फ्रान्समा रेलसेवा ठप्प

बीबीसी/एएफपी

पेरिस — राष्ट्रपति इम्यानुएल म्याक्रोंले सार्वजनिक गरेको श्रम सुधार योजनाको विरोधमा गरिएको हड्तालका कारण फ्रान्समा विरोधमा रेल सञ्जाल प्राय ठप्प भएको छ । राष्ट्रिय रेलसेवाका कर्मचारी (एसएनसीएफ) को अगुवाईमा भएको हड्तालले उर्जा तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रसमेत प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


मंगलबारदेखि शुरु गरिएको हड्ताल हरेक ५ दिनमा दुई दिन गरिने रेलसेवाका कर्मचारीले जनाएका छन्। हड्ताल अप्रिल, मे र जुन महिनाभर जारी रहने एसएनसीएफले जनाएको छ। हड्तालका कारण आगामी ३ महिनामा ३६ दिन रेलसेवा ठप्प हुनेछ।

यो गतवर्ष मे महिनामा राष्ट्रपतिमा निर्वाचित म्याक्रोंलाई पद सम्हालेयताकै कठिन चुनौति भएको बीबीसीले जनाएको छ।

फ्रान्समा रेलसेवा सञ्चालन गर्ने ४ प्रमुख संगठनले हड्ताल गरेका हुन्। बीबीसीका अनुसार रेलसेवाका करिब ७७ प्रतिशत चालक र ४८ प्रतिशत कर्मचारी हड्तालमा उत्रेका छन्।

पेरिसमा बस सेवामा मानिसहरुको निकै ठूलो भीड लागेको छ। फ्रान्सबाछ बेल्जियम, नेदरल्याण्डस् र जर्मनी पुग्ने रेलसेवा सामान्य भएपनि स्पेन, स्वीटरजरल्याण्ड र इटालीका लागि सम्पूर्ण सेवा बन्द भएका छन्।

६ प्रतिशत तलब वृद्धिको माग राख्दै एयर फ्रान्सका कर्मचारीले गरेको सेवा कटौती पनि चौथो दिनमा प्रवेश गरेको छ। एयर फ्रान्सले आफ्नो सेवा ७५ प्रतिशतमा सीमित पारेको छ।

उर्जा क्षेत्रका यूनियनहरुले पनि विभिन्न माग राख्दै हड्तालको आव्हान गरेका छन्। उनीहरुले उर्जा बजारको उदारीकरणको अन्त्य हुनुपर्ने बताएका छन्। कतिपय स्थानमा विश्वविद्यालयको प्रवेश शुल्क वृद्धिको विरोधमा हजारौं विद्यार्थीहरुले समेत हड्तालमा भाग लिएको जनाइएको छ।

प्रकाशित : चैत्र २०, २०७४ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्

सिरिया युद्ध : पूर्वी गुटा छाड्दै विद्रोही

बीबीसी/एएफपी

दमास्कस — सिरियाली विद्रोही र उनीहरूका परिवारले सरकारसँगको सम्झौतापछि पूर्वी क्षेत्र गुटा छाड्न सुरु गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार साँझसम्म ८८ विद्रोही तथा ४ सय ५९ सर्वसाधारणले हरस्ता छाडिसकेका छन् । तीमध्ये कतिपय विद्रोहीका परिवार भएको बताइएको छ ।

विद्रोही समूह अहर्र अल–सामका करिब १ हजार ५ सय लडाकुहरू र करिब ६ हजार सर्वसाधारणहरू हरस्ताबाट उत्तरी प्रान्त इडलिबतर्फ लैजान लागिएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

एक महिनाअघि सिरियाको पूर्वी क्षेत्रमा भीषण कारबाही सुरु गरेको सरकारले पहिलोपटक स्थानान्तरणसम्बन्धी सहमति भएको हो । निगरानी समूहका अनुसार पूर्वी गुटा क्षेत्रमा गरिएको एक महिना लामो हवाई आक्रमणमा परी हालसम्म कम्तीमा १ हजार ५ सय सर्वसाधारणको मृत्यु भइसकेको छ भने ५३ हजार घाइते भएका छन् ।

आक्रमणपछि ८२ हजारभन्दाबढी विस्थापित भइसकेको जनाइएको छ । स्थानान्तरणसम्बन्धी सहमतिपछि विद्रोहीहरूले आफ्नो नियन्त्रणमा रहेका मानिस छाड्न सहमत भएको जनाइएको छ । सरकारी टेलिभिजनका अनुसार उक्त सहमतिपछि विद्रोहीले १३ जनालाई छाडिसकेका छन् । त्यसैगरी अर्को विद्रोही समूह जैस–अल–इस्लामसँग पनि सम्झौता हुन लागेको बीबीसीले जनाएको छ ।

सिरियास्थित मानव अधिकारवादी संस्था ‘सिरियन अब्जर्भेटरी फर हयुमन राइट्स’ ले विभिन्न स्थानमा अझै पनि भिडन्तहरू जारी रहेको जनाएको छ । उसका अनुसार बिहीबार भएका भिडन्तमा कम्तीमा १९ जनाको ज्यान गएको छ । संस्थाका अनुसार करिब ४ हजार सर्वसाधारण खाली खुट्टै डोमा क्षेत्रबाट अन्यन्त्र गएको जनाएको छ ।

पूर्वी गुटामा भने रूसको समर्थनमा सिरियाली सेनाले एक महिनाअघिदेखि गरेको भीषण आक्रमण गर्दै आएको छ । सिरियामा ७ वर्ष लामो गृहयुद्धका कारण हालसम्म करिब ४ लाख सर्वसाधारणको मृत्यु भइसकेको छ ।

द्वन्द्वका कारण करिब ६१ लाख आन्तरिक रूपमा विस्थापित छन् भने ५६ लाखले विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेको बीबीसीले जनाएको छ ।

सुरक्षा परिषद्मा छलफल
सिरियामा जारी आक्रमणबारे संयुक्त राष्ट्रसंघमा छलफल भएको छ । छलफलमा बोल्दै महासचिव एन्टोनियो गुटेरेजले सिरिया युद्धका क्रममा रासायनिक तथा घातक हतियार प्रयोगबारे भएको गुनासोबारे चासो व्यक्त गरे ।

सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई उनले सिरियाली सैनिकले पछिल्लो समयमा गुटा, इडलिबलगायतका क्षेत्रमा गरेका आक्रमणमा रासायनिक तथा घातक हतियारको प्रयोग भएकोबारे व्यापक गुनासो आएको भन्दै सदस्य राष्ट्रको ध्यानाकर्षण गराएका छन् ।

साथै उनले त्यसविरुद्ध सुरक्षा परिषद् सदस्य राष्ट्रलाई एकताबद्ध हुन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरिया युद्धमा प्रयोग भएका घातक रासायनिक हतियार सम्बन्धमा छानबिन गर्नुपर्ने माग भइरहेका बेला गुटरेजको प्रतिक्रिया सार्वजनिक भएको हो ।


महासचिव गुटरेजले भने, ‘रासायनिक तथा घातक हतियारको प्रयोग मानव जातिमाथिकै जघन्य अपराध हो, त्यसैले यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न एकताबद्ध हुन जरुरी छ ।’

प्रकाशित : चैत्र ९, २०७४ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्