कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईयूद्वारा अमेरिकी सामानमा कर

बीबीसी

ब्रसेल्स — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिको जवाफमा युरोपेली संघ (ईयू) ले आफ्ना सदस्य राष्ट्रमा भित्रिने अमेरिकी सामानमा पनि कर लगाएको छ ।

ईयूद्वारा अमेरिकी सामानमा कर

शुक्रबारबाट अमेरिकी सामानमा २ दशमलव ८ अर्ब युरोबराबरको कर कार्यान्वयनमा आएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार व्हिस्की, मोटरसाइकल तथा सुन्तलाको जुुसमा कर लगाइएको हो । युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यान्करले यसअघि अमेरिका युरोपेली सामानमा ‘तर्क र इतिहास’ विपरीत कर लगाएकाले जवाफ दिनुपरेको बताए ।

आयरल्यान्डको संसद्लाई सम्बोधन गर्दै यान्करले ईयूले आफ्ना व्यापारिक स्वार्थलाई सुरक्षित राख्न आवश्यक जुनसुकै कदम चाल्ने बताए । उनले ईयूसँग अन्य कुनै विकल्प नभएकाले जवाफी कदम चाल्नुपरेको दाबी गरे ।

यसअघि, ट्रम्प प्रशासनले गत मार्चमा स्टिलमा २५ र एल्मुनियममा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेको थियो । जुन सुरुदेखि उक्त नियम लागू गरेपछि युरोपेली संघ, क्यानडा, मेक्सिको तथा भारत लगायतका देश प्रभावित भएका थिए । अमेरिकी नीतिको विरोधमा भारतले पनि अमेरिकाबाट आयात गरिने कृषिजन्य वस्तु, स्टिल, फलामसहितका २९ प्रकारका उत्पादनमा कर बढाउने बताएको छ । अगस्ट ४ देखि लागू हुने नयाँ करका कारण अमेरिकी बदाम, ओखर, चनालगायतका उत्पादन प्रभावित हुने बताइएको छ ।

त्यसैगरी, दक्षिण कोरिया, अर्जेन्टिना, अस्ट्रेलिया र ब्राजिलले समेत अमेरिका निर्यात हुने धातुको परिमाणमा कडाइ गर्न सहमत भएका छन् । क्यानडाले भने अगामी जुलाईदेखि लागू हुने गरी १६.६ अर्ब बराबरका सामानको आयातमा कर लगाउने घोषणा गरिसकेको छ । राष्ट्रपति ट्रम्पले २ सय अर्ब डलर बराबरको चिनियाँ समानमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । चीनले अमेरिकी कदमको विरोध गर्दैै ‘कडा जवाफी प्रतिक्रिया दिने’ जनाएको थियो ।

प्रकाशित : असार ९, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?