कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हजुरबुबा’ प्रधानमन्त्री

एजेन्सीहरू

काठमाडौँ — मलेसियाका महाथिर बिन मोहम्मद आफूले प्रतिस्पर्धा गरेका सबैजसो निर्वाचनमा विजयी भए । यही बिहीबार उनले आफ्नो राजनीतिक जीवनमा अर्को एउटा रेकर्ड कायम गरे, विश्वकै बढी उमेरको निर्वाचित प्रधानमन्त्रीका रूपमा ।

‘हजुरबुबा’ प्रधानमन्त्री

‘हो, म अझै जिउँदै छु,’ मलेसियाको १४ औं आमनिर्वाचनमा बारिसन नासिओनल (बीएन) माथि विजयी हासिल गरेपछिको पत्रकार सम्मेलनमा ९२ वर्षीय महाथिरले भने । मलेसियाको स्वतन्त्रतायताका सबै निर्वाचन जितेको बीएनले ६ दशक लामो शासनसत्ता सञ्चालन गरेको छ ।

महाथिरको नेतृत्वको गठबन्धनले मलेसियाको प्रधानमन्त्रीका रूपमा सन् १९८१ देखि २२ वर्ष शासन गर्‍यो । आफ्नो दुई दशकभन्दा लामो शासनकालमा महाथिरले गरिब तथा पिछडिएको मलेसियालाई एक आधुनिक औद्योगिक राष्ट्रका रूपमा विश्वसामु उभ्याए । महाथिरले अवलम्बन गरेका नीतिहरूले उनको शासनकालमा मलेसियालाई एसियाको आर्थिक शक्तिका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको थियो ।

त्यसैले उनलाई ‘मलेसियाको आधुनिकीकरणका पिता’ तथा आर्थिक विकासका प्रणेता मानिन्छ । सन् २००१ मा प्रधानमन्त्री पदबाट बाहिरिएपछि पनि मोहम्मद राजनीतिबाट खासै टाढा भने रहेनन् । तर पछिल्लो समय निवर्तमान प्रधानमन्त्री नाजिब रजाक राज्य विकास कोष संलग्न भएको भनिएको एमडीबीको अर्बौं डलरको आर्थिक अनियमितता काण्डमा मुछिएपछि महाथिर फेरि राजनीतिमा सक्रिय रूपमा देखापरे ।

उक्त घटनापछि रजाकविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका मोहम्मद लामो समयदेखि आफू संलग्न युनाइटेड मलाय नेसनल अर्गनाइजेसन (यूएमएनओ) परित्याग गरी सन् २०१६ फेब्रुअरीमा नयाँ पार्टी स्थापना गरे । महाथिर सत्तारूढ गठबन्धनका अध्यक्ष नाजिब रजाकविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै राजीनामा माग्दै आएका थिए । गत सन् १९८१ मा उनले सत्ता सम्हाल्नुपूर्व मलेसिया नेपालजस्तै संक्रमणमा गुज्रिरहेको थियो ।

गत बुधबार भएको निर्वाचनमा महाथिरको ‘बर्सातु मलेसिया’ पार्टी सम्मिलित गठनबन्धन पाकातान हरापनले ‘चामत्कारिक’ रूपमा संसदका २ सय २२ मध्ये १ सय १५ सिट जितेको हो । सन् १९२५ को जुलाई १० मा मलेसियाको ग्रामीण क्षेत्र अलोर सेतारमा जन्मेका महाथिरले छात्रवृत्तिमा अंग्रेजी भाषाको विद्यालयमा पढेका हुन् । त्यसलगत्तै सिंगापुरको किङ एडवार्ड कलेजमा चिकित्साशास्त्र अध्ययन गरेका महाथिरले केही वर्ष सिंगापुरमा सरकारी डाक्टरका रूपमा कार्य गरेका थिए । सन् १९५६ मा स्वेदश फर्केका उनले केही समय अलोर सेतार क्षेत्रमा डाक्टरका रूपमा समेत कार्य गरे ।

