कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काबुलमा बम आक्रमण कम्तीमा ५७ मारिए

बीबीसी

काबुल — अफगानिस्तानको राजधानी काबुलस्थित मतदाता दर्ता कार्यालयमा गरिएको आत्मघाती आक्रमणमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ महिला र ५ बालबालिका छन् । 

काबुलमा बम आक्रमण कम्तीमा ५७ मारिए

मतदाता नामावलीमा नाम दर्ता गराउन कार्यालय भवन बाहिर जम्मा भएको भीडलाई लक्षित गरी आक्रमण गरिएको अधिकारीले जनाएका छन् । आक्रमणमा १ सय १९ जना घाइते भएका छन् । अधिकारीका अनुसार बम आक्रमण गरिँदा कतिपय बालबालिका आफ्ना बाबुआमासँगै लाइनमा उभिएका थिए । इस्लामिक स्टेटले समाचार संस्था अमाकमार्फत आक्रमणको जिम्मा लिएको छ । अफगानिस्तानमा आगामी अक्टोबरमा हुने निर्वाचनका लागि यसै महिनादेखि मतदाता नामावली दर्ता खुला गरिएको हो ।


इस्लामिक स्टेटको मुखपत्रका अनुसार विस्फोटक सामग्री जडित पेटी लगाएका एक व्यक्तिले पश्चिमी काबुलको दस्ते बार्ची क्षेत्रमा रहेको उक्त कार्यालय अगाडि विस्फोट गराएका थिए । दस्ते बार्ची काबुलको सिया मुसलमानको घना बस्ती रहेको क्षेत्र हो । उक्त क्षेत्रमा पटकपटक इस्लामिक विद्रोहीले आक्रमण गर्दै आएका छन् । बम आक्रमण कसरी गरियो भन्नेबारे पाररम्भिक विवरण सार्वजनिक गरिएको छैन । आक्रमणका कारण नजिकै रोकिएका गाडीहरू समेत ध्वस्त भएका थिए ।


‘म होशमा आउँदा मृतक महिला तथा बालबालिकाका बीचमा घाइते अवस्थामा थिएँ ।’ २६ वर्षीय रसुलीले समाचार संस्था एएफपीसँग अस्पतालको शय्याबाट भने, ‘मेरो शरीरमा जताततै रगत लत्पतिएको थियो ।’ उनले लाइनमा लागेका मानिसहरू सबै मतदान गर्ने उत्साहका साथ आएको बताए ।


घटनास्थलमा फुटेका झ्यालका सिसा, पासपोर्ट साइजका फोटो तथा कागजातहरू छरिएका देखिन्छन् । स्थानीय एक टेलिभिजनकर्मीसँग कुरा गर्दै अर्का एक घाइतेले भने, ‘मेरा दुई छोरीहरू कहाँ छन्, केही थाहा छैन ।’ स्थानीय टेलिभिजनमा प्रसारित दृश्यमा आक्रोशित मानिसहरूले सरकार र तालिवानविरुद्ध नाराबाजी गरेको रोयटर्स समाचार संस्थाले जनाएको छ । मतदाता नामावली दर्ता एक साताअघि सुरु गरिएको हो । त्यसयता विभिन्न ४ केन्द्रमा विद्रोहीले आक्रमण गरिसकेका छन् । अफगानिस्तानमा आगामी अक्टोबरमा संसद्को तथा सन् २०१९ मा राष्ट्रपति निर्वाचन हुँदै छ ।


बीबीसीले हालसालै गरेको एक अनुसन्धानका अनुसार अफगानिस्ताको कुल भूगोलको ३० प्रतिशत मात्र सरकारको नियन्त्रणमा रहेको छ । आन्तरिक मामिला मन्त्रीले बीबीसीलाई इस्लामिक स्टेट र तालिवानले मानिसहरूलाई सरकारविरुद्ध उक्साउन सर्वसाधारण लक्षित आक्रमण गर्ने गरेको दाबी गरे ।

प्रकाशित : वैशाख १०, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?