कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोम्पियोको प्योङयाङ भ्रमण रोकियो

एएफपी/एपी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री माइक पोम्पियोको उत्तर कोरिया भ्रमण स्थगित गरिदिएका छन् ।

पोम्पियोको प्योङयाङ भ्रमण रोकियो

अमेरिकी समाचार समिति एपीले राष्ट्रपतिको निर्देशनपछि विदेशमन्त्रीको प्योङयाङ भ्रमण रद्द भएको जनाएको छ । पोम्पियोले उत्तर कोरियाका लागि नवनियुक्त दूतसहित आगामी साता प्योङयाङ भ्रमण गर्ने तय भएको थियो ।

यसअघि ३ पटक प्योङयाङ पुगेका पोम्पियोले उत्तर कोरियाले सर्वोच्च नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने/नगर्नेबारे भने केही खुलाइएको थिएन । एपीले विदेशमन्त्रीको अर्काे भ्रमण कहिले हुने भन्नेबारे केही उल्लेख गरेको छैन ।

ट्रम्पले उत्तर कोरियाले परमाणु निशस्त्रीकरणका लागि प्रतिबद्धता गरेको भए पनि कुनै प्रगति नभएको भन्दै पोम्पियोलाई भ्रमण स्थगित गर्न शनिबार निर्देशन दिएका हुन् । ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘तत्कालका लागि उत्तर कोरियाको भ्रमण गर्न उचित छैन किनभने निशस्त्रीकरणका पक्षमा उसले भनेअनुसारको कुनै प्रगति हुन सकेको छैन ।’ ट्रम्पले भनेका छन्, ‘मैले विदेशमन्त्री पोम्पियोलाई हालको अवस्थामा उत्तर कोरिया भ्रमण नगर्नू भनेको छु किनभने हामीले शिखर बैठकमा गरेको प्रतिबद्धताअनुसार निशस्त्रीकरणको पक्षमा खासै प्रगति गर्न सकेका छैनौं ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच गत जुन १२ मा सिंगापुरमा ऐतिहासिक बैठक भएको थियो । बैठकमा २ नेताबीच कोरियाली द्वीपलाई परमाणु हतियारमुक्त गर्ने सहमति भएको थियो । त्यसलगत्तै ट्रम्पले उत्तर कोरियाबाट ‘अमेरिकालाई कुनैपनि परमाणु खतरा नरहेको’ दाबी गरेका थिए ।

तर, प्योङयाङको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा विस्तृत सहमति नभएको भन्दै राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भएको थियो । उत्तर कोरियाले आफ्ना परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमका कारण राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, चीन, जापान, दक्षिण कोरियालगायतका देशले प्रतिबन्ध लगाउँदै आएका छन् ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?