मलेसियाको स्वतन्त्रता आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका महाथिर यूएमएनओको कट्टर समर्थक बने । त्यसलगत्तै उनी छोटो समयमा उनी पार्टीको महत्त्वपूर्ण सदस्य बने । सन् १९५९ मा संसदका लागि चुनाव लड्ने तयारी गरेका महाथिर तत्कालीन प्रधानमन्त्री टुंकु अब्दुल रहमानसँगको विवादपछि प्रतिस्पर्धा छाडे । महाथिर १९६४ मा पहिलोपटक कोटा सेटार सेलेटन क्षेत्रको प्रतिनिधित्व गर्दै संघीय सांसद बने । उनले आफ्नो कार्यकाल सुरु गर्दा मलेसियामा जातीय द्वन्द्व चर्केको थियो ।

सन् १९६९ मा चिनियाँ र मलाया जातिबीच भएको दंगामा दुवैतर्फका सयौं मानिसको ज्यान गयो । दंगाबीच पुन: भएको निर्वाचनमा भने पराजय बेहोरे । त्यसताका महाथिरले खुला पत्र लेख्दै चिनियाँ जातिको स्वार्थमा कार्य गरेको भन्दै तत्कालीन प्रधानमन्त्री रहमानको कडा आलोचना गरेपछि उनलाई पार्टीले बर्खास्त गर्‍यो । यद्यपि, उक्त कदपछि उनको चर्चा भने थप बढयो ।

१९७० मा उनले ‘द मलाया डिलेमा’ नामक पुस्तक प्रकाशन गरे । कतिपयले विश्लेषकहरूले प्रशासनको खरो आलोचना गरिएको पुस्तकका कारण रहमानको पतन सुरु भएको विश्वास गर्छन् । करिब ३ वर्षको विश्रामपछि राजनीतिमा फर्केका महाथिर प्रधानमन्त्री अब्दुल रजाक हुसेनको प्रधानमन्त्री कालमा सिनेटको सदस्य बने । १९७४ मा सांसद, शिक्षामन्त्री बनेका महाथिर यूएमएनओ पार्टीको उपाध्यक्ष निर्वाचित भएलगत्तै उपप्रधानमन्त्री भए ।

सन् १९८१ मा प्रधानमन्त्री बनेका महाथिरले २००३ अक्टोबर १३ मा राजनीतिबाट संन्यास लिने घोषणा गरे । त्यसयताका केही वर्ष लेखनमा बिताएका महाथिरका १६ पुस्तक प्रकाशित छन् । तर पछिल्लो समय एमडीबीको आर्थिक घोटला काण्डसँगै तीन वर्षअघि उनी पुन: सक्रिय राजनीतिमा फर्केका थिए । विभिन्न ४ पार्टी सम्मिलित विपक्षी गठबन्धनले महाथिरलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको थियो । एक कार्यकाल प्रधानमन्त्री पदको आकांक्षा राख्दै प्रतिनिधिसभा सदस्यमा उठेका महाथिरले केडाहको लंकाबी क्षेत्रमा आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मत अन्तरले पराजित गरे ।

आफ्ना राजनीतिक उत्तराधिकारी ठानिएका प्रभावशाली नेता अनवर इब्राहिमसँग मतभेद बढेपछि महाथिरले १९९८ मा आकस्मिक रूपमा बर्खास्त गरेका थिए । अनवर पछिल्लो समय यौनदुराचारसम्बन्धी एक मुद्दामा जेलमै छन् । तर यी दुई ‘राजनीतिक वैरी’ हरू आफ्ना मतभेद त्यागेर सबैलाई अचम्मित पार्दै नजिब रजाकविरुद्ध सँगै उभिएकाले पछि पछिल्लो चुनावमा सफलता प्राप्त गरेका हुन् । शुक्रबार राजधानी क्वालालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा महाथिरले ‘क्षमादान पाएपछि अनवर प्रधानमन्त्रीका लागि योग्य हुने’ बताए । महाथिरले आफ्ना उत्तराधिकारीका रूपमा पनि अनवरलाई क्षमादान दिलाउने अपेक्षामाझ शुक्रबार मात्रै उनले भनेका छन्, ‘मलेसियाली राजा अनवर इब्राहिमलाई आममाफी दिन सहमत भएका छन् ।’ साथै, मलेसियाली युवा पुस्ताबीच ‘हजुरबुबा’ का रूपमा परिचित महाथिरले उद्घोष गरे, ‘आगामी दुई वर्षभित्र छोरा पुस्ताका अनवर मेरा नाति पुस्ताका मलेसियालीको प्रधानमन्त्री बन्नेछन् ।’

प्रकाशित : वैशाख २९, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?