कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किम दक्षिण कोरिया पुगिन् 

बीबीसी

काठमाडौँ — उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनकी बहिनी किम यो–जोङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा शुक्रबार सहभागी भएकी छन्। उनी शुक्रबार नै दक्षिण कोरिया पुगेकी हुन् । उद्घाटन समारोहमा किम र उत्तर कोरियाली राष्ट्रप्रमुख किम योङ नाम अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँगै बसेका थिए । 

किम दक्षिण कोरिया पुगिन् 

दक्षिण कोरियाली समाचार संस्था योनेपले सार्वजनिक गरेको तस्बिरमा उनीहरू तीनैजना सँगसँगै बसेको देखिन्छ। उनी कोरियन युद्धपछि दक्षिण कोरिया भ्रमण गर्ने पहिलो उत्तर कोरियाली शासक परिवारकी सदस्य हुन्।


किम उत्तर कोरियाली खेलकुदसम्बन्धी मार्गनिर्देशन समितिका अध्यक्ष चो ही, अन्तरकोरिया मामिलासम्बन्धी एजेन्सीका अध्यक्ष री सन ग्वानसहित दक्षिण कोरिया पुगेकी हुन्। एएफपीका अनुसार उनी उत्तर कोरियाको नाम अंकित सेतो रंगको निजी जेटमार्फत दक्षिण कोरियाली राजधानी सोलनजिकैको इनचियोन विमानस्थलमा उत्रेकी थिइन्।


किम उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनकी बहिनी तथा पूर्वशासक किम जोङ–इलकी कान्छी छोरी हुन्। किम जोङ–उनकी निकट सहयोगी किम यो–जोङ गत वर्षका अन्त्यमा उत्तरको शक्तिशाली पोलिटब्युरो सदस्यमा चयन भएकी थिइन्। उनीविरुद्ध उत्तर कोरियामा मानव अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको छ। उनी आफ्ना दाजुभन्दा करिब ४ वर्ष कान्छी भएको अनुमान गरिएको छ। उनका दाजु हाल ३४ वर्षका भए।


बीबीसीले किमको भ्रमणले किम जोङ–उन दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न गम्भीर रहेको प्रस्ट भएको उल्लेख गरेको छ। बीबीसीका दक्षिण कोरिया संवाददाता लाउरा विकरले किमले दक्षिण कोरियाली नेतृत्वसमक्ष आफ्नो दाजुको महत्त्वपूर्ण सन्देश ल्याएको हुन सक्ने उल्लेख गरेकी छन्। सन् १९५० देखि ३ वर्षसम्म चलेको युद्धपछि कोरियाली प्रायद्वीप दुई देशमा विभाजित भएको हो। त्यसयता उत्तर र दक्षिण कोरियाबीच हालसम्म कुनै पनि शान्ति सम्झौता भएको छैन।


लगातारको क्षेप्यास्त्र परीक्षण र परमाणु कार्यक्रममा कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अमेरिकालगायतका अन्तर्राष्ट्रिय समुदायले नाकाबन्दी लगाउँदै आएका छन्। पेन्स रात्रिभोजमा सरिक भएनन् अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शीतकालीन ओलम्पिकको उद्घाटनअघि दिइएको रात्रिभोज बहिस्कार गरेका छन्। पेन्सले उत्तर कोरियाली आलंकारिक राष्ट्रप्रमुख किम योङ–नामसँगै एउटै टेबलमा बस्नुपर्ने भएपछि भोजमा सरिक नभएको एएफपीले जनाएको छ।


ओलम्पिकको उद्घाटनअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले रात्रिभोजको आयोजना गरेका थिए। टेलिभिजनमा प्रसारित दृश्यमा पेन्स र किम आमने–सामने बस्ने व्यवस्था मिलाइएको देखिन्थ्यो। दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसका प्रवक्ताका अनुसार रात्रिभोजमा केही समय ढिला आइपुगेका पेन्स टेबलमा बसिरहेकाहरूसँग सामान्य शिष्टाचार अभिवादनपछि कुर्सीमा नबसी बाहिरिएका थिए।


यसअघि पेन्सले ओलम्पिकमा सहभागी अमेरिकी खेलाडीसँगै रात्रिभोजमा सरिक हुने बताएका थिए। तर त्यसअनुसार बस्ने व्यवस्था नभएका कारण करिब ५ मिनेटमै पेन्स उक्त स्थानबाट बाहिरिएका थिए। दक्षिण कोरियाली समाचार संस्था योनेपका अनुसार मुन र किमले भने अभिवादनसहित हात मिलाएका थिए। ‘पेन्सलेले किमसँग भने हाल मिलाएनन्,’ ब्लु हाउसका प्रवक्ताले भने, ‘उनले जापानी प्रधानमन्त्री सिन्जो अबेसँग हात मिलाए र केहीबेर कुराकानी गरे।’ पेन्स र अबे रात्रिभोजका अवसरमा सामूहिक तस्बिर खिच्ने कार्यक्रममा समेत सहभागी भएनन्। तर किम भने दक्षिण कोरियाली राष्ट्रपति मुनको पछि उभिएका थिए।


यसअघि बिहीबार उत्तर कोरियाले ओलम्पिक खेलकुदमा सहभागी हुन दक्षिण कोरिया गएका अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने कुनै योजना नरहेको बताएको थियो। उत्तर कोरियाले शीतकालीन ओलम्पिकमा सहभागी हुन उच्च राजनीतिक नेतृत्व पठाएपछि वार्ता हुन सक्ने समाचार सार्वजनिक भएको थियो।


तर त्यसको प्रतिक्रियामा प्योङयाङले अमेरिकासँग वार्ताको कुनै सम्भावना नरहेको जनाएको थियो। उत्तर कोरियाली समाचार संस्था केसीएनएले उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न आह्वान

नगरेको र भविष्यमा पनि त्यसको सम्भावना नरहेको जनाएको थियो।


शीतकालीन ओलम्पिकको शुक्रबारको उद्घाटनमा भने दुवै कोरियाले एउटै झण्डामुनि ‘मार्चपास’ गरेका छन्। ओलम्पिकमा भाग लिन बुधबार ४ सय उत्तर कोरियाली खेलाडी तथा समर्थक दक्षिण कोरिया पुगेका थिए।

प्रकाशित : माघ २७, २०७४ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?