कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण कोरियाले भन्यो– उत्तरसँग निरन्तर वार्ता

बीबीसी

सोल — उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिने समय उपयोग गर्न खोजेको विश्वव्यापी चेतावनीका माझ दक्षिण कोरियाले ‘स्पष्ट दृष्टिकोणसहित वार्तालाई निरन्तरता दिने’ बताएको छ । 

दक्षिण कोरियाले भन्यो– उत्तरसँग निरन्तर वार्ता

दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ हाले उत्तरसँग सम्बन्ध सुधारका लागि वर्तमान अवसरलाई उच्चतम उपयोग गर्ने बताइन् । उनले सहमति भए पनि विश्व परिवेशमा परमाणु संकटसँग जुध्न उत्तर कोरियामाथिको प्रतिबन्ध कायमै रहेको बताइन् ।


विदेशमन्त्री हाले भनिन्, ‘समग्रमा यो सकारात्मक अवस्था हो । मलाई लाग्छ हामीले सबै विषयमा ध्यानपूर्वक व्यवस्थापन गर्नुपर्छ र हामी यसमा सफल हुनेमा पूर्ण विश्वस्त छौं ।’ उनले पछिल्लो सहमति खेलकुद, दक्षिण कोरिया र अन्तर्राष्ट्रिय समुदाय सबैका लागि सकारात्मक भएको जनाइन् । हाले उत्तर कोरियाली नागरिकप्रतिको ‘आवश्यक मानवीय सहायता’ बारे आफू सचेत रहेको बताइन् । ‘मलाई लाग्छ, हामीले जति राम्रो र नजिकबाट उत्तर कोरियालाई अरू कसैले चिन्दैनन्,’ उनले भनिन् ‘हामी उनीहरूसँग दशकौं लामो सम्बन्ध तथा वार्तामा संलग्न छौं ।’


यसअघि उत्तर र दक्षिण कोरियाले अर्को महिना हुन लागेको शीतकालीन ओलिम्पिकमा एउटै झन्डामुनि मार्चपास गर्न सहमत भएका थिए । दुई वर्षपछि भएको वार्तामा दुवै देशले संयुक्त आइसहक्की टोली बनाएर प्रतिस्पर्धा गर्ने जनाइसकेका छन् । शीतकालीन ओलम्पिक आगामी फेब्रुअरीमा दक्षिण कोरियाको पियोङचाङमा हुँदै छ । दुई कोरियाबीच भएको वार्ताको सहमतिअनुसार चियरलिडर्स, अर्चेस्ट्रा र तेक्वान्दो खेलाडी गरी ४ सय जनाको उत्तर कोरियाली टोलीले ओलम्पिकमा सहभागिता जनाउनेछ । यसको अर्थ दुई कोरियाबीचको सीमा दुई वर्षयता पहिलो पटक खुल्दै छ । अमेरिका र समर्थितज्ञ देशले निरन्तर रूपमा उत्तर कोरियामाथि दबाब दिइरहनुपर्ने बताइरहेका बेला दक्षिणको यस्तो भनाइ सार्वजनिक भएको हो । बुधबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाले सोल र उसका साझेदारबीच फुट ल्याउने प्रयास गरिरहेको बताए ।


टिलरसनले अमेरिका र चीनसहितका उसका साझेदार उत्तर कोरियाली परमाणु हतियारको जोखिमविरुद्ध अहिलेको जति एकताबद्ध विगतमा कहिल्यै नभएको बताएका थिए । उनले चीनले प्योङयाङविरुद्ध कडा नीति अवलम्बन गरिरहेको दाबी गर्दैै नाकाबन्दी र दबाबका कारण उत्तर कोरिया वार्ताको टेबलमा बस्न बाध्य भएको दाबी गरेका थिए ।


जापानी विदेशमन्त्री तारो कोनोले पनि प्रतिबन्धले काम गरेको प्रमाणका रूपमा कोरियाली वार्तालाई लिन सकिने बताए । यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रसंघीय प्रतिबन्ध छल्न उत्तर कोरियालाई रूसले मद्दत गरिरहेको आरोप लगाएका थिए ।


ओलम्पिकका निहुँमा दुई कोरियाबीच भइरहेको वार्ताले कोरियाली द्वीपमा उत्पन्न संकट युद्धमा रूपान्तरण हुन लागेको चिन्ताबीच एक दुर्लभ आशा हो । बीबीसीले सशस्त्र युद्धको परिणाम भयानक हुनेमा अमेरिकासहित सबै विश्व समुदाय प्रस्ट छन् । तर हालै भएको सहमतिले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमको यथार्थ बदलिनेमा भने शंका व्यक्त भइरहेका छन् ।

प्रकाशित : माघ ५, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?