कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियाली राजनीतिमा अनवरको पुनरागमन

कान्तिपुर संवाददाता

मलेसिया — मलेसियाका भूतपूर्व उपप्रधानमन्त्री अनवर ईब्राहिम मूलधारको राजनीतिमा फर्किएका छन् । मलेसियाली राजनीतिको विभिन्न खण्डमा प्रभावशाली नेता मानिएका अनवर शनिबार पोर्ट डिक्सन क्षेत्रमा सम्पन्न उपचुनावमा विजयी भएसँगै मलेसियाली मूलधारको राजनीतिमा पुनर्गमन भएको हो ।

मलेसियाली राजनीतिमा अनवरको पुनरागमन

पुर्ववर्ती नाजिब रजाक सरकारको पालामा यौन दुराचार सम्बन्धी मुद्दामा जेल सजाय ब्यहोरेका अनवरलाई गत मे महिनामा राजा सुल्तान मुहाम्मद भिले आममाफी दिएका थिए । त्यसपछि उनी मे १६ मा जेलबाट रिहा भएका थिए । नाजिब भने हाल भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।


यसअघि राजनीतिबाट विश्राम लिएका डा. महाथिर मुलुक गलत बाटोमा गएको भन्दै त्यसलाई सुधार्न ६१ वर्षसम्म सरकारको सञ्चालन गर्दै आएको बरिसान नेशनल गठबन्धनविरुद्ध गत मे महिनामा चुनावी मैदानमा खडा भएका थिए ।


अन्वरको पार्टीलगायत अघिल्ला सरकारको विपक्षी पार्टीहरु मिलाएर बनाएको गठबन्धनले बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका महाथिरले अनवरलाई नेतृत्व दिने यसअघि नै बताइसकेका छन् ।

अनवरले १९९८ ताका आफ्नै प्रतिद्वन्दी रहेका र हालका प्रधानमन्त्रीसमेत रहेका ९३ बर्षीय डा. महाथिर मोहोम्मद महाथिरलाई गुरु मान्दछन् । शनिबार सम्पन्न भएको उप निर्वाचनमा विजयी भएपछि उनले मतदाताहरुलाई धन्यवाद दिए ।


समय र परिस्थितिमा कुनै नाटकीय बद्लाव नआएमा अनवर निकट भविष्यमै मलेसियाको प्रधानमन्त्री बन्न सक्नेछन् । स्थानीय समाचार माध्यमहरुले भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएका ७१ वर्षीय अनवरका सामु मुलुकलाई सुशासन र स्थिरता दिनेलगायतका चुनौती छन् ।


प्रकाशित : आश्विन २८, २०७५ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?