कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेनेजुएला निर्वाचन विवाद : मडुरोको विपक्षमा १४ देश

अमेरिका, क्यानडा, ब्राजिल, अर्जेन्टिना, मेक्सिको, कोलम्बिया, चिली, पनामा, पेरुलगायत देशले चुनावी परिणामको विरोधमा राजदूत फिर्ता बोलाए
बीबीसी

कराकस — भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले दोस्रो कार्यकालका लागि निर्वाचित भएलगत्तै अन्तर्राष्ट्रिय समुदाय उनको विरोधमा उत्रेका छन् ।

भेनेजुएला निर्वाचन विवाद : मडुरोको विपक्षमा १४ देश

आइतबार भएको निर्वाचनको परिणामअनुसार मडुरो आगामी ६ वर्षे कार्यकालका लागि राष्ट्रपति पदमा विजयी भएका थिए । तर विपक्षीहरूले चुनावमा धाँधली भएको आरोप लगाउँदै परिणाम अस्वीकार गरेका थिए ।


मडुरोविरुद्धको पछिल्लो प्रतिक्रिया स्वरूप क्यानडा, ब्राजिल, अर्जेन्टिनालगायत १४ देशले कराकसबाट आफ्ना राजदूतहरू फिर्ता बोलाएका छन् । यसअघि सोमबार नै निर्वाचन परिणामलाई मान्यता नदिने जनाएको अमेरिकाले थप आर्थिक प्रतिबन्धहरूको घोषाणा गरेको छ । हालैका वर्षहरूमा भेनेजुएलाले खाद्य संकट तथा अमेरिकी नेतृत्वको आर्थिक संकटको सामना गर्दै आएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भेनेजुएलीमाथिको दमन अन्त्य गर्न’ नयाँ निर्वाचन आवश्यक भएको बताएका छन् । अमेरिकी राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामीले मडुरोको शासनलाई देशमा लोकतन्त्र पुनस्र्थापित गर्न, स्वतन्त्र र निष्पक्ष चुनाव गर्न, राजनीतिक बन्दी रिहा गर्न र भेनेजुएली जनतामाथिको दमन अन्त्य गर्न आग्रह गर्‍यौं ।’ अमेरिकी उपराष्ट्रपति माइक पेन्सले यसअघि नै निर्वाचनलाई ‘लज्जास्पद’ तथा ‘अवैध’ बताएका थिए ।


अमेरिकाले यसअघि नै मडुरो तथा उच्च अधिकारीलाई भ्रमणका लागि प्रतिबन्ध लगाउनुका साथै अमेरिकी कम्पनीलाई कराकसको सरकार कम्पनीसँग तेल किन्न प्रतिबन्ध लगाइसकेको छ । भेनेजुएलाका विदेशमन्त्री जर्ज अरेजाले अमेरिकी प्रतिबन्ध ‘पागलपूर्ण, बर्बर तथा अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरीत भएको’ बताए ।


अमेरिका, क्यानडा, युरोपेली संघ तथा केही ल्याटिन अमेरिकी देशले निर्वाचनअगावै नै परिणामलाई मान्यता नदिने चेतावनी दिएका थिए । तर पछिल्लो चुनावी परिणामसँगै मेक्सिको, कोलम्बिया, चिली, पनामा र पेरुले पनि कराकससँग कूटनीतिक सम्बन्ध सीमित पारेका हुन् । यद्यपि, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुन: निर्वाचित भएकोमा मडुरोलाई बधाई दिएका छन् । उनले एक विज्ञप्तिमार्फत मडुरोको कार्यकाल देशमा देखिएको ‘सामाजिक र आर्थिक समस्या अन्त्य गर्न सफल’ हुने आशा व्यक्त गरे ।


बेइजिङले भने अन्तर्राष्ट्रिय समुदायले भेनेजुएली जनताले चुनावमार्फत गरेको निर्णयको सम्मान गर्नुपर्ने’ बताएको छ । आइतबार भएको मतदानमा ४६ प्रतिशत मतदान भएको राष्ट्रिय निर्वाचन परिषद्ले जनाएको थियो । तर विपक्षीहरूले मत प्रतिशत अझै कम भएको दाबी गरेका छन् ।


मडुरोका प्रतिस्पर्धी हेनरी फाल्कनले चुनावी परिणाम अस्वीकार गर्दै भेनेजुएलामा फेरि निर्वाचन गर्नुपर्ने बताउँदै आएका छन् । उनले चुनावी प्रक्रियालाई अवैध भएको बताएका छन् ।


सरकारी अधिकारीले निर्वाचन ‘स्वतन्त्र र निष्पक्ष’ भएको दाबी गरे पनि फाल्कनले चुनाव जित्न सहुलियती रासन कार्डको दुरुपयोग गरेको आरोप लगाए । विपक्षीको बहिस्कारपछि चुनाव ५५ वर्षीय मडुरोले जित्ने पूर्वानुमान गरिएको थियो । उनले करिब ६८ प्रतिशत मत प्राप्त गरेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?