पाकिस्तानमा जुलाई २५ मा आमनिर्वाचन
इस्लामावाद — पाकिस्तानमा आगामी जुलाई २५ मा आमनिर्वाचन हुने भएको छ । पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पीटीभीका अनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ मा निर्वाचन गर्ने प्रस्ताव स्वीकृत गरेका हुन् ।
पाकिस्तानको निर्वाचन आयोगले जुलाई २५ देखि जुलाई २७ सम्म ३ दिनमध्ये एक दिन निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।
आमनिर्वाचनसँगै जुलाई २५ मै ४ वटै प्रान्तका प्रान्तीय सांसदका लागि पनि निर्वाचन हुने तय भएको अधिकारीहरूले जनाएका छन् । वर्तमान सरकारको कार्यकाल भने यही मे ३१ मा पूरा हुने भएकाले नयाँ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले आमनिर्वाचन गराउन आयोग पूर्णरूपमा तयार रहेको जनाएको छ भने राजनीतिक दलले पनि निर्वाचनको प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।
आफ्नो पार्टीले जित्ने इमरान दाबी
यसैबीच, पाकिस्तानका पूर्वक्रिकेटर तथा पाकिस्तान तेहरिक–ए–इन्सासफका नेता इमरान खानले आगामी आमनिर्वाचनमा आफ्नो पार्टी विजयी हुने दाबी गरेका छन् ।
उनले देशमा भइरहेको भ्रष्टाचार र बेथितीविरुद्ध आफ्नो पार्टी उभिएको बताउँदै जनताले विजयी गराउने दाबी गरे । उनले निर्वाचनले अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वप्रधानमन्त्री नवाज सरिफलगायतलाई निर्वाचन मार्फत जनाताले पाखा लगाउने बताए । खानले आफूले अन्य दलले भन्दा अघिदेखि नै चुनावी प्रचारप्रसारमा तीव्रता दिएकाले पनि जित सुनिश्चित भएको दाबी गरे ।
प्रकाशित : जेष्ठ १४, २०७५ ०८:१५