कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तारकेश्वरका गाँजा फँडानी

शिल्पा कर्ण

काठमाडौँ — करिब १५ रोपनीमा लगाइएको गाँजा खेती प्रहरीले फँडानी गरेको छ । बालाजु वृत्तबाट बिहीबार डीएसपी चिरञ्जीवी कोइरालाको नेतृत्वमा खटेको प्रहरी टोलीले तारकेश्वर नगरपालिका-१ का विभिन्न स्थानमा लगाइएको गाँजा फँडानी गरेको थियो ।

तारकेश्वरका गाँजा फँडानी

त्यहाँका ढकालचौर, डाँडागाउँ, उपल्लागाउँलगायतका स्थानमा लगाइएको गाँजा नष्ट गरिएको थियो ।


बिहान ८ बजेदेखि डेढ दर्जन प्रहरी, वडाध्यक्ष तथा वडाका जनप्रतिनिधि र स्थानीय समेतको सहयोगमा गाँजा खेती नष्ट गरिएको हो । प्रहरीको उपस्थितिपछि केहीले आफैं आफ्नो जग्गामा पर्ने गाँजाको बोट काटेका थिए । वडा नं. १ ठूलो इलाका भएकाले एकैदिन सबै क्षेत्रमा नष्ट गर्न वडाध्यक्ष विदुर सापकोटाले बताए । युवाहरुले यसअघि पनि गाँजा फँडानी अभियान चलाएको तर स्थानीयको साथ नपाएको गुनासो गरे । ढकालचौर युवा क्लबका अध्यक्ष तथा स्थानीय युवा अमर तामाङले भने, ‘जनप्रतिनिधि आइसकेपछि वडाबाट नै सूचना निकालेर यस्तो कार्य गरेमा कारवाही गरिने हो भने यो कम हुन सक्छ ।’


उक्त नगरपालिकाको विकट इलाकामा सुरक्षा निकाय र प्रशासनको आँखा छलेर गाँजा खेती र बिक्रि वितरण हुने गरेको प्रहरीको भनाइ छ । विशेषगरी शिवपुरी राष्ट्रिय निकुञ्जसँगै जोडिएका क्षेत्रमा बारीमा अन्नबाली र तरकारी सँगसँगै गाँजाका बोट छन् । स्थानीयले भने ‘आफै उम्रिने गरेको र खेती गरिएको कुरा गलत रहेको’ बताए । गाइबाख्रालाई घाँस भनि काट्ने नगरेको उनीहरुको भनाइ छ । डीएसपी कोइरालाले भने, ‘लागूऔषधले यहाँको समाजमा मात्र नभइ देशकै युवालाई दिग्भ्रमीत बनाइरहको सन्दर्भमा यसलाई न्युनीकरण गर्न यस्तो अभियान चलाएका हौं ।’ उनले पटक पटक फँडानी गर्दा पनि फेरि खेती गरेको पाइएमा जग्गाधनीलाई नै कारवाही गर्न पछि नपर्ने बताए ।


वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता सापकोटाले यस वर्षको असारदेखि तेस्रो पटक यो क्षेत्रमा यस कार्यका लागि आएको बताए । ‘यहाँ सबैजसो स्थानमा गाँजा खेती देख्न सकिन्छ,’ सापकोटाले भने, ‘गाईवस्तु पाल्ने भएकाले उनीहरूलाई ख्वाउन पनि यो काम लाग्छ । तर गाँजा खेती अवैध भएकाले हामीले समय समयमा फँडानी गर्दै आएका छौं ।’ यस वडाका तिमल्सिना टोल, देवीथान, नेपालथोक, जगात जस्ता स्थानमा यसको खेती छ ।

प्रकाशित : श्रावण १७, २०७५ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?