भारतले अन्तरिक्षमा मानव यान पठाउने

एपी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा अन्तरिक्षमा मानव यान पठाउने घोषणा गरेका छन् । स्वतन्त्रता दिवसका अवसरमा बुधबार लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले स्वतन्त्रताको ७५ औं वर्ष पूरा भएको अवसरमा राष्ट्रिय झण्डासहित भारतीय नागरिकलाई अन्तरिक्षमा पठाउने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै । तस्बिर : रोयटर्स

यसपछि अन्तरिक्षमा मानव पठाउने मुलुकमा भारत चौथो बन्ने उनले बताए । यसअघि रूस, अमेरिका र चीनले अन्तरिक्षमा मानव पठाइसकेका छन् । अन्तरिक्षमा मानव पठाउने यानको केही दिनअघि परीक्षणसमेत गरिसकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अन्तरिक्ष मिसनका लागि ९ अर्ब रुपैयाँको बजेट तय गरिएको छ ।

यसअघि पहिलो भारतीयका रूपमा राकेश शर्माले सन् १९८४ मा सोभियत रकेटमार्फत अन्तरिक्षको यात्रा गरेका थिए । अन्तरिक्ष कार्यक्रममा भारत सन् १९६० को दशकदेखि सक्रिय रहँदै आएको छ । यो मुलुकले आफ्नो र अन्य देशका लागि थुप्रै भूउपग्रह पठाइसकेको छ । सन् २०१४ मा एउटा भूउपग्रह मंगल ग्रहको कक्षमा समेत सफलताका साथ पठाइसकेको छ । प्रधानमन्त्री मोदीले ४ वर्षमा आफ्नो सरकारले देशको आर्थिक सुधार एवं गरिबी तथा भ्रष्टाचार न्यूनीकरणका लागि गरेका कामको सूची प्रस्तुत गरेका थिए ।

Yamaha

बीबीसीका अनुसार उनले महत्त्वाकांक्षी स्वास्थ्य योजना ‘आयुष्मान भारत’ का बारेमा पनि उल्लेख गरेका थिए । आगामी २५ सेप्टेम्बरबाट सुरु गरिने बिमा आधारित यो योजनाअनुसार करिब १० करोड गरिब परिवार लाभान्वित हुनेछन् । जसअनुसार प्रतिपरिवार ५ लाख रुपैयाँको बिमा गरिने र यसबाट गरिबले सुलभ रूपमा स्वास्थ्य सेवा पाउने उनले बताए ।

यस्तै, भारतीय सशस्त्र सेनामा सर्ट सर्भिस कमिसनका माध्यमबाट नियुक्त महिला अधिकारीलाई पुरुष समकक्षी सरह परीक्षा दिएर स्थायी बनाउने घोषणा पनि मोदीले गरेका छन् । उनले जम्मु कश्मीरमा लामो समयदेखि हुन नसकेको पञ्चायत र निकाय चुनावलाई पनि तत्काल गराइने बताए ।

मोदीले तीन तलाकजस्तो कुरीति अन्त्य गर्न संसद्को चालू अधिवेशनमा विधेयक पेस गरिएको पनि बताए।

Esewa Pasal

प्रकाशित : श्रावण ३१, २०७५ ०८:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

क्यालिफोर्निया डढेलो: महँगो हुँदै नियन्त्रण

एपी

लस एन्जलस — अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको आगो नियन्त्रणका लागि यस वर्ष छुट्टयाइएको बजेटको एक चौथाइ खर्च भइसकेको अधिकारीहरूले जनाएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फरेस्ट्री एन्ड फायर प्रोटेक्सन’ का प्रवक्ता माइक मोलरले उक्त जानकारी दिएका हुन् ।

आगलागी नियन्त्रणका लागि सन् २०१८ का लागि १२ करोड ५० लाख अमेरिकी डलर छुट्टयाइएको थियो ।


अग्नि नियन्त्रणकै लागि सन् २०१७ मा २ अर्ब डलरभन्दा बढी संघीय बजेट खर्च भएको थियो । आगो निभाउन बढी खर्च हुन थालेपछि गत वर्ष कृषिमन्त्री सोनी पेरुडले अग्नि नियन्त्रण खर्चका लागि केही निश्चित तरिका पहिल्याउन कंग्रेससमक्ष आग्रह गरेका थिए । युनिभर्सिटी अफ न्यु ह्याम्पसायरका डा रोस गोर्तेले गरेको अध्ययनअनुसार सन् १९९० को दशकसम्म जंगली आगो नियन्त्रणका लागि संघीय बजेटमा १ अर्बभन्दा कम खर्च हुने गथ्र्यो भने सन् २००२ यता बर्सेनि ३ अर्ब डलरको हाराहारीमा खर्च हुने गरेको छ । यस्तै फरेस्ट सर्भिसको वार्षिक बजेटको १० प्रतिशत यसैमा खर्च हुने गरेको पनि उक्त अध्ययनमा जनाइएको छ ।


गत जुलाई २३ देखि सुरु भएको क्यालिफोर्नियाको आगलागीमा बुधबारसम्म ६ जनाको मृत्यु भइसकेको छ भने १ हजार ५८ घर नष्ट भएका छन् । मृत्यु हुनेमा २ अग्निनियन्त्रक पनि छन् । ३८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । १ लाख २१ हजार एकड जमिन आगलागीबाट नष्ट भएको बताइएको छ ।


क्यालिफोर्नियाको इतिहासमा यो छैटौं भीषण आगलागी हो । डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्कन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुन: नयाँ आगलागी सुरु भएको थियो ।


क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मलेनमा आगलागी नियन्त्रण गर्न आवश्यक स्रोतसाधनको व्यवस्था मिलाइएको जनाएका छन् । आगलागीमा १३ हजार अग्निनियन्त्रक खटिएका छन् ।

‘स्वास्थ्य समस्याको खतरा’
विज्ञले आगलागीका कारण वायु गुणस्तर घट्दै जाँदा पश्चिमी अमेरिकी राज्यमा गम्भीर स्वास्थ्य समस्या निम्तने चेतावनी दिएको गार्जियन अनलाइनले जनाएको छ ।


धूवाँबाट दम तथा मुटुको समस्या निम्तन सक्ने उनीहरूको भनाइ छ। विशेषगरी, रेडिङ र योर्कसायर राष्ट्रिय निकुञ्जमा धूवाँ जमिनको सतहनजिकै भएकाले त्यसले वायु गुणस्तरलाई असर गर्ने विज्ञ बताउँछन्। युनिभर्सिटी अफ म्यासाचुसेट्सका वातावरण स्वास्थ्य विज्ञानका सहायक प्राध्यापक रिचर्ड पेल्टियरले जंगलको आगोले स्थानीय समुदाय मात्रै नभई थुप्रै माइल टाढा रहेका मानिसलाईसमेत असर गर्ने बताए । ‘मेरो घर आगलागीमा परेन, यो मेरो समस्या होइन नभन्नुस्, यसले तपाईंको स्वास्थ्यमा समेत असर पर्न सक्छ,’ उनले भने ।


गर्मी सिजन लम्बिँदै जाँदा अमेरिकाको पश्चिमी क्षेत्रका जंगलमा आगो लाग्ने क्रम बढ्दै गएको छ । एक तथ्यांकअनुसार सन् १९८० को दशकमा हरेक वर्ष १ सय ४० वटा आगलागीका घटना हुने गरेका थिए भने सन् २००० र २०१२ को बीचमा यो संख्या बढेर २ सय ५० हुने गरेको छ ।

प्रकाशित : श्रावण १८, २०७५ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT