कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिलिपिन्स शक्तिशाली आँधीको चपेटामा

एएफपी

मनिला — फिलिपिन्समा शनिबार आएको शक्तिशाली आँधीका कारण कम्तीमा ३ जनाको ज्यान गएको छ । आँधीका कारण ४ घाइते छन् । मृत्यु हुनेमध्ये २ जना पहिरोमा फसेका उद्धारमा संलग्न सुरक्षाकर्मी छन् ।

फिलिपिन्स शक्तिशाली आँधीको चपेटामा

तटीय सहर अपार्रीमा थप मृत्युको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । अधिकारीका अनुसार ‘म्यांगखुट’ आँधीका कारण दैनिक जीवन निकै प्रभावित भएको छ ।

देशको उत्तरी क्षेत्रमा आँधी र वर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुर्‍याएको छ । टुगुएगाराव सहरका सबैजसो घरमा क्षति पुगको बीबीसीले जनाएको छ । आँधीको मार्ग वरपर ४० लाखभन्दा बढी मानिसको बसोबास छ । प्रतिघण्टा १ सय ८५ किलोमिटरको गतिमा आएको आँधीले ६ मिटरसम्मको छाल पैदा गर्न सक्ने जनाइएको छ । अधिकारीहरूले हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिसकिएको जनाएका छन् । कतिपय मानिसलाई घर छाड्न चेतावनी जारी गरिएको छ ।

कतिपय सहरका बासिन्दालाई भने आँधीको समयमा सुरक्षित तवरले घरभित्रै बस्न आह्वान गरेका छन् । स्थानीय समयानुसार शनिबार बिहान करिब २ बजे आँधी फिलिपिन्सको तटीय क्षेत्रमा प्रवेश गरेको हो । आँधीपछि उक्त क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । मौसम अधिकारीहरूले आँधी आगामी मंगलबारसम्म जारी रहने अनुमान गरेका छन् । तिन्जेलसम्म सामुद्रिक र हवाई यात्रामा रोक लगाइनुका साथै विद्यालय बन्द गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

वर्षमा औसत दर्जनभन्दा बढी आँधीको चपेटामा पर्ने फिलिपिन्समा सयौंको मृत्यु हुने गरेको छ । आँधीका कारण दसौं लाख मानिस प्रभावित हुने गरेको तथ्यांक छ । त्यसैगरी आँधीका कारण निम्तिने बाढी तथा पहिरोले पनि हजाराैं बासिन्दा प्रभावित हुन्छन् । फिलिपिन्समा सन् २०१३ मा आएको शक्तिशाली आँधी हैयानका कारण ७ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । उक्त आँधी फिलिपिन्समा आएको हालसम्मकै शक्तिशाली मानिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?