कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यान्मारका राष्ट्रपतिद्वारा राजीनामा

बीबीसी

यांगुन — म्यान्मारका राष्ट्रपति टिन च्वले बुधबार आफ्नो पदबाट राजीनामा दिएको उनको कार्यालयले घोषणा गरेको छ ।

म्यान्मारका राष्ट्रपतिद्वारा राजीनामा

राजीनामाको कारणबारे केही उल्लेख गरिएको छैन । तर हालैको एक औपचारिक कार्यक्रममा निकै कमजोर देखिएपछि ७१ वर्षीय च्वको स्वास्थ्यबारे पछिल्ला महिनामा चासो व्यक्त गरिँदै आइएको थियो । दशकौंदेखिको सैनिक शासन अन्त्यपछि भएको निर्वाचनपछि उनले सन् २०१६ मा राष्ट्रपति पद सम्हालेका थिए । तर म्यान्मारको राजनीतिक शक्तिको अभ्यास नेत्री आङ सान सुकीले गर्ने भएकोले उनी आलंकारिक राष्ट्राध्यक्षको भूमिकामा थिए । राष्ट्रपतिको फेसबुक पेजमा पोस्ट गरिएको वक्तव्यमा च्वले ‘आराम लिन चाहेको’ उल्लेख छ । एक साताभित्र अर्को राष्ट्रपतिको चयन गरिने जनाइएको छ । त्यतिन्जेलसम्म पूर्वसैनिक जनरल मिन्ट स्वीले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन् ।

सैनिक शासनका बेला वर्षौंसम्म जेलजीवन बिताएकी सुकीलाई देशको उच्च पदमा बस्न प्रतिबन्ध लगाइएको छ । म्यान्मारको संविधानमा बाह्य देशको नागरिकता लिएको व्यक्ति राष्ट्रपति हुन नपाउने प्रावधान छ । सुकीलाई राष्ट्रपति हुन नदिनका लागि उक्त व्यवस्था राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती नागरिकसँग विवाह गरेकी सुकीका २ छोरा छन् । टिन च्व सुकीका बाल्यकालीन साथी, लामो समयदेखिका सल्लाहकार तथा पूर्वसवारी चालक पनि हुन् ।

प्रकाशित : चैत्र ८, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?