बेलायतको स्थानीय निर्वाचनमा नेपालीहरु पनि प्रतिस्पर्धामा

नवीन पोखरेल

लन्डन — इंग्ल्यान्डको १५० काउन्सिलमा ४ हजार ३७० सिटका लागि बिहीबार (३ मे) स्थानीय निर्वाचन हुँदैछ । लन्डनको सबै ३२ बरो तथा बेलायतका ठूला शहर म्यानचेस्टर, बर्मिङ्हाम, लिड्स, न्यूकासल आदिमा स्थानीय चुनाव हुन लागेको हो ।

हयाक्नी, लुइसम, न्यूहाम, टावर हयामलेट्स, वाटफोर्ड र सेफिल्ड सिटी गरी ६ क्षेत्रमा मेयरको चुनाव हुँदैछ।

Yamaha

विहान ७ बजेदेखि राती १० बजेसम्म हुने मतदानका लागि २ करोड २० लाख मतदाता योग्य छन्। यहाँ स्थानीय निकायको निर्वाचन प्रत्येक चार वर्षमा हुन्छ।

स्थानीय मतदाताले सरकारको काम कारवाही हेरेर मतदान गर्ने परिपाटी बेलायतमा छ। ब्रेक्जिट, आप्रवासी, अर्थतन्त्र, सामाजिक न्याय जस्ता प्रमुख मुद्दाहरु जनचासोका रुपमा छ। वर्तमान सरकारको अध्यागमन नीतिका कारण धेरै आप्रवासी रहेको लन्डनमा वर्तमान सत्तारुढ कन्जरभेटिभ पार्टी पराजित हुने पूर्व आँकलन गरिएको छ।

गत फेब्रुअरीमा गरिएको युगोभ सर्वेक्षणमा संयुक्त अधिराज्यको राजधानी लन्डनका ७८ प्रतिशत ब्ल्याक एण्ड इथ्नीक माइनोरिटी मतदाताले विपक्षी लेबरलाई समर्थन गर्ने उल्लेख थियो। १२ प्रतिशतले मात्र सत्तारुढ कन्जरभेटिभका उम्मेदवारलाई मतदान गर्ने बताएका थिए।

क्यारेबियन आप्रवासीलाई देश निकाला गर्ने योजनाको वीन्डरस काण्ड, ब्रेक्जिट अनि बढ्दो हाउजिङ मूल्य आदि कारणले यो पटक कन्जरभेटिलाई धक्का लाग्ने विश्लेषण छ।

यसपटक बेलायती मूलका करिब आधा दर्जन नेपाली पनि प्रतिस्पर्धा गर्दैछन्। लन्डन बरो अफ बार्नेटमा सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङ मतदाताबाट निकै सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया पाएकाले जित्ने दाबी गर्छन्। बेलायती प्रधानमन्त्री टेरेजा मेले समेत चुनावी अभियानमा सामेल भएर आफूलाई साथ दिएको उनले बताए।

यसपटक चुनावमा सत्तारुढ कञ्जरभेटिभ पार्टीले मुख्य विपक्षी लेबर पार्टीबाट कडा चुनौती व्यहोर्नु पर्ने आँकलन भइरहँदा आफ्नो पार्टीका उम्मेदवारहरुको मनोबल बढाउन केही साताअघि प्रधानमन्त्री मे आफैँ चुनावी अभियानमा सहभागी भएको गुरुङ बताउँछन्।

ब्रिगेड अफ गोर्खाजमा १९ वर्ष काम गरेका एकजना भूतपूर्व गोर्खा सैनिक विष्णु गुरुङ पनि स्थानीय निर्वाचनमा पुन:काउन्सिलर पदमा लडेका छन्। यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङले लेबर पार्टीको प्रतिनिधित्व गर्दै ह्यानवर्थ पार्क वार्डबाट प्रतिष्पर्धा गरेका हुन्।

बस चालक गुरुङ पहिलोपटक सन् २०१४ मा काउन्सिलर पदमा निर्वाचित भएका थिए। अर्को वर्ष उनी डेपुटी मेयर भए। गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष उनी स्थानीय काउन्सिलमा आफ्नो योगदानले फेरि पनि चुनाव जित्ने विश्वासमा छन्।

