कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूसद्वारा २३ बेलायती कूटनीतिज्ञ निष्कासित

बीबीसी

मस्को — पूर्वरूसी गुप्तचर र उनकी छोरीमाथिको आक्रमणपछि तनाव चुलिँदै गएिपछि रूसले २३ बेलायती कूटनीतिज्ञलाई निष्कासित गर्ने निर्णय गरेको छ । विदेश मन्त्रालयका अनुसार उनीहरूलाई रूस छाड्नका लागि एक साताको समय दिइएको छ ।

रूसद्वारा २३ बेलायती कूटनीतिज्ञ निष्कासित

रूसी विदेशमन्त्रीले शनिबार मस्कोस्थित बेलायती दूतावासमा कार्यतर २३ कर्मचारीलाई ‘पर्सोना नन ग्रेटा’ अर्थात् रूसमा बस्न वा प्रवेश गर्न नपाउने सूचीमा उल्लेख गरेको जनाएका छन् । उसले बेलायतमाथि ‘अनावश्यक रूपमा रूसलाई भडकाएको र निराधार आरोपहरू लगाएको’ जनाएको छ ।
यससँगै रूसले मस्कोस्थित ब्रिटिस काउन्सिल र सेन्ट पिटर्सवर्गस्थित कन्सुलेट कार्यालयसमेत बन्द गर्ने निर्णय गरेको रूसी विदेशमन्त्री सर्गेई ल्याभ्रोभले बताए । बेलायतले गत बुधबार २३ जना रूसी कूटनीतिज्ञलाई देश निकाला गरेपछिको जवाफमा रूसले उक्त निर्णय लिएको हो ।


बेलायती प्रधानमन्त्री टेरेजा मेले ‘बेलायतले रूसबाट यस प्रकारको कदमको पूर्वानुमान गरेको’ बताइन् । ‘सरकारले आफ्ना सहयोगीहरूसँगको छलफलपछि थप कदम चाल्ने बताइन्,’ उनले भनिन्, ‘हामीलाई हाम्रो भूभाग र बेलायती नागरिकविरुद्ध रूसले गर्ने कुनै पनि कार्य सहय हुँदैन ।’


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले उक्त निर्णयमा राष्ट्रपतिले अन्तिम हस्ताक्षर गरिसकेको जनाएका छन् । ६६ वर्षीय पूर्वगुप्तचर स्क्रिपल र उनकी ३३ वर्षीया छोरी युलिया ४ मार्चमा भएको आक्रमणपछि गम्भीर बिरामी भएका थिए । प्रारम्भिक अनुसन्धानमा उक्त आक्रमणमा ‘नोभिचोक’ नामक रसायनको प्रयोग भएको पत्ता लागेको थियो ।


राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले रूसको पछिल्लो निर्णयबारे जानकारी दिँदै बेलायती आरोपहरू ‘आश्चर्यजनक र माफी दिन नसकिने’ भएको जनाए । रूसका लागि बेलायती राजदूत लौरी बिस्टोले रूसी नागरिकसँग बेलायतको कुनै दुश्मनी नभएको बताए ।


उनले ‘बेलायतले आफ्नो रक्षाका लागि कुनै पनि आवश्यक कदम चाल्न पछि नपर्ने’ बताए । बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले रूसका पूर्वगुप्तचर सर्गेई स्क्रिपल र उनकी छोरी युलियामाथि स्नायु प्रणालीमा असर गर्ने रसायन प्रयोग भएको घटनाबारे व्याख्या गर्न अस्वीकार गरेपछि २३ कूटनीतिज्ञलाई देश निकालको गरेकी थिइन् ।


रूसले भने उक्त आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ । बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै ल्याभरोभले बेलायती प्रधानमन्त्री टेरेजा मेको आरोप ‘पागलपूर्ण’ भएको बताए । उनले बेलायतलाई अनुत्तरदायी भएको आरोप लगाउँदै आएका छन् ।


४ मार्चमा बेलायतको सालिसबरीमा भएको आक्रमणपछि गम्भीर बिरामी भएका पूर्वगुप्तचर स्क्रिपल र उनकी छोरी युलियाको हाल उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा उक्त आक्रमणमा ‘नोभिचोक’ नामक रसायनको प्रयोग भएको पत्ता लागेको थियो । आक्रमणको अमेरिका, फ्रान्स, जर्मनी लगायत देशले विज्ञप्तिमार्फत विरोध गर्दै ‘बेलायतको सम्प्रभुतामाथिकै हमला’ भएको बताएका थिए ।

उनीहरूले आक्रमणमा रूसको हात रहेको दाबी गर्दै रासायनिक हतियारसम्बन्धी महासन्धि र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको’ दाबी गरेका थिए । त्यसलगत्तै शुक्रबार बेलायतले यस प्रकारका आक्रमणको प्रतिरक्षाका लागि नयाँ रासायनिक अस्त्र प्रतिरक्षा केन्द्र खोल्ने घोषणा गरेको छ ।

प्रकाशित : चैत्र ४, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?