जापानमा बाढीले मृत्यु हुने २०४ पुगे
कुरासिकी — जापानको पश्चिमी क्षेत्रमा एक साता अघिदेखिको वर्षासँगै आएको बाढीले मृत्यु हुनेको संख्या २ सय ४ पुगेको छ । दर्जनाैं बेपत्ता छन् । जापान सरकारका प्रवक्ताका अनुसार वर्षाका कारण उद्धारमा समेत कठिनाइ भएको छ ।
जापानी राष्ट्रिय टेलिभिजन एनएचकेले उद्धारका लागि हजारौं सेना तथा प्रहरीहरू खटाइए पनि प्रभावकारी हुन नसकेको जनाएको छ ।
मौसमविद्हरूले वर्षा अझै केही दिन ननरोकिने जनाएका छन् । कतिपय स्थानमा पहिरोको जोखिम रहेको बताइएको छ । क्योडो समाचार संस्थाले मृत्यु हुनेमध्ये केही पहिरोमा पुरिएका हुन् । राजधानी टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको छ । हिरोसिमामा पनि पानीको तह बढेको छ । अधिकारीहरूले उक्त बाढी ३ दशकयताकै विनाशकारी भएको जनाएका छन् ।
अधिकारीहरूले हजारौं मानिसको उद्धार गरिएको तथा लाखौं मानिसलाई सुरक्षित स्थानमा सर्न चेतावनी दिएको जनाएका छन् । उद्धार गरिएकालाई विद्यालय भवन, जिमखाना तथा सार्वजनिक स्थानमा राखिएको छ ।
करिब ५ लाख जनसंख्या रहेको कुरासिकी क्षेत्रमा यसअघि सन् २०१४ मा भीषण बाढी आएको थियो । उक्त बाढीका कारण ७७ जनाको ज्यान गएको थियो ।