भेनेजुएलामा पुन: मडुरो

बीबीसी

कराकस — भेनेजुएलामा राष्ट्रपति निकोलस मडुरो पुन: भएको निर्वाचनमा आगामी ६ वर्षे कार्यकालका लागि विजयी भएका छन् ।

भेनेजुएलामा पुन: मडुरो

विपक्षी दलहरूले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै निर्वाचन परिणाम अस्वीकार गरेका छन् । राष्ट्रपति पदका लागि आइतबार भएको निर्वाचनमा ४६ प्रतिशत मात्र मतदान भएको थियो ।

मडुरोका प्रतिस्पर्धी हेनरी फाल्कनले मतदान सकिएलगत्तै चुनावी परिणाम अस्वीकार गर्ने बताएका हुन् । उनले भने, ‘हामीले यो चुनावी प्रक्रियालाई वैध मान्दैनौं, भेनेजुएलामा फेरि निर्वाचन हुनैपर्छ ।’ निर्वाचन परिणामअनुसार ५५ वर्षीय मडुरोले करिब ६८ प्रतिशत मत प्राप्त गरेका छन् । राष्ट्रिय निर्वाचन परिषद्का प्रमुख टिबिसे लुसेनाका अनुसार फाल्कनले भने करिब २२ प्रतिशत मात्र मत प्राप्त गरे ।

निर्वाचित भएको घोषणालगत्तै आफ्ना समर्थकलाई सम्बोधन गर्दै मडुरोले भने, ‘उनीहरूले मलाई कमजोर आंकलन गरे ।’ फाल्कनले मडुरोले चुनावी नतिजा आफ्नो पक्षमा पार्न सरकराले दिने सहुलियती रासन कार्डको चरम दुरुपयोग गरेको आरोप लगाए । सरकारी अधिकारीले निर्वाचन ‘स्वतन्त्र र निष्पक्ष’ भएको दाबी गरे पनि अधिकांश विपक्षीहरू चुनावको विपक्षमा संगठित भएका छन् ।

यसैबीच, अमेरिकाले भेनेजुएलाको राष्ट्रपतीय निर्वाचन परिणामलाई मान्यता नदिने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधिले भेनेजुएलाको निर्वाचनले ‘लोकतन्त्रकै उपहास’ गरेको जनाएका छन् । यसअघि सन् २०१८ को डिसेम्बरका लागि निर्धारण भएको चुनाव संविधानसभामा मडुरोको बहुमतपछि अघि सारिएको थियो । प्रमुख प्रतिपक्ष गठबन्धनले आफ्ना दुई प्रमुख नेतालाई चुनावमा भाग लिन नदिइएको आरो लगाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?