कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टर्कीको संकटकाल दुई वर्षपछि हटयो

बीबीसी

अंकारा — टर्की सरकारले दुई वर्षअघि भएको असफल ‘कु’ पश्चात लगाइएको संकटकाल हटाएको छ । दुईवर्षे संकटकालको अवधिमा दसौं हजारलाई पक्राउ गरिनुका साथै लाखभन्दा बढीलाई सरकारी सेवाबाट बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

टर्कीको संकटकाल दुई वर्षपछि हटयो

उनीहरूलाई कुनै कानुनी प्रक्रियाबिना राष्ट्रपति रेसेप तैयप इर्दोगानको आदेशमा उनीहरूलाई पक्राउ तथा बर्खास्त गरिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पक्राउ पर्नेमा सेना, प्रहरी, निजामती कर्मचारी, पत्रकार र शिक्षक थिए । निलम्बन हुनेमा थुप्रै न्यायाधीशसमेत छन् ।

एम्नेस्टी इन्टरनेसनलले संकटकाल हटाउँदैमा मात्रै त्यसले राजनीतिक उतारचढावलाई साम्य नगर्ने जनाएको छ । एम्नेस्टीले टर्कीमा दुई वर्षयता मानवअधिकार कुण्ठित भएको भन्दै स्थिति सुधार हुनेमा आशावादी रहेको जनाएको छ ।

गत जुन २५ मा राष्ट्रपति इर्दोगानले नयाँ ५ वर्षे कार्यकालका लागि थप शक्तिसहित शपथ लिएपछि देशमा मानवअधिकार र लोकतन्त्रका पक्षमा केही सुधार हुने अपेक्षा गरिएको छ ।

चुनावी अभियानका बेला, विपक्षी उम्मेदारले चुनाव जिते देशमा जारी संकटकाल हटाउने बताएका थिए । संकटकाल लागू भएयता १ लाख ७ हजारभन्दा बढी मानिसलाई सरकारी सेवाबाट हटाइएको थियो । बर्खास्त गरिएकामा ३ हजार ७७ सैनिक अधिकारी छन् ।

इर्दाेगानविरुद्ध असफल ‘कु’ प्रयासपछि उनले आफूविरोधी सेना, प्रहरी, सरकारी कर्मचारी तथा विश्वविद्यालयका प्राध्यापकलाई जेलहाल्ने, सेवाबाट बर्खास्त गर्ने तथा अन्य कारबाही गर्दै आएका छन् । इर्दाेगानले आफ्नाविरुद्ध गरिएको असफल ‘कु’ प्रयासको फाइदा उठाउँदै विरोधीलाई सक्ने अभियान चलाएको भन्दै उनको आलोचना हुने गरेको छ ।

सरकारी र गैरसरकारी संस्थाको तथ्यांकअनुसार ५० हजारभन्दा बढी मानिसलाई सुनुवाइ जारी रहँदा नै जेलमा हालिएको थियो । तीमध्ये धेरै निर्वासनमा रहेका इस्लामिक धर्मगुरु फेतुल्लाह गुलेनका समर्थक रहेको आरोप लगाइएको छ ।

इर्दोगानका पूर्वसाझेदार गुलेन अमेरिकामा बस्छन् । एर्दोगानले गुलेन र उनका समर्थकले सन् २०१६ को असफल ‘कु’ गरेको आरोप लगाउने गरेको छ ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?