार व्यवस्थापन हुनेछ ।



सुरक्षा र चुवाहवटका हिसाबले यो प्रणाली उपयुक्त हुने भएपनि विस्तारका लागि चुनौती छ । उपत्यकामा सडक, ढल तथा खानेपानी विस्तार तथा मर्मत भइरहेका कारण पनि विद्युतको तार जमिनमुनि बिछ्याउन जोखिम छ ।


बिजुलीका तार युटिलिटी टनेल अन्तर्गत जमिनमुनि राखिने महाराजगञ्ज आयोजना प्रमुख अभिशेक अधिकारीले बताए । ‘बिशेषप्रकारको ‘होराइजेन्टनल डिरेक्सनल ड्रिलिङ्ग’ को सहायता लिइन्छ, एकठाउँ खनेर दुईमिटर गहिराईमा भित्रभित्रै बिछ्याइन्छ र ढललाई पनि छलेर काम गरिन्छ,’ उनले भने ।


मेलम्ची खानेपानी विस्तारले सर्वसाधारणलाई आतंकित बनाएको हुँदा छिटो, छरितो र वातावरणमैत्री विस्तारका लागि यो विधि अपनाउने योजना बनाइएको हो । साथै रातको समय विद्युत तार भुमिगतको काम गरिने जानकारी दिइएको छ । ड्रिलिङ्ग मेसिन प्रयोग गर्न असम्भव स्थानमा मात्र सडक उप्काइने छ ।


प्रकाशित : चैत्र २५, २०७४ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?