कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुटिन ठूलो अन्तरले रुसको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी

मस्को — रूसमा राष्ट्रपति चयनका लागि आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति भ्यादिमिर पुटिन भारी मतान्तरले चाैथोपटक राष्ट्रपति निर्वाचित भएका छन् ।

पुटिन ठूलो अन्तरले रुसको राष्ट्रपतिमा निर्वाचित

पुटिनसहित राष्ट्रपति पदका लागि ८ उम्मेदवार प्रतिस्पर्धामा थिए । पाभेल ग्रुडिनिन, भ्लादिमिर जिरिनोब्स्की, सेनिया सोवचक, ग्रिगोरी याभ्लिन्स्की, बोरिस टिटोभ, म्याक्सिम सुरेइकिन र सरगेई बबुरिन चुनावी मैदानमा थिए । उनले ती सबै प्रतिष्पर्धीलाई भारी अन्तरले पछाडि छाेड्दै ७६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् ।

प्रारम्भिक सर्वेक्षणमा पनि वर्तमान राष्ट्रपति पुटिन ६९ दशमलव ७ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित हुने देखिएको थियो । मतदानको दुई दिनअघिको सम्बोधनमा राष्ट्रपति पुटिनले ‘रुसको भविष्यका लागि मतदान गर्न’ आहवान गरेका थिए ।


राष्ट्रपति चयन भएसँगै उनले भने- 'रुसीहरुले पछिल्लो केही वर्षमा प्राप्त गरेका उपलब्धीहरुलाई अात्मसाथ गरेकाे महसुस भएको छ ।'

पुटिन सन् १९९९ देखि रुसको राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा रहेका छन् । रुसी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ ।


निर्वाचन अधिकारीका अनुसार अाइतबार ग्रिनविच मिनटाइमअनुसार पूर्वी क्षेत्रमा ८ बजे सुरु भएको मतदान राजधानी मस्कोमा भने ९ घण्टापछि भएको थियो ।


केन्द्रीय निर्वाचन आयोगका प्रमुख इल्ला पाम्फिलोभाले रुसका १० करोडभन्दा बढी नागरिक मतदानका लागि योग्य भएको जनाए । तीमध्ये करिब २० लाख मतदाता विदेशमा छन् । उनीहरूका लागि पनि मतदानको व्यवस्था मिलाइएको पाम्फिलोभाले बताए ।


मतदानका लागि देशभित्र ९७ हजार मतदान केन्द्र तोकिएका थिए । सञ्चारमाध्यमका अनुसार करिब १५ अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू निर्वाचनको अनुगमनका लागि खटिएका थिए ।


प्रकाशित : चैत्र ५, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?