कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवको डेढ महिनामा महानगरको सडक खाल्डरहित 

एक हजार किमि मर्मतका लागि २५ करोड बजेट
विद्या राई

काठमाडौँ — असनको व्यस्त बजारमा किनमेल गर्नेहरुको दैनिकजसो घुइचो हुन्छ । पैदलै हिंड्नेहरुको ठेलमठेल उक्त स्थानमा गाडी, मोटरसाइकल र स्किुटीहरु छिर्न मुस्किल छ । त्यसमाथी खाल्डाखुल्डीसंगै घाम लागे  धुवाधुलो, पानी परेका बेला हिलोले सास्ती दिन्छ । ढल निकास बन्द हुदा बाटैभरी फोहोरमैला र दुर्गन्धले सास्ती छ । 

अवको डेढ महिनामा महानगरको सडक खाल्डरहित 

महानगरका अधिकारीहरु भन्छन्, असनको यो समस्या चाडै समाधान हुदैछ । असन चोकदेखि बांगेमुडासम्म मर्मतको काम धमाधम भइरहेको छ । खाल्डाखुल्डी पुर्ने, ढल निकास बनाउने, छपनी ढुंगा मर्मतको काम हुँदैछ । यसको मर्मतको ठेक्का सुनकोशी—कडेल–त्रिपुरासुन्दरी जेभीले पाएको छ ।


त्यसैगरी अनामनगरस्थित अनाममार्ग कालोपत्रे हुँदैछ । बेस माथी अलकत्रा राखेर कालोपत्रे भैरहेको छ । बटु सफल–आरएनसी जेभीले कालोपत्रेको ठेक्का पाएको छ । गोंगबुमा पनि भित्री सडकहरुको मर्मत हुदैछ ।


असार मसान्त भित्र काठमाडौं महानगरपालिका भित्रका सडकलाई खाल्डारहित बनाउने लक्ष्य लिइएको छ । महानगर भित्रका ८ मिटर चौडाइका करिब एक हजार किलोमिटर सडकहरुको मर्मत हुने भौतिक शाखाका इन्जिनियर रामबहादुर थापाले बताए ।


‘सडकमा खाल्डाखुल्डी बढ्यो, दुर्घटनाको जोखिम भयो भन्ने गुनासाहरु आइरहेकाले यसबर्ष मर्मतलाई जोड दिएका छौ,’ उनले भने । मर्मतका लागि आगामी वर्ष खर्च कम होस् भनेर यसैबर्ष मर्मतलाई जोड दिइएको छ । यसका लागि २५ करोड बजेट विनियोजन भएको छ । १३ करोडको मर्मत कार्य ३२ वटै वडामा सुरु भएका छन् । पाँच करोडका पाँचै वटा प्याकेजमा फागुन महिनादेखी काम सुरु भएको हो ।


पूर्वी प्याकेजमा ६ देखि १० सम्म तथा ३१ र ३२ वडाहरु पर्छन् । यसको ठेक्का सुनकोशी कन्स्ट्रक्सनले लिएको छ । उत्तरी र पश्चिमी प्याकेजमा कडेल केएनजेभीले क्रमश: २, ३, ४ र २६ तथा १३ देखि १६ वडामा मर्मतको जिम्मा पाएको छ । मध्यमा ओटु–सफल जेभीले १, ५, ११, २८ देखि ३० र पाण्डे कन्सट्रक्सनले कोरसिटी (भित्री सडकहरु) र अन्य १४ वडाको मर्मत गर्ने ठेक्का पाएको छ ।


असार १५ भित्रमा सम्पन्न गर्नेगरी ढल, फुटपाथ निर्माण, ढुंगा बिछ्याउने, कालोपत्रे गर्ने काम भइरहेको छ । महानगरका अधिकांश सडक कालोपत्रे गरिएका छन् । तर स्तरीय छैनन् । महानगरले तीन वर्षअघि कालोपत्रेको नमुना संकलन गर्दा ३० प्रतिशत सडक तत्कालै मर्मत गर्नुपर्ने, ६० प्रतिशत राम्रा र बाँकी १० प्रतिशत मध्यम खालको पाइएको थियो ।


त्यसयता कति सडकको के अवस्था छ भन्ने महानगरसंग यकिन तथ्यांक छैन । “जहाँ बिग्रेको छ, त्यहाँ बनाउदै जानेछौं, कहाँ कति किलोमिटर खाल्डाखुल्डी तथा बिग्रिएको छ भन्ने आँकडा छैन” इन्जिनियर सुरेश राईले भने ।


महानगरभित्र जम्मा एक हजार ४ सय ५० किमी सडक पर्छ । ८ मिटर चौडाई भएका एक हजार किमी सडकको जिम्मेवारी महानगरलाई छ । उसले आर्थिक बर्ष ०६१/०६२ देखि सडकको भौतिक पुर्वाधारको जिम्मा पाएको थियो । बाँकी सडक सरकारले केन्द्रीय तहबाटै हेर्छ । यसैगरी महानगरमा नयाँबजार, चमती, मनोहरा, बाग्मती र धोबीखोला करिडोर सडक आयोजनाहरु सञ्चालनमा छन् आयोजना सम्पन्न भएर औपचारिक रुपमा हस्तान्तरण भएपछि मात्रै महानगरले हेर्छ ।

प्रकाशित : वैशाख १९, २०७५ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?