कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर कोरिया लक्षित प्रोपागान्डा बन्द 

बीबीसी

सोल — दक्षिण कोरियाले उत्तर कोरियालाई लक्षित गरी चर्को स्पिकरमार्फत प्रसारण गर्दै आएको प्रोपागान्डा सोमबारदेखि बन्द गरेको छ ।

उत्तर कोरिया लक्षित प्रोपागान्डा बन्द 

दक्षिण कोरियाले उत्तरसँगको सीमाक्षेत्रमा विगत दुई वर्षदेखि दर्जनौं चर्को स्पिकरमार्फत प्योङयाङविरोधी गीतसंगीत

तथा समाचार प्रसारण गर्दै आएको थियो ।


उत्तर र दक्षिण कोरियाबीच यही शुक्रबार शिखर वार्ता हुँदै छ । दक्षिण कोरियाली अधिकारीले स्पिकर बन्द गर्ने कदमले उक्त वार्ताका लागि सहयोग पुग्ने जनाएका छन् ।


‘उक्त कदमले दुई देशका सेनाबीचको तनाव कम गर्नुका साथै शान्तिपूर्ण शिखर वार्ताको वातावरण निर्माण गर्छ ।’ सैनिक प्रवक्ता चोई होइ–हयुनले भने, ‘हामीलाई लाग्छ यसले दुई देशको सामूहिक आलोचना र प्रोपागान्डा रोक्न मद्दत गर्नुका साथै शान्ति स्थापनाको सुरुवात हुनेछ ।’


उत्तर कोरियाले पनि सीमाक्षेत्रमा त्यस्ता स्पिकरहरू बजाउने गरेको छ । यद्यपि उत्तरले भने कहिलेदेखि त्यस्ता चर्का स्पिकरहरू बन्द गर्छ भन्ने यकिन छैन ।


गत शनिबार उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले क्षेप्यास्त्र तथा परमाणु परीक्षण केन्द्र बन्द गर्ने घोषण गरेका थिए । किमले उत्तर कोरियाको परमाणु क्षमता प्रमाणित भइसकेको जनाउँदै थप परीक्षण आवश्यक नभएको दाबी गरेका थिए ।


उत्तर कोरियाले अमेरिकासँग ऐतिहासिक वार्ताको तयारी गरिरहेका बेला अप्रत्याशित रूपमा किमले परमाणु कार्यक्रम बन्द गर्ने घोषणा गरेका हुन् ।


किमले अगामी जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अभूतपूर्व शिखर वार्ता गर्ने बताइएको छ । यद्यपि, उक्त भेटवार्ताबारे हालसम्म मिति र स्थानबारे केही उल्लेख गरिएको छैन । यदि किम र ट्रम्पबीच भेटवार्ता भए उनी उत्तर कोरियाली नेता भेट्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुनेछन् ।


उत्तर कोरियालाई नि:शस्त्रीकरणका लागि दबाब दिँदै आएका दक्षिण कोरिया तथा अमेरिका दुवैले किमको घोषणाको स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले किमको घोषणा उत्तर कोरिया र विश्वकै लागि निकै सुखद समाचार भएको प्रतिक्रिया दिएका थिए ।


दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाको कदम ‘अर्थपूर्ण उपलब्धि’ भएको जनाएको थियो । त्यसैगरी किमको घोषणाको युरोपेली संघ, चीन, बेलायतलगायतले पनि स्वागत गरेका थिए ।

प्रकाशित : वैशाख ११, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?