१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

अमेरिकी आप्रवासन नीति : २ हजार नाबालक अभिभावकबाट अलग

बीबीसी

वासिङ्टन — अमेरिकाको सीमा क्षेत्रबाट ६ सातामा करिब २ हजार आप्रवासी बालबालिकालाई उनीहरूका अभिभावकबाट अलग गरिएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी आप्रवासन नीति : २ हजार नाबालक अभिभावकबाट अलग

मेक्सिको र अमेरिकाको सीमाक्षेत्र गैरकानुनी रूपमा पार गर्न खोज्ने आप्रवासीविरुद्ध कारबाही अघि बढाइएपछि वयस्कहरू पक्राउ परेपछि बालबालिकालाई अभिभावकबाट अलग्गै राखिएको हो । उक्त मुद्दाका कारण अमेरिकी राजनीति हालैका दिनमा केही तातेको बीबीसीले जनाएको छ । गत बिहीबार महान्यायाधिवक्त जेफ सेसन्सले अमेरिका प्रवेश गर्ने आप्रवासीमाथि ‘शून्य सहनशीलता’ अपनाइने बताएका थिए ।

उनका अनुसार लामो समयदेखिको आप्रवास नीतिविपरीत गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई फौजदारी अभियोग लगाइनेछ । सबै वयस्कलाई अभियोग लगाएर थुनिएको अधिकारीहरूले जनाएका छन् ।

अधिकारीले उनीहरूसँगै आएका बालबालिकालाई अलग्गै राखिएको र एक्लै आएका नाबालक भनेर वर्गीकरण गरिएको जनाएका छन् । १९ अप्रिलदेखि ३१ मेसम्ममा १९४० जना वयस्कहरूबाट १९९५ बालबालिकालाई अलग गरिएको अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जनाएको छ ।

यद्यपि ती बालबालिकाबारे विस्तृत विवरण तथा उमेरबारे भने केही खुलाइएको छैन । बालबालिकाहरूलाई अमेरिकी सरकारको स्वास्थ्य र मानव सेवा हेर्ने निकायमा हस्तान्तरण गरिएको बीबीसीले जनाएको छ ।

त्यसलगत्तै उनीहरूलाई सरकारी बन्दी गृह तथा बाल सेवा केन्द्रमा पठाइएको छ । राष्ट्रसंघले अमेरिकी सरकारसँग बालबालिकालाई अभिभावकबाट अलग गर्ने प्रक्रिया तत्काल रोक्न माग गरेको छ । तर महान्यायाधिवक्ता जेफ सेसन्सले भने, ‘गैरकानुनी आप्रवासीहरूसँग उनीहरूका सन्तान हुँदैमा अभियोग नलगाउने भन्ने हुँदैन ।’

यसैबीच, ह्वाइटहाउसले बालबालिका र अभिभावक अलग गर्ने अभ्यास रोक्न रिपब्लिकन पार्टीले मस्यौदा गरेको एउटा नियमलाई राष्ट्रपति ट्रम्पको समर्थन रहेको जनाएको छ । यसअघि राष्ट्रपति ट्रम्पले त्यसलाई हस्ताक्षर गर्न अस्वीकार गर्ने जस्तो भान पर्ने धारणा राखेका थिए । यो मुद्दाले अमेरिकामा राजनीतिक हलचल ल्याइदिइएको छ । बिहीबार अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले ईशाइ धर्मग्रन्थ बाइबल उल्लेख गर्दै आफूले आप्रवासीहरूको विषयमा शून्य सहनशीलताको अपनाइने बताए ।

यसको अर्थ गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्नेहरूलाई विगतमा जस्तो नभई फौजदारी अभियोगमा कारबाही अघि बढाइन्छ । यसअघि पहिलोपटक सीमा पार गर्न खोज्नेहरूलाई साधारण कसुरमा आरोप लगाउने गरिएका थिए ।

प्रकाशित : असार ३, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?