इन्डोनेसियाको भूकम्पमा करिव ४ सयले ज्यान गुमाए

रासस/एपी

काठमाडौँ — इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ ।सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । 

अरु सयौँ जनाको अस्पताल उपचार भइरहेको उनीहरुको भनाई छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा पनि चलिरहेको बताइएको छ ।

प्रकोप व्यवस्थापन सम्वन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सो समाचार तयार पार्दासम्म ३८४ जनाको मृत्यु भएको छ ।

उनीहरु सवैको पालुमा मृत्यु भएको र मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने देखिएको अधिकारीहरुको भनाई छ ।

सुनामी आएपछि मानिसहरु आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए । एउटा मस्जिदमा पनि क्षति पुगेको बताइएको छ । अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन् ।

यस क्षेत्रमा अहिले विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएका छन भने, पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरुद्ध भएका छन् ।

शक्तिशाली पराकम्पनले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु शहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

इण्डोनेशियाको तटीय शहरमा शुक्रबार ७.५ म्याग्निच्यूडको शत्तिशाली भूकम्प आएपछि शक्तिशाली सुनामीले पनि आएको हो ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको छन् ।

प्रकाशित : आश्विन १३, २०७५ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्

जाजरकोटमा औषधि अभाव 

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोटका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । स्वास्थ्य संस्थामा सिटामोल समेत नपाउँदा बिरामी निजी मेडिकलबाट औषधि किन्न बाध्य छन् । 

नलगाड नगरपालिका ४ बाट एक बिरामीलाई चार घण्टा स्ट्रेचरमा बोकेर प्राथमिक स्वास्थ्य केन्द्र दल्ली ल्याउँदै । तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर  

प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र लिम्सा, स्वास्थ्य चौकी कुदु, सिलिङ्गीचौर लगायत दुई दर्जन स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । स्वास्थ्य संस्थामा सिटामोल, ब्रोफिन, मेट्रो, एमोक्सीसिलीन, कोर्टीन, सालबुटामोल, पारासिटामोल सिरफ, भिटामीन बी कम्प्लेक्स, आरएल, क्योमक्स लगायत अति आवश्यक औषधिको अभाव छ । ज्वरो, आउ, रुघाखोकी, ग्याष्ट्रिक, पखाला, पेट दुख्ने लगायत रोगको औषधि अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका प्रमुख डा सञ्जय यादवले बताए ।

स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका विरामीलाई नियमित खुवाउने औषधी नभएको डा यादवले बताए । त्यस्तै स्वास्थ्य संस्थामा गज, कटन, ग्लोब्स, आरएल लगायत नभएको उनले बताए । दैनिक ६०/७० जना विरामी उपचारका लागि आउने गरेको उनले बताए ।

स्थानीय तहले औषधि खरीद तथा आपुर्तिलाई बेवास्ता गर्दा अभाव भएको हो । स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामी औषधि नपाएर रित्तो हात घर फर्कने गरेका छन् । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकार भन्दा बढी औषधी उपलब्ध हुन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

औषधि खरीदका लागि बार्षिक बजेट नै कम हुँदा समस्या भएको हो । सरकारले निशुल्क वितरण गर्ने कुनै पनि औषधि अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध नभएको डा यादवले बताए । दुर्गम गाँउबाट अस्पतालमा आएका बिरामीहरुलाई सामान्य चेकजाँच पछि निजी मेडिकलतिर औषधि किन्न पठाउनु पर्ने बाध्यता भएको डा यादवले बताए ।

स्वास्थ्य संस्थामा औषधी अभाव भएको २/३ महिना बित्दा पनि सम्बन्धित निकाय वेखबर रहेको स्थानीय रामबहादुर शाहीले बताए । अस्पतालमा ज्वरोको उपचारका लागि सिटामोल सिरफ समेत नपाएको भेरी नगरपालिका १३ की सिर्जना रोकायले बताइन् । ‘बिरामीलाई सिटामोल र ब्रोफिन समेत निजी मेडिकलबाट किन्न लगाउने कस्तो सरकार हो ?’ उनले भनिन् । स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सयौं बिरामी निजी मेडिकलमा महंगो औषधि किन्न बाध्य छन् ।

प्रकाशित : आश्विन १३, २०७५ १४:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्