भिडियोमा उत्कृष्ट तस्बिरहरु
काठमाडौँ — फोटो पत्रकार क्लब (पिजे क्लब)ले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरूको प्रदर्शनी सकिएको छ । काठमाडाैको नेपाल आर्ट काउन्सिल, बबरमहलमा यही साउन १६ गते बुधबारबाट २१ गते सोमबारसम्म चलेको प्रदर्शनीमा १८ हजार दर्शकले अवलोकन गरेको कार्यक्रम संयोजक प्रकाशचन्द्र तिमिल्सेनाले बताए ।
राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, विद्यार्थी, पत्रकार लगायतका विभिन्न क्षेत्रका दर्शकहरूले प्रदर्शनी अवलोकन गरेका थिए । फोटो पत्रकार क्लवको यो प्रतियोगिता एवं प्रदर्शनी छैठौं संस्करण हो ।
फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखााची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरी सात विधाका उकृष्ट १६० फोटोहरू राखिएको थियो ।
‘आइएमएस डेली लाईफ’ मा १ हजार १ सय ५३, कल्चर तथा टुरिजम’ मा १ हजार ५७, ‘नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार १८, ‘अर्घाखाची सिमेन्ट न्यूज फोटो’ मा ४ सय १६, ‘डिसहोम एक्शन स्पोर्टस’ मा ३ सय ६२, ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’ मा १ हजार १० र ‘नेप्टोस फोटो स्टोरी’ मा ५२ वटा फोटोकथाको ५ सय २० फोटोले प्रतिस्पर्धा गरेको थियो ।
काठमाडौंमा नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिएका फोटोहरूको काठमाडौं बाहिर भने विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी यसैवर्ष सम्पन्न गरिने भएको छ ।
प्रकाशित : श्रावण २१, २०७५ २०:२८