कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सम्बन्ध सुधार्ने राम्रो सुरुवात’

ट्रम्प–पुटिन शिखर बैठक
बीबीसी

हेलसिन्की — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको ‘प्रत्यक्ष वार्ता’ दुई देशको सम्बन्ध सुधारका लागि राम्रो सुरुवात भएको बताएका छन् ।

‘सम्बन्ध सुधार्ने राम्रो सुरुवात’

फिनल्यान्डको राजधानी हेलसिन्कीमा सोमबार रूसी राष्ट्रपति पुटिनसँगको शिखर वार्तापछि ट्रम्पले आफू रूससँग ‘असाधारण’ सम्बन्ध स्थापित गर्न तयार रहेको जनाए । उनले रूससँग सुमधुर सम्बन्ध कायम गर्नु ‘खराब नभई राम्रो कुरा भएको’ दाबी गरे ।

बन्द ढोकाभित्र करिब २ घण्टा कुराकानी गरेपछि दुवै राष्ट्रपतिहरू आ–आफ्ना वरिष्ठ सल्लाहकारसहित दिवाभोजनमा सरिक भएका थिए । रूसी राष्ट्रपति पुटिनले वार्ताअघि ‘द्विदेशीय जटिल मुद्दामा छलफल गर्ने समय आएको’ जनाएका थिए । तर वार्तापछि भने उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।

आइतबार राष्ट्रपति ट्रम्पले अमेरिका–रूस सम्बन्ध बिग्रिनुमा पूर्वअमेरिकी प्रशासनलाई दोष लगाएका थिए । पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको नामै तोकेर अमेरिका–रूस सम्बन्ध बिग्रनुमा मुख्य जिम्मेवार रहेको भन्दै कडा आलोचना गरेका थिए । सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले ‘रूस–अमेरिका सम्बन्ध बिग्रँदै जानुमा वर्षांैदेखिको अमेरिकी नीति जिम्मेवार रहेको’ दाबी गरेका थिए ।

बीबीसीका अनुसार हालैका वर्षहरूमा अमेरिका–रूस सम्बन्ध इतिहासकै सबैभन्दा नराम्रो भएको मानिन्छ । सन् २०१४ मा रूसले क्रिमियालाई आफ्नो देशमा गाभेपछि दुई देशबीच बढेको तनाव सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोपपछि उत्कर्षमा पुगेको हो । यसअघि ट्रम्पले शिखर बैठकबाट आफूले केही राम्रै हुने अपेक्षा गरेको बताएका थिए । ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले दुवै पक्षले छलफलमा कुनै औपचारिक मुद्दा नहुनेमा सहमति जनाएको बताए ।

गत शनिबार अमेरिकाले १२ रूसी गुप्तचरविरुद्ध अभियोग लगाएपछि अमेरिकी राजनीतिज्ञहरूले ट्रम्पलाई शिखर वार्ता स्थगित गर्न आग्रह गरेका थिए ।

ट्रम्पले त्यसबारे आफूले कुरा उठाउने बताएका थिए । तर शिखर बैठकका बेला उक्त मुद्दामा छलफल भए/नभएकोबारे केही उल्लेख गरिएको छैन । रूसले अमेरिकी अभियोगहरू अस्वीकार गर्दै आएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) कहिल्यै बलियो संगठनका रूपमा स्थापित नहुने बताएका छन् । उनले भने, ‘यो नेटो संगठन कहिल्यै बलियो पनि हुँदैन र एकीकृत संगठनको रूपमा पनि काम गर्न सक्दैन ।’

सोमबार बिहान फिनल्यान्डका राष्ट्रपति सउली निनिस्टोसँग भएको संक्षिप्त कुराकानीमा उनले उक्त टिप्पणी गरेका हुन् ।

प्रकाशित : श्रावण १, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?