उता, लेबर पार्टीको प्रतिनिधित्व गर्दै लिला सेलिङ माबोले हार्ट डिस्ट्रिक्ट काउन्सिलको ब्ल्याकवाटर एन्ड हवली वडामा उम्मेदवारी दिएकी छन्। पार्टीको अवधारणा अनुसार, स्थानीय सेवा विस्तार आफ्नो एजेण्डा रहेको उनले बताइन्। उनको क्षेत्रमा कन्जरभेटिभको पकड छ।

विगत २० वर्ष देखि बेलायत बस्दै आएकी माबो ५ वर्षयता लेबर सदस्य छन्। त्यहाँ ४५ कुल उम्मेदवारमध्ये उनी एकमात्र नेपाली हुन्।

लन्डनवासी सुरेन्द्र ढुंगानाले पनि इलिङ काउन्सिलको होबेइन वडामा कन्जरभेटिभ पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्। पेशाले चार्टर्ड अकाउन्टेन्ट ढुंगाना सन् २००० देखि उक्त वडामा बस्छन्। उनी आफ्नो क्षेत्रको सडक, पेटी, पार्क सुधार अनि वातावरण स्वच्छ राख्ने योजनाका साथ चुनावी मैदानमा उत्रिएका छन्।

त्यसैगरि, कमलबहादुर गुरुङले लन्डन बरो अफ बार्नेटको सेड वार्डमा लेबर पार्टीबाट उम्मेदवारी दिएका छन् भने आनन्द राई फेल्थामनर्थ क्षेत्रमा कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर उठेका छन्।

Esewa Pasal

प्रकाशित : वैशाख १९, २०७५ १७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बालविवाह गर्ने जोडी मण्डपबाटै पक्राउ

काशीराम डाँगी

रोल्पा — बालविवाह गरेको अभियोगमा प्रहरीले रोल्पा नगरपालिका-२ ह्वालीगाउँबाट एक जोडीलाई पक्राउ गरेको छ । कानुनविपरीत विवाह गरेका दुलाहा राजकुमार खड्कासहित दुलहीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उमेर नपुग्दै विवाह गरेका किशोरकिशोरीलाई दुलाहा खड्काको घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइएको हो ।

प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बालविवाह गरेको अभियोगमा पक्राउ गरिएका किशोरकिशोरीको जोडीलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए । विवाह गरेका केटाकेटी दुवैको उमेर १७ वर्ष छ । बालविवाह गरेको प्रमाणित भएमा तीन वर्षसम्म जेल चलान गर्ने र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । मुलुकी ऐन २०७४ को विवाहसम्बन्धी कसुरमा बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ ।
अधिकारकर्मी र गाउँलेहरुले सम्झाईबुझाई गर्दा पनि बालविवाह रोक्न नमानेपछि प्रहरीले उजुरीका आधारमा विवाहस्थलबाटै उनीहरुलाई पक्राउ गरेको हो । नगरपालिका-२ को रेउघास्थित प्रहरी चौकीमा विवाह रोक्ने उद्देश्यले बालविवाह न्यूनीकरण समितिले उक्त बालविवाह हुनु एक दिनअघि मंगलबार उजुरी दिएको थियो । समितिकी अध्यक्ष सविना घर्तीमगरले बालविवाह अत्यधिक बढेकाले रोक्न प्रहरीसँग सहयोग माग्दै उजुरी दर्ता गरेकी थिइन् । उजुरी अनुसार जिल्ला प्रहरी प्रमुख प्रनाउ फुयालले विवाह रोक्न प्रहरी परिचालन समेत गरेका थिए । तर, केटापक्षले प्रहरी र बालविवाह न्यूनीकरण समितिको सल्लाहविपरीत बुधबार बिहानै धुमधामले विवाह गरेका थिए । केटाका बुबा मैते खड्का विदेश छन् भने आमा दिलसरीलाई पनि प्रहरीले जिल्ला प्रहरी कार्यालयमा सोधपुछका लागि लिएको छ ।

वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बालविवाह रोक्न पटक पटक पहल गरे पनि केटा पक्षले बेवास्ता गरेको बताए । विवाह गर्नुअघि नै केटाकेटी दुवैले माध्यमिक तहको पढाइ छोडेका थिए । प्रहरीले बालविवाह भोजमा सहभागीलाई समेत सोधपुछका लागि बोलाउने भएको छ । प्रनाउ फुयालले केटाकेटीको बयानपछि अरुसँग पनि सोधपुछ गर्न बोलाउन सकिने बताए ।

प्रकाशित : वैशाख १९, २०७५ १७:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT