तमु ल्होछारमा झाँकी नै आकर्षण

विद्या राई

काठमाडौँ — गुरुङ समुदायले काठमाडौंको टुँडिखेल तथा देशविदेशमा धुमधामका साथ तमु ल्होसार मनाए । पुरानो वर्ष कुकुर वर्ग ‘खि’ ल्होलाई बिदाइ गरी नयाँ वर्ष ‘फो’ ल्हो मृग वर्गको स्वागत गरेका छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ।

सांस्कृतिक मौलिकता झल्कने पहिरन तथा भेषभुषामा सजिएर ल्होसार मनाउन आएका गुरुङ समुदायले झाँकी प्रदर्शन गरे।

आदीवासी जनजाती समुदाय अन्तर्गत पर्ने गुरुङहरुको आफ्नै सांस्कृतिक पहिचान छ। गुरुङ पुरुषहरुले भांग्रा, कच्छड लगाउँछन्। यो मुख्यत: अल्लोबाट बनाइन्छ। महिलाहरु गुन्युचोली र घलेक लगाउँछन्।

उनीहरुले यो चाड तमु संवतअनुसार प्रत्येक पुस १५ मा मनाउँछन्। तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाा सम्वत् सुरु भएको सङ्केत गर्छ। प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारका दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छन्।

जसअनुसार विभिन्न १२ वटा जनावरको नामबाट १२ वटा वर्ग निर्धारण गरिएको हुन्छ। तमु (गुरुङ) समुदायले ल्होसारलाई नयाँ वर्षका रूपमा आफ्नो मौलिक पर्वको रूपमा मनाउँदै आएका छन्।

प्रकाशित : पुस १५, २०७५ १९:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हिँउदे अधिवेशनमा 'नाम र राजधानी'

कान्तिपुर संवाददाता

संखुवासभा — प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले हिउँदे अधिवेशनमा प्रदेशले नाम र राजधानी पाउने बताएका छन् । माघको दोस्रो या तेस्रो सातामा प्रदेशको हिउँदे अधिवेशन आब्हान हुने भन्दै मन्त्री कार्कीले प्रदेशले नाम र राजधानी पाउँन अब धेरै कुर्न नपर्ने दावी गरे ।

मन्त्री कार्कीले प्रदेशको नाम र राजधानीको विषयमा पाटीमा आन्तरिक छलफल सुरु भएको बताए । उनले प्रतिपक्षमा रहेका सहित अन्य दलसँग पनि छलफल गरेर टुंगोमा पुग्ने बताए । सबै दलको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगो लाग्छ, सहमति नभए बहुमतले सबैको साझा र छोटो नाम राख्छौँ, उनले भने, राजधानीको विषय अलि गम्भिर बनेको छ । तर मुलुकको राष्ट्रियता र दिर्घकालीन हितलाई हेरेर सहमति अनुसार राजधानी तय गछौँ ।

सहिद स्मृति प्रतिष्ठानको भवन उद्घाटनको क्रममा सदरमुकाम खाँदबारी आइपुगेका मन्त्री कार्कीले आइतबार पत्रकारसँगको भेटघाटमा संघीय कानुनको अभावका कारण प्रदेश १ को हिउँदे अधिवेशन प्रभावित भएको बताए ।

प्रदेश १ सरकारले तीन प्रकृतिका २४ कानुन निमार्ण गरिसकेको छ, उनले भने, हामीले दैनिक कार्यसञ्चालन सम्बन्धि कानुन, स्थानीय तहले दैनिक गतिविधि सञ्चालन गर्ने कानुन र केहि संरचनागत विकासका लागि कानुन बनाएका छौँ, अब नियमावली र निर्देशिका बन्नेछ ।

संघीय सरकारले करिब ३ हजार ७ सय कर्मचारी प्रदेशको लागि खटाए पनि प्रदेशमा भने करिब २ हजार कर्मचारी मात्रै हाजिर भएको बताए । आएका सबै कर्मचारीपनि प्रदेशमा बसेर काम गर्ने मनस्थितिमा नभएको टिप्पणी गरे । दक्ष कर्मचारी नहुँदा प्रदेश सरकारलाई असहज भएको पनि उनले बताए । यो समस्याले आफुहरु आक्रान्त बनेको पनि उनले बताए ।

प्रकाशित : पुस १५, २०७५ १९:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT