कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इरानी सैनिक परेडमाथि आक्रमण 

अमेरिका जिम्मेवार : रौहानी

तेहरान (रोयटर्स) — इरानी राष्ट्रपति हसन रौहानीले सैनिक परेडमाथि भएको आक्रमणमा दोषी भएको दाबी गर्दै अमेरिकाको कडा आलोचना गरेका छन् ।

इरानी सैनिक परेडमाथि आक्रमण 

एहवाज सहरमा शनिबार सैनिक परेडमा गोली प्रहार गरिएको थियो । इरानी नेताहरुले आक्रमणमा अमेरिका समर्थित खाडी देश जिम्मेवार रहेको आरोप लगाएका छन् । यद्यपि, सरकार विरोधी अरब समूह र इस्लामिक स्टेट विद्रोहीहरुले आक्रमणको जिम्मा लिएका बीबीसीले जनाएको छ । तर तिनको दाबी पुष्टि हुने प्रमाण भने उपलब्ध नभएको जनाइएको छ ।


परेडमा संलग्न सैनिक तथा अवलोकन गरिरहेका सर्वसाधारणमाथि भएको आक्रमणमा एक बालिकासहित २५ को ज्यान गएको थियो । चार आक्रमणकारीलाई भने सुरक्षाकर्मीले मारिदिएका थिए ।

राष्ट्रपति रौहानीले अमेरिका तथा उसको समर्थनमा खाडी देशले उक्त आक्रमण गरेको बताए । रौहानीले यसै साता राष्ट्रसंघीय महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नेछन् ।


‘इरानले यस्तो अपराध कायमै रहन दिँदैन् ।’ राष्ट्रसंघीय महासभामा जानुअघि आइतबार बोल्दै रौहानीले भने, ‘यो अपराध कसले गर्‍यो र कोसँग सम्बन्धित छन् भन्ने प्रस्ट भइसकेको छ ।’


उनले खाडी क्षेत्रका कठपुतली सरकारलाई अमेरिकाले सहयोग गर्नुका साथै अपराधका लागि आवश्यक सामाग्री दिएर भडाइरहेको बताए ।


उनले विश्व अवस्थाबारे राष्ट्रसंघीय महासभामा इरानले आफ्नो विचार व्यक्त गर्ने जनाए । रौहानीले भने, ‘अमेरिकाले आफ्नो ठालू प्रवृत्ति देखाउनुका साथै एकपक्षीय नीतिलाई निरन्तरता दिइरहेको छ ।’


यसअघि इरानी सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीले ‘अमेरिकाको इशारामा कठपुतली’ ले इरानमा असुरक्षा बढाइरहेको आरोप लगाएका थिए ।


बन्दुकधारीले रिभोलुस्नरी गार्डका सेना र अधिकारीमाथि लक्षित गरी गोली प्रहार गरेको हुनसक्ने ठानिएको छ । इरानी विदेशमन्त्री जवाद जारिफले पनि हमलाकारीलाई विदेशी शक्तिले सहयोग गरेको दोष लगाए ।


इरान सरकारले नेदरल्याण्ड, डेनमार्क तथा बेलायतका राजदूतलाई बोलाउँदै उनीहरूका देशले इरानी विपक्षी समूहलाई समर्थन गरेको आरोप लगाएको जनाइएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?