कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाअभियोग लगाए अर्थतन्त्र धराशायी : ट्रम्प

एएफपी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाअभियोग लगाइए अमेरिकी अर्थतन्त्र धराशायी हुने दाबी गरेका छन् ।

महाअभियोग लगाए अर्थतन्त्र धराशायी : ट्रम्प

चुनावी अभियानका क्रममा दुई महिलालाई गरिएको गैरकानुनी भुक्तानीपछि राष्ट्रपतिमाथि महाअभियोग लगाइने हल्लाबीच ट्रम्पले बिहीबार फक्स एन्ड फ्रेन्डस् कार्यक्रममा अन्तर्वार्तामा दिएका हुन् ।

अन्तर्वार्ताका क्रममा उनले महाअभियोगपछि बजार ध्वस्त हुने दाबी गर्दै सबै जना गरिब हुने बताए । ‘म तपाईंलाई भन्छु, यदि मलाई महाअभियोग लगाइयो भने बजार ध्वस्त हुन्छ ।’ ट्रम्पले भने, ‘मलाई लाग्छ, सबै गरिब हुनेछन् ।’ उनले आफूले निकै महान् कार्य गरेको दाबी गर्दै भने, ‘मलाई थाहा छैन, यस्तो व्यक्तिलाई तपाईं कसरी महाअभियोग लगाउन सक्नुहुन्छ ।’

आफूसँग सम्बध रहेका दुई महिलालाई तिरेको रकमले चुनावी अभियानसम्बन्धी नियमविपरीत नरहेको पनि ट्रम्पको दाबी छ । उनका पूर्व वकिल माइकल कोहेनले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा गैरकानुनी रूपमा रकम भुक्तानी दिएको बुधबार स्वीकार गरेका थिए ।

चुनावी अभियानका क्रममा पोर्नस्टार स्टोर्मी डयानियल्स र प्लेब्वाई मोडेल कारेन म्याकडगलाई रकम भुक्तानी दिइएको कोहेनले अदालतसमक्ष स्विकारेका हुन् ।

अन्तर्वार्तामा ट्रम्पले ‘उक्त रकम चुनावी अभियानबाट नभई व्यक्तिगत रूपमा भुक्तानी गरिएको×’ जनाए । उनले कम जरिवानका लागि कोहेनले बनावटी कुरा गरेको दाबी गरेका छन् । ‘त्यो रकम मेरो व्यक्तिगत हो,’ अन्तर्वार्ताका क्रममा ट्रम्पले भने, ‘मैले पहिले नै टीट गरिसकेको छु । उक्त रकम मेरो चुनावी अभियानको होइन् ।’ तर यसअघि ट्रम्पले त्यस्तो भुक्तानी एकपटक मात्र गरिएको थाहा भएको बताएका थिए ।

कोहेनले राष्ट्रपति ट्रम्पको आदेश र संयोजनमा रकम भुक्तानी दिएको बताएका थिए । कोहेनको स्विकारोक्तिसँगै ट्रम्पमाथि कानुनी जोखिम बढाएपछि ट्रम्पले चुनावी अभियान नियम उल्लंघन नगरेको दाबी गरेका छन् । गत जुलाईमा सार्वजनिक भएको एक श्रव्य टेपमा ट्रम्प र कोहेनले राष्ट्रपतीय चुनावअघि रकम भुक्तानी दिने सम्बन्धमा छलफल गरेका थिए । तर उक्त भुक्तानीबारे भने संघीय चुनावी आयोगमा जानकारी गराइएको थिएन् ।

अमेरिकी चुनावी कानुनअनुसार चुनावलाई प्रभावित पार्ने उद्देश्यका साथ गरिने कुनै पनि आर्थिक कारोबारबारे जानकारी गराउनुपर्छ । कोहेन एक दशकभन्दा लामो समयसम्म ट्रम्पको व्यक्तिगत वकिल रहेका थिए ।

यसअघि भर्जिनियाको जुरीले ट्रम्पका चुनावी अभियान प्रमुख पल म्यानाफोर्टलाई विभिन्न मुद्दामा दोषी ठहर गर्दै सजाय गर्ने आदेश दिएको थियो । उनीमाथि धोखाधडी, कर छली तथा विदेशी बैंकमा गोप्य खाता सञ्चालनमा दोषी ठहर गरिएको हो । ट्रम्पले भने उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै म्यानाफोर्ट ‘असल मानिस’ रहेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : भाद्र ८, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?