कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीको भ्रमणबारे भारतमै प्रश्न

कंग्रेस र भाजपाबीच आरोप–प्रत्यारोप
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (२८–२९ वैशाख) बारे भारतमै प्रश्न उठेको छ । उनको भ्रमणबारे नेपालको संघीय संसद्मा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ ।

मोदीको भ्रमणबारे भारतमै प्रश्न

नेपाल भ्रमणका क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेसबीच आरोप–प्रत्यारोप चलेको हो ।


प्रतिपक्षी कंग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको हिन्दु धार्मिक तीर्थाटनप्रति आपत्ति जनाएको छ । उक्त भ्रमण नेपालसँगको सम्बन्ध सुधार्नभन्दा कर्नाटकको चुनाव प्रभावित गर्न लक्षित भएको आरोप कंग्रेसको छ ।


कंग्रेसका महासचिव तथा वरिष्ठ नेता अशोक गहलोतले मोदीको भ्रमणलाई दक्षिण भारतीय राज्य कर्नाटकको चुनाव प्रभावित पार्ने नियतले गरिएको दाबी गरे । कर्नाटकका हिन्दु मतदाता प्रभावित गर्न मोदीले जनकपुर, पशुपति र मुक्तिनाथ दर्शन गरेको आरोप उनले लगाए ।


राजस्थानका पूर्वमुख्यमन्त्री गहलोतले मोदीको नेपाल भ्रमणको साइत नियतवश नै कर्नाटक चुनावको समयमा पारिएको र निर्वाचन आचारसंहिताको धज्जी उडाइएको समेत बताए । सोही दलका प्रवक्ता टोम वडक्कनले पनि समयका हिसाबले मोदीको भ्रमणमाथि प्रश्न गर्ने प्रशस्त ठाउँ रहेको बताए ।


‘भ्रमणलाई लिएर प्रश्न गर्ने प्रशस्त ठाउँ छ । यो विदेश मामिलासँग जोडिएको विषय भए पनि देशभित्र चुनावी प्रक्रिया चलिरहेका बेला भएको धार्मिक भ्रमणलाई सही मान्न सकिँदैन,’ उनले भने । गहलोतको भनाइको समर्थन गर्दै प्रवक्ता टोमले भने, ‘पार्टीको महासचिव भएकाले पनि उहाँले बोलेका कुरा पार्टीको आधिकारिक लाइनभन्दा फरक पर्दैन ।’


भाजपाका प्रवक्ता नलिन एस कोहलीले भने गहलोतको आरोपको खण्डन गर्दै मुलुकको विदेश सम्बन्ध र देशभित्रको चुनावबीच कुनै सरोकार नभएको बताए ।


कोहलीले भने, ‘मलाई विश्वास छ, गहलोतलगायत कंग्रेसका वरिष्ठ नेताहरू यसबारे जानकार छैनन् । उनीहरूको तर्कसँग सहमत हुने हो भने भारतमा बर्सेनि नियमित रूपमा धेरैवटा चुनाव हुने गर्छन् र त्यसो हो भने हाम्रा प्रधानमन्त्रीले कहिल्यै पनि छिमेकी मुलुकको भ्रमण गर्न पाउने छैनन् ।’

भारतका प्रमुख राजनीतिक दलबीच नेपालका पवित्र तीर्थस्थललाई लिएर भएको आरोप–प्रत्यारोपको मुख्य कारण १२ मेमा सम्पन्न कर्नाटकको चुनावी परिणामले राख्ने दुरगामी महत्त्व पनि हो ।


किनकि, राजनीतिक विश्लेषकहरूले कर्नाटक राज्यको चुनावको परिणामले भारतको केन्द्रीय राजनीतिको कोर्स नै बदल्न सक्ने आकलन गरेका छन् । त्यसैले पनि कंग्रेस र भाजपा दुवैले कर्नाटक चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् ।


कंग्रेसले जित हासिल गरे उसको मनोबल उच्च हुने र उसकै पछाडि अन्य दल पनि २०१९ को लोकसभाका लागि बीजेपी सरकारविरुद्ध गोलबद्ध हुँदै जाने विश्लेषकहरूको दाबी छ । सत्तारूढ दल भाजपाले यो चुनावलाई दक्षिण भारतको प्रवेशद्वारका लिएको देखिन्छ । कर्नाटकमा जित हात पारे आगामी लोकसभा चुनावसम्म दक्षिण भारतीय राज्यहरूमा समेत आफ्नो प्रभाव विस्तार गर्दै लैजाने योजनामा भाजपा देखिन्छ ।


