गन्तव्य लामो झरना

विमल खतिवडा

काठमाडौँ — चितवनको मुग्लिन बजारबाट नारायणगढतर्फ लागेपछि ७ किमी दुरी छिचोल्न साथ पुग्ने ठाउँ हो जलबीरे । अधिकांशले यो ठाउँलाई गन्तव्य बनाउन बिर्सदैनन् । गर्मी होस् वा जाडो ।


जुनसुकै समयमा पनि प्राय सबैको गन्तव्य बन्ने ठाउँ हो जलबीरेकै लामो झरना। मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने जलबीरेबाट करिब आधा घण्टा उकालो पैदल हिँडेपछि पुगिन्छ झरना।

झरना नजिकै मोटरबाटो पुगेको छ। तर सडक कच्ची छ। जिप, मोटरसाइकल सहज रूपमा पुग्छ। ठुला बस र निजी सवारी साधन लिएर आउनेहरू सडक छेउमा पार्किङ गरी पैदल झरनातर्फ लाग्छन्। सडकबाट झरना देखिँदैन।

झरनाको बारेमा लेखिएका जानकारीमूलक सूचना बोर्ड प्रवेशद्धारमै राखिएको छ। त्यसो त युट्युबमा चितवनको जलबीरे झरना भन्दै सर्च गर्ने हो भने प्रशस्त लोभलाग्दा भिडियो फेला पर्छन्। झरना अलौकिक छ। कहिल्यै सुक्दैन। निरन्तर झरी रहन्छ। १ सय २ मिटर लामो झरनामा जो पुग्छ। घण्टौँ भुल्छ। थकान मेटिएको अनुभूति गर्छ।

गर्मी मौसममा अघिपछि भन्दा बढी भिड हुन्छ। झरना नजिकै पुग्दा शरीर भिज्छ। मातिबाट झर्ने पानीको छिटा ठाढाटाढा सम्म पुग्छ। गर्मीमा रमाउन आउनेको कमी हुँदैन। अहिले चिसो मौसम भए पनि पानीमा भिजी रहेको, भिडियो र फोटो खिची रहेका दृश्य नौला लाग्दैनन्। कलेज र विद्यालयको शैक्षिक भ्रमणको गन्तव्य प्राय यही झरना बन्ने गरेको छ।

लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङ झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको बताउँछन्। मङ्सिर अन्तिम सम्म क्यानोनिङको समय हो। त्रिशूलीमा र्‍याफ्टीङ गर्न आउने पर्यटकले यहाँ आएर क्यानोनिङ गर्न बिर्सदैनन्।

क्यानोनिङ सुरु भएपछि झरनाको प्रचार राम्रो भएको इच्छाकामना गाउँपालिका ६ का वडा अध्यक्ष भूपेन्द्र चेपाङ बताउँछन्। ०६७ सालपछि झरनामा आउनेको भिड बढ्दै गयो। बासको भने समस्या छ। झरनामा रमाएर बास बस्न मुग्लिन पुग्नु पर्छ।

प्रकाशित : पुस १०, २०७५ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्

उत्तर कोरियालाई ५० करोड डलर तिर्न आदेश 

एपी

वासिङटन — अमेरिकाको एक अदालतले एक मुद्दाको फैसला गर्दै उत्तर कोरियालाई ५० करोड डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । 

ओट्टो वार्मवियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाइ गर्दै वासिङटनस्थित जिल्ला अदालतले उक्त फैसला गरेको हो । उत्तर कोरियामा पक्राउ परेका अमेरिकी विद्यार्थी वार्मवियरको मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष मृत्यु भएको थियो ।

अमेरिकी जिल्ला न्यायाधीश बेरिल हावेलले दिएको आदेशमा वार्मवियरको मृत्यु हुनुमा उत्तर कोरिया दोषी देखिएको उल्लेख छ । वार्मविरका बाबुआमाले उत्तर कोरियामा उनलाई पक्राउपछि चरम यातना दिइएको भन्दै क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेका थिए ।

अमेरिकाको भर्जिनिया विश्वविद्यालयका विद्यार्थी वार्मवियर घुम्नका लागि साथीहरुसँगै उत्तर कोरिया गएका थिए । कोरियाली अधिकारीले प्रचार सामग्री चोरेको अभियोगमा मार्च २०१६ मा पक्राउ गरी वार्मवियरलाई १५ वर्षको जेल सजाय दिइएको थियो ।

उत्तर कोरियामा उपचारका लागि कोमामा राखिएका उनलाई जुन २०१७ मा अमेरिका फर्काइएको थियो ।

५ दिनको उत्तर कोरिया भ्रमणमा जानुअघि वार्मवियरको स्वास्थ्य अवस्थामा कुनै खराबी नभएको जनाइएको छ ।

उनको मृत्युका समय अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध निकै तनावपूर्ण थियो । खासगरी उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र प्रणालीको विकासका कारण दुई मुलुकबीचको सम्बन्ध बिग्रेको थियो ।

अदालतले मंगलबार गरेको आदेश सांकेतिक भएको जनाइएको छ किनकि उत्तर कोरियाले मुद्दाको सुनुवाइका क्रममा आफ्नो पक्ष राखेको छैन ।

अदालतको आदेशबमोजिमको क्षतिपूर्ति दिलाउन तत्काल सम्भव नभए पनि अदालतको आदेशका कारण वार्मवियरका परिवारले अमेरिकी सरकारबाट क्षतिपूर्ति रकम प्राप्त गर्ने बाटो खुलेको छ

साथै, अदालतले तोकिए बमोजिमको रकम अन्य देशमा रहेका उत्तर कोरियाली बैंक खाताबाट समेत जफतका लागि अमेरिकाले पहल गर्न सक्ने जनाइएको छ ।

प्रकाशित : पुस १०, २०७५ २०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT