कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूसी साँठगाँठबारे ट्रम्पसँग सोधपुछ गरिने

वासिङटन — अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूससँगको साँठगाँठबारे अनुसन्धान गरिरहेको समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोधपुछ गर्ने भएको छ । अमेरिकी अखबार वासिङ्टन पोस्टका अनुसार ट्रम्पसँग आगामी साता छानबिन गरिनेछ ।

रूसी साँठगाँठबारे ट्रम्पसँग सोधपुछ गरिने

सन् २०१६ मा भएको चुनावी अभियानमा रूसी संलग्नताबारे रोबर्ट मुलर नेतृत्वको विशेष टोलीले छानबिन गरिरहेको छ । उनी पूर्व एफबीआई प्रमुख हुन् । बीबीसीका अनुसार उक्त टोलीमा संलग्न अनुसन्धानकर्ताहरूले ट्रम्पका वकिलहरूसँग कुराकानी गरिरहेको जनाएका छन् ।


ट्रम्पका वकिल जोन डोउड र जे सेकुलोसँगको भेटमा मुलरले ट्रमपसँग सोधपुछ गरिने बताएका थिए । अखबारका अनुसार उनीहरूबीच गत डिसेम्बरमा भेट भएको थियो । ट्रम्पनिकट स्रोत उद्धृत गर्दै अखबारले उल्लेख गरेको छ– ‘यो मुद्दा कसैले सोचेको भन्दा तीव्र रूपमा अगाडि बढिरहेको छ ।’ पोस्टले भने उनीहरूबीच पुन: कुराकानी गर्ने सहमति भएको जनाएको छ । भेटमा ट्रम्पका वकिलहरूले मुलरसँग उनीमाथि खुला प्रकारका प्रश्न सोध्न दिन अनिच्छुक रहेको बताएका थिए ।


वासिङ्टन पोस्ट र एनबीसीका अनुसार उनीहरूले ट्रम्पसँग लिखित प्रश्नको जवाफ लिन भने अनुमति दिन सकिने बताए । एनबीसीले कुराकानीमा संलग्न ३ जनालाई उद्धृत गर्दै मुलर र वकिलबीचको वार्ता ‘प्रारम्भिक र जारी रहेको’ उल्लेख गरेको छ । ट्रम्पका वकिलले भने उक्त समाचारबारे कुनै प्रतिक्रिया दिएनन् । तर उनीहरूले राष्ट्रपति कार्यालय ह्वाइटहाउसले रोबर्ट मुलरसँग आवश्यक समन्वय गरिरहेको जनाए । यसबारे मुलरका प्रवक्ताले प्रतिक्रिया दिन अस्वीकार गरे । छानबिन समितिद्वारा चुनावी अभियानका कतिपय सदस्यमाथि मुद्दा दायर गरिएपछि ट्रम्प र मुलरबीच तनाव बढेको छ । राष्ट्रपति ट्रम्प र रूसी अधिकारीले चुनावी अभियानमा कुनै साँठगाँठ नभएको दाबी गर्दै आएका छन् । यसअघि ट्रम्पले उक्त मुद्दा छानबिन गरिरहेका एफबीआई निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै अमेरिकी न्याय विभागले मुद्दाको अनुसन्धानका लागि रोबर्ट मुलरलाई नियुक्त गरेको हो ।

प्रकाशित : पुस २६, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?