मोदीको यस पटकको नेपाल भ्रमण विशेषत: घरभित्रको राजनीति लक्षित भएको दाबी दिल्लीका परराष्ट्र मामिलाका विश्लेषक र पत्रकारहरूले समेत गरेका छन् । जनकपुर, मुक्तिनाथ हुँदै पशुपतिनाथ गएर टुंगिएको उनको तीर्थाटन विशेषगरी उत्तरप्रदेश, बिहारदेखि दक्षिण भारतीय राज्य कर्नाटकसम्म लक्षित रहेको उनीहरूको दाबी छ । कर्नाटकको जनसांख्यिक संरचना हेर्ने हो भने उक्त दाबीलाई गलत भन्न मिल्दैन ।


करिब ८४ प्रतिशत हिन्दु जनसंख्या भएको कर्नाटकमा हिन्दु धर्मावलम्बीमध्ये पनि शैव र वैष्णव सम्प्रदायको बाहुल्य छ । वैष्णव सम्प्रदायका लागि मुक्तिनाथ र शैव सम्प्रदायका लागि पशुपतिनाथ सबैभन्दा ठूला पवित्रस्थल मानिन्छन् ।


एक भारतीय अंग्रेजी दैनिकका वरिष्ठ पत्रकारले नाम नबताउने सर्तमा मोदीका हरेक कदम विशेष रणनीतिअन्तर्गत हुने हुँदा एकैपटक नेपालका तीनवटा तीर्थस्थलको भ्रमण हुनु पनि त्यसै रणनीतिअन्तर्गत रहेको बताए ।


मोदीको भ्रमण विशेषगरी कर्नाटकमा हिन्दु र त्यसमा पनि वैष्णव सम्प्रदाय र उत्तरप्रदेशमा रामभक्त हिन्दुहरूको मन जित्न लक्षित रहेको ती पत्रकारको दाबी छ । भ्रमण हालै सम्पन्न कर्नाटक चुनावदेखि आगामी वर्षको लोकसभा चुनावसम्म लक्षित रहेको ती पत्रकारले बताए ।


त्यसो त सन् २०१४ मा १८ औं सार्क सम्मेलनताका भएको मोदीको नेपाल भ्रमणमा पनि जनकपुर भ्रमणको योजना विवादित बनेको थियो । त्यतिबेला मोदीले जनकपुरमा सार्वजनिक सभालाई सम्बोधन गर्ने र त्यही कार्यक्रममा स्थानीय महिलालाई १० हजार थान साइकल बाँड्ने योजना सार्वजनिक भएको थियो ।


तर, उक्त कार्यक्रमबाट मोदीले नेपालको मधेसी राजनीतिप्रति आफ्नो समर्थन देखाउने र सीमावर्ती बिहारको भोट बैंक रिझाउने नियत राखेको ठम्याउँदै तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले असहमति जनाएपछि उक्त कार्यक्रम रोकिएको थियो । यस पटक भने मोदीले जनकपुरसहित अन्य दुई प्रमुख हिन्दु तीर्थस्थलको समेत भ्रमण गरेका छन् । अन्तिम समयमा स्थगित गरिएको उक्त भ्रमणलाई लिएर कंग्रेस आईका मणिशंकर ऐरलगायतका वरिष्ठ नेता अहिले पनि तिखो आलोचना गर्छन् ।


त्यसो त मोदी भ्रमणको मितिबारे यस पटक नेपालमा पनि टीकाटिप्पणी नभएको होइन । भारतीय पक्षबाट एकतर्फी रूपमा मिति प्रस्ताव गरिएकोमा कूटनीतिक वृत्तबाटै आलोचना भएको थियो । आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गरेका प्रधानमन्त्री केपी ओली पनि चीन जाने तयारी गर्दै थिए । त्यसैको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन गएका थिए ।


तर, परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमै रहेका बेला भारतीय विदेश मन्त्रालयले मोदी भ्रमणका लागि मिति नै किटान गरेर प्रस्ताव पठाएपछि अप्ठ्यारो परिस्थिति सिर्जना भएको थियो । काठमाडौं ओर्लेलगत्तै ज्ञवालीले मोदीको भ्रमण मितिबारे छलफल हुन बाँकी रहेको बताए पनि अन्तत: केही सातापछि नेपाली पक्षले भारतीय प्रस्तावअनुसारै भ्रमण मितिमा सहमति जनाएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७५ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?