कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्प र किम सिंगापुरमा 

उत्तर कोरिया–अमेरिका शिखर वार्ता 
बीबीसी

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् ।

ट्रम्प र किम सिंगापुरमा 

उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


सिंगापुरका अधिकारीले किम कुन जहाजमा आइरहेका छन् भन्ने यकिन नभएकाले अन्दाज गर्दै बसेको जनाएका थिए । उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आइतबार ३ वटा हवाईजहाज आएका थिए । तर उत्तर कोरियाली अधिकारीले किम तीमध्ये कुन जहाजमा यात्रा गरेका छन् भन्नेबारे जानकारी गराएका थिएनन् ।


सिंगापुरको चाङगी विमानस्थलमा अवतरण गरेको पहिलो कार्गो जहाजले किम चढ्ने सुरक्षित लिमोजिन गाडी ल्याएको थियो । दोस्रो एयर चाइना ७४७ जहाज आइतबार बिहानै बेइजिङबाट छुटेको करिब एक घण्टा प्योङयाङमा रोकिएपछि बेइजिङ फर्कनुको साटो सिंगापुरतर्फ लागेको थियो ।


त्यसैगरी, किमको निजी जहाजले पनि सँगसँगै उडान भरेको थियो । त्यसकारण अधिकारीहरूलाई किम कुन जहाजबाट आउँछन् भन्ने यकिन थिएन । यद्यपि, एयर चाइना ७४७ बाट आफ्नो टोलीसहित निस्केका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए । उनले किमसँगको एउटा तस्बिर सामाजिक सञ्जाल टवीटरमा समेत सार्वजनिक गरेका छन् ।


उत्तर कोरियाली टोलीमा वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरू रहेका छन् । उत्तर कोरियाली टोली सेन्ट रेगिस होटलमा बसेको रोयटर्सले जनाएको छ । किमले सिंगापुरका प्रधानमन्त्री लि सियेन लुंगसँग भेटवार्ता गरेका थिए । मंगलबारको शिखर वार्ताअघि नै लिले ट्रम्पसँग पनि भेट गर्ने जनाइएको छ । बीबीसीले उक्त वार्ताका लागि २० मिलियन सिंगापुर डलर (करिब १ सय ६० करोड रुपैयाँ) खर्च गर्ने जनाएको छ ।


किमले सन् २०११ मा देशको शासनसत्ता सम्हालेयता तेस्रो देशमा पाइला टेकेका हुन् । यसअघि उनी दक्षिण कोरिया तथा चीनको भ्रमणमा निस्केका थिए । चीन उत्तर कोरियाको निकटस्थ राष्ट्र हो । किम गत अप्रिल महिनामा दुई कोरियाबीच भएको शिखर वार्ताका क्रममा दक्षिण कोरिया पुगेका थिए ।


ट्रम्प र किमबीच मंगलबार सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा शिखर बैठक हुँदै छ । उक्त बैठक बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो हुनेछ ।


ट्रम्पले किमसँगको शिखर वार्ता शान्ति स्थापनाका लागि ‘एक पटकको प्रयास’ हुने बताएका छन् । यसअघि ट्रम्पले वार्ताको सम्भावित नतिजाबारे आफूले एक मिनेटमै थाहा पाउने दाबी गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई नि:शस्त्रीकरणका लागि सहमत गराउने प्रयासमा जुट्ने अपेक्षा गरिएको छ ।


के हुँदैछ उत्तर कोरियामा ?

सोल (बीबीसी)– दुई कोरियाको सीमा क्षेत्रमा नागरिकहरू दुर्लभ शिखर वार्ताले करिब ७० वर्षदेखि हुन नसकेको शान्ति सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरेका छन् ।


ट्रम्प र किमबीच मंगलबार हुने शिखर बैठकबारे भने सरकारी नियन्त्रणमा रहेका उत्तर कोरियाली सञ्चारमाध्यमले सूचना सम्प्रेषणमा नियन्त्रण गरिरहेको जनाइएको छ ।


नागरिकसम्म के के जानकारी पुर्‍याउने भन्नेबारे नियन्त्रण कायम गर्ने उत्तर कोरियामा महत्त्वपूर्ण घटना भएपछि मात्रै त्यसबारे समाचार दिने अभ्यास छ । बैठकबारे उत्तर कोरियाली सञ्चारमाध्यमले प्रत्यक्ष उल्लेख गरेका छैनन् । गत मेमा शिखर बैठकमा सहभागी नहुने प्योङयाङले चेतावनी दिएपछि त्यसको चर्चा गरिएको थियो ।


उत्तर कोरियाली जनतालाई शिखर बैठकको योजनाबारे थाहा भए पनि कहाँ र कहिले बैठक हुन्छ भन्नेबारे जानकारी दिइएको छैन । किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँग गरेको भेटवार्ताको समाचार प्रसारण गर्दा भने मिति उल्लेख गरिएको थियो ।


केही दिनअघि सिंगापुरका विदेशमन्त्रीको प्योङयाङ भ्रमणबारे पनि जानकारी दिइएको थिएन । त्यसैगरी, अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको भ्रमणका समयमा भने शिखर बैठकको तयारीबारे सामान्य उल्लेख गरिएको थियो । तर उत्तर कोरियाले नभई अमेरिकाले वार्ता आहवान गरेको भन्ने विवरण प्रस्तुत गरिएको बीबीसीले जनाएको छ ।


त्यसको एक सातापछि उत्तर कोरियाली विदेश मन्त्रालयले वार्ताबाट अलग हुने चेतावनी दिएलगत्तै अमेरिकाले जारी गरेका वक्तव्य ‘औचित्यहीन भएकाले अनिष्ट निम्त्याउने’ टिप्पणी गरिएको थियो ।


उत्तर कोरियाका सरकारी सञ्चारमाध्यम शिखर बैठकबारे मौन नै छन् । ट्रम्पको कानुनी टोलीका सदस्य रुडी जुलिआनीले किमले ‘बैठकका लागि याचना गरेको’ टिप्पणी गरेपछि भने उत्तर कोरियाली सञ्चारमाध्यममा अमेरिका विरोधी समाचारहरू प्रसारण गरिएको थियो ।


उत्तर कोरियामा आफ्नो सम्पर्क रहेको बताउने दक्षिण कोरियाली वेबसाइट डेली एन केले उत्तर कोरियालीलाई बैठक हुन लागेको जानकारी दिइएको दाबी गरेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७५ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?