कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावपछि भारतको त्रिपुरामा हिंसा

एजेन्सी

नयाँदिल्ली — भारतको त्रिपुरा राज्यमा हालै भएको विधानसभा चुनावको परिणाम सार्वजनिक भएसँगै हिंसा भड्किएको छ । 

यसअघि दशकौंसम्म कम्युनिस्ट पार्टीले शासन गरेको त्रिपुरामा भारतीय जनता पार्टी (भाजपा) ले चुनाव जितेपछि हिंसा भड्किएको हो । भाजपा कार्यकर्ताले ‘रूसी क्रान्तिका नायक’ भ्लादिमिर लेनिनको सालिक ढालेका छन् । निर्वाचनमा २५ वर्ष शासन गरेको भारतीय कम्युनिस्ट पार्टी–माक्र्सवादी (सीपीआई–एम) लाई पराजित गरेको भाजपाका कार्याकर्ताले विजय जुलुस मनाउने क्रममा सालिकमा तोडफोड गरेका हुन् । सीपीआई–एमका नेता तथा कार्यकर्ताले लेनिनलाई आफ्नो आदर्श मान्छन् ।


भारतीय सञ्चारमाध्ययमका अनुसार भाजपा कार्यकर्ताले सालिक ढलाउन एक्साभेटरको प्रयोग गरेका थिए । बेलोनिया सहरमा रहेको लेनिनको सालिक ११ दशमलब ५ फिट अग्लो थियो । ढलेको सालिकलाई तर भाजपा नेता राजु नाथले एक्साभेटर प्रयोग नगरेको दाबी गरे । तर अधिकारीहरूले एक्साभेटरका चालकलाई पक्राउ गरेको र उनी धरौटीमा रिहा भएको जनाएका छन् ।


सालिकमा तोडफोडलगत्तै भाजपा कार्यकर्ताले त्रिपुरा राज्यलाई ‘कम्युनिस्ट फोबिया’ बाट मुक्त गराएरै छाड्ने बताएका छन् । सीपीआई–एमले भाजपा नेताको योजना सालिक ढालिएको आरोप लगाएको छ । सीपीआई–एमका स्थानीय नेता तपस दत्तका अनुसार भाजपा कार्यकर्ताले ढलाइएको सालिकको टाउकोमा फुटबल खेलेका थिए । सीपीआई–एमले भाजपा कार्यकर्ताले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताका घरमा आक्रमणको योजना बनाइरहेको दाबी पनि गरेको छ ।


सीपीआई–एमले भाजपाको जितपछिको अराजक गतिविधिले हिंसा भड्किएको जनाएको छ । प्रहरीले घटनामा संलग्न केही नेता तथा दर्जनौं कार्यकर्ताका पक्राउ गरेको जनाएको छ । लेनिनको सालिक तोडफोड भएलगत्तै वामपन्थी दलहरू प्रतिकारमा उत्रेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्रिपुरा राज्यको हालै सम्पन्न चुनावमा कुल ५९ सिटमध्ये ४३ सिटमा भाजपा विजयी भएको थियो ।

प्रकाशित : फाल्गुन २३, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?