कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तान आमनिर्वाचन: पीटीआईको अग्रता

बीबीसी

इस्लामाबाद — पाकिस्तानको पीटीआईका अध्यक्ष इमरान खानले बुधबार भएको निर्वाचनमा आफ्नो दल विजयी भएको दाबी गरेका छन् । मतगणनाको प्रारम्भिक परिणामपछि बोल्दै इमरानले आमनिर्वाचनमा आफूहरूले जनताबाट शानस गर्नका लागि विश्वास पाएको दाबी गरे । टेलिभिजन सन्देशमा उनले भने, ‘हामी सफल भएका छौं र हामीलाई मतादेश दिइएको छ ।’

पाकिस्तान आमनिर्वाचन: पीटीआईको अग्रता

तर खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले सरकार गठनका लागि भने अन्य दलको सहयोग लिनुपर्ने भएको छ । पीटीआई संसद्का २ सय ७२ मध्ये १ सय २० स्थानमा अगाडि छ । सरकार गठनका लागि भने १ सय ३७ सिट आवश्यक पर्छ । यसअघि उनले पाकिस्तानको अर्थतन्त्र सुधार प्रमुख मुद्दा हुने बताएका थिए । पाकिस्तानले मुद्रास्फितीका कारण व्यापारघाटा बेहोर्दै आएको छ ।

पीटीआईका समर्थकले नतिजा सार्वजनिक हुनुअघि नै खुसियाली मनाउन थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूले इस्लामाबादस्थित इमरानको निवास अगाडि खुसियाली मनाएको एएफपीले जनाएको छ । इमरानकी पूर्वपत्नी तथा बेलायती फिल्म निर्माता जेमिमा गोल्डस्मिथले उनलाई बधाई दिएकी छन् । उनले लेखेकी छन्, ‘२२ वर्ष लामो अपमान, बाधा र त्यागपछि मेरो छोराको बाबु पाकिस्तानको अगामी प्रधानमन्त्री हुन् ।’ पीटीआईको मुख्य प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टीले चुनावमा अनियमितता भएको आरोप लगाएको छ ।

तर निर्वाचन अधिकारीले भने उक्त आरोपको खण्डन गरेका छन् । ‘चुनाव शतप्रतिशत निष्पक्ष र पारदर्शी छ,’ निर्वाचन आयोगका प्रमुख सरदार मुहम्मद राजले बिहीबार भने । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) नेता सहबाज सरिफले चुनावी नतिजालाई राजनीतिक र कानुनी चुनौती दिने चेतावनी दिए । पीएमएल–एन ६१ तथा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ४० स्थानमा अगाडि छ । विपक्षीले पीटीआईलाई जिताउन पाकिस्तानी सेना लागिपरेको आरोप लगाए । तर पीटीआई एक नेता आरिफ आल्भीले विपक्षीको आरोपको खण्डन गरेका छन् । सेनाले पनि चुनावमा हस्तक्षेप नगरेको जनाएको छ ।

पीपीपी नेता बिलावल भुट्टो जर्दारीले मतगणनामा अनियमितता भएको दाबी गरे । उनी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीका छोरा हुन् । पाकिस्तानमा राष्ट्रिय विधायिका (नेसनल एसेम्बली) का २७२ सिटका लागि बुधबार मतदान भएको थियो । यसमध्ये ७० स्थान महिला तथा अल्पसंख्यकका लागि आरक्षित छन् । पाकिस्तानको ७१ वर्षे इतिहासमा जननिर्वाचित सरकारले निर्वाचनमार्फत सत्ता हस्तान्तरण गर्न लागेको दोस्रोपटक हो ।

को हुन् इमरान ?


पीटीआई अध्यक्ष तथा पूर्वक्रिकेटर इमरान खान बिहीबार टेलिभिजन सम्बोधनका क्रममा । तस्बिर : रोयटर्स

इमरान खान पाकिस्तानका चर्चित पूर्वक्रिकेट खेलाडी हुन् । उनले बेलायतको उनले सन् १९९२ को विश्वकप क्रिकेट पाकिस्तानलाई जिताउन क्याप्टेनका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तर सन् १९९६ को अगस्टमा उनको प्रयासमा पीटीआई स्थापना भएयता उनी पाकिस्तानको सक्रिय राजनीतिमा छन् । पीटीआई स्थापनाको एक वर्षपछि भएको आमनिर्वाचनमा पार्टीको सबै जमानत गुमाएका थिए । तर २०१३ भएको निर्वाचनमा नजिताबाट पीटीआई पाकिस्तानी राजनीतिमा २ ठूला पार्टी पीपीपी र पीएमएलको विकल्पका रूपमा हेरिएको थियो । अक्सफोर्ट विश्वविद्यालयमा अध्ययन गरेका इमरानले चुनावी अभियानमा देशको पुस्तौली राजधनीति तथा भ्रष्टाचारविरुद्ध उत्रेको जनाएका थिए ।

राम्रो भाषणकला भएका इमरानको पार्टीको उदयलाई पीपीपीको घट्दो प्रभावले फाइदा पुगेको मानिन्छ । पीपीपी २००८ को आमनिर्वाचनमा पहिलो पार्टी बनेको थियो ।

प्रकाशित : श्रावण ११